धितोपत्र बोर्डले पूँजी बजारसँग सम्बन्धित शैक्षिक संस्था सञ्चालन गर्ने

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले पूँजी बजारको विकास र विस्तारका लागि क्यापिटल मार्केट ईन्स्टिच्युट सञ्चालन गर्ने तयारी रहेको बताएका छन् । बिहीबार धितोपत्र बोर्डको ३१औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै अध्यक्ष हमालले वित्तीय साक्षरता प्रदान गर्नका लागि शैक्षिक संस्था सञ्चालन गर्ने बताएका हुन् । ‘कर्मचारीको क्षमता वृद्धि विकास गर्न जरुरी छ, आगामी वर्ष पनि कर्मचारीको सेवा सुविधा अझै वृद्धि गर्नु पर्नेछ, वित्तीय साक्षरता बढाउन क्यापिटल मार्केट ईन्स्टिच्युट संचालन गर्ने तयारी छ, अर्थमन्त्रीज्यूले यसमा सहयोग गर्नु हुन्छ भन्ने अपेक्षा गरेको छुँ,’ उनले भने, ‘धितोपत्र बोर्डलाई पेपर लेस बनाउन डिजिटल प्रणालीलाई जोड दिइएको छ ।’ लगानीकर्ताको विश्वास कायम गर्न नियामक निकायलाई बलियो संस्थाका रुपमा उभ्याउने उनले बताए । अध्यक्ष हमालले अबको दुई महिनाभित्र ९३ वटा ब्रोकर कम्पनी सञ्चालनमा आउने बताए । ‘बैंकका सहायक कम्पनीसहित १८ वटा नयाँ ब्रोकर कम्पनीले लाइसेन्स पाएका छन्, अहिले ६८ वटा ब्रोकर संख्या पुगेको छ, अबको २ वर्ष भित्र ९३ वटा ब्रोकर कम्पनी सञ्चालनमा आउनेछन्,’ उनले भने । एक वर्षको अवधिमा उल्लेख्य काम गरेको भएपनि सोचेअनुरुप हुन नसकेको उनले बताए । साथै, डेढ लाखभन्दा बढी वैदेशिक रोजगारमा रहेका नेपाली पूँजी बजारमा आवद्ध भएको उनको भनाइ छ । वैदेशिक रोजगारमा रहेका नेपालीलाई आईपीओमा आरक्षण दिएपछि डेढ लाखभन्दा बढी आवद्ध भएका छन्, वैदेशिक रोजगारमा रहेका नेपालीहरु पनि पूँजी बजारमा आवद्ध हुने क्रम जारी छ, रेमिट्यान्स पनि उल्लेख्य बढेको छ,’ उनले भने । प्राइभेट इक्वीटी र भेन्चर क्यापिटललाई छिट्टै कार्यान्वनमा आउने उनको भनाइ छ । जसले स्टार्टअपले बिना धितो कर्जा पाउने प्ल्याटफर्मको सुरुवात हुने उनले बताए ।

अर्थमन्त्री भन्छन् : बैंकमा भन्दा सेयरमा लगानी गर्नु फाइदा, ठूलाले चलखेल गरे

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले बैंकमाभन्दा सेयर बजारमा लगानी गर्दा बढी फाइदा हुने बताएका छन् । बिहीबार धितोपत्र बोर्डको ३१औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले बचतकर्ताले बैंकमा पैसा राख्नुभन्दा सेयर बजारमा लगानी गर्दा फाइदा हुने बताएका हुन् । सेयर बजारलाई स्वस्थ्य बनाउन नेपाल राष्ट्र बैंकले पनि महत्वपूर्ण भूमिका खेल्न सक्ने उहाँको भनाइ छ । ‘आम लगानीकर्ताको बैंकमा भन्दा सेयर बजारमा लगानी गर्दा अलिकति फाइदा हुन्छ की भनेर लगानी गरेका हुन्छन्, लगानीकर्ताहरुले पेट कटाएर (खाना नखाई) आम्दानी हुन्छ भनेर लगानी गरेका हुन्छन्,’ उनले भने, ‘सेयर बजार आम लगानीकर्ताको लागि हुनु पर्छ, बजारको विकासका लागि पनि राष्ट्र बैंकले पनि भूमिका निर्वाह गर्नु पर्छ ।’ उनले सेयर बजार प्रतिको विश्वास कम गराउने काम आफूहरुबाट नहुने बताए । पछिल्लो समय सेयर बजारमा लगानीकर्ताको आकर्षण बढेको भएपनि सीमित व्यक्तिहरुले चलखेल गर्ने गरेको उनको भनाइ छ । उनका अनुसार रियल सेक्टरका उद्योगहरुलाई सेयर बजारमा ल्याउन जरुरी छ । ‘सीमित व्यक्तिहरुले बजारमा चलखेल गर्ने र उनीहरुको स्वार्थ अनुसार नै बजार तलमाथि भईरहेको छ, यसलाई तत्काल रोक्नु पर्छ,’ उनले भने, ‘बजारमा धेरै सक्रिय र बिज्ञ लगानीकर्ताहरुले सबै लगानीकर्तालाई करको दायरमा ल्याउँछ भनेर करका बिषयमा गलत प्रचार गरे, करको गलत ब्याख्या गरेर सीमित ब्यक्तिहरुले फाइदा लिए ।’ उनले ५६ लाख लगानीकर्तालाई देखाएर सीमित व्यक्तिले फाइदा लिने काम बन्द हुनु पर्ने धारणा राखे । अर्थमन्त्री डा. महतले लगानीको क्षेत्रमा धितोपत्र बोर्डको महत्वपूर्ण भूमिका रहेको बताए । उनका अनुसार सेयर बजारमा लगानी र आयआर्जनका दृष्टिले ठूलो आकर्षण रहेकाले बोर्डको जिम्मेवारी र दायित्व बढेको छ । ‘पुँजी बजारका ५६ लाख लगानीकर्ताको सुरक्षा सुनिश्चित गर्नु बोर्डको दायित्व र जिम्मेवारी हो, उक्त जिम्मेवारीलाई उच्च महत्वका साथ धितोपत्र बोर्डले काम गर्ने छ र अझ उचाइमा पुर्याउने छ,’ उनले भने । सेयर बजारलाई अझैं स्वच्छ, विस्तारित र लगानीकर्ताको सुरक्षा सुनिश्चित गर्नका लागि आफ्नो तर्फबाट पूर्णरुपमा सहयोग हुने उनले बताए । उनका अनुसार आगामी आर्थिक वर्षका लागि आय तथा व्यय प्रस्तुत गर्दा सेयर बजारको विषयमा व्यवस्थाको उद्देश्य आम लगानीकर्तालाई आयकरको दायरामा ल्याउन होइन । यस विषयमा सीमित गानीकर्ताहरुले गलत हल्ला चलाएको उनको भनाइ छ । ‘सेयर बजारबाट निश्चित व्यक्तिले फाइदा लिने माध्यम बोर्ड बन्न हुँदैन, पूँजी बजारमा केही फाइदा हुन्छ भन्ने आशामा गाँस काटेर लगानी गर्नेहरुको सुरक्षा गर्नु बोर्डको ठूलो जिम्मेवारी हो,’ उनले भने ।

हिमाल दोलखाको हकप्रदमा असार १० गतेसम्म आवेदन दिन पाइने

काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनीले हकप्रद सेयरमा असार १० गतेसम्म आवेदन दिन सकिने भएको छ । कम्पनीले जेठ २२ गतेदेखि निष्काशन गरेको १ कित्ता सेयर बराबर ०.७५ कित्ता सेयरमा असार १० गतेसम्म आवेदन दिन सकिने कम्पनीलृ जनाएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्ब ६० करोडको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १ करोड ६० लाख कित्ता सेयरको साधारण सभाबाट निर्णय भएबमोजिम सेयर अनुपात १ः०.७५ को १ अर्ब २० करोड रुपैयाँको १ करोड २० लाख कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । कम्पनीले हकप्रद सेयर निष्काशन प्रयोजनार्थ बैशाख २७ गते सेयर दाखिला खारेजी (बुकक्लोज)गरेको थियो । त्यसैले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बैशाख २६ गतेसम्म कारोबार भई कायम सेयरधनीहरुले मात्रै सो हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल रहेको छ । लक्ष्मी क्यापिटल, लक्ष्मी बैंकको इलाम शाखा र कम्पनीको कालोपुलमा रहेको कार्यालयबाट कम्पनीको हकप्रदमा आवेदन दिन सकिनेछ । साथै धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत् आवेदन दिन सकिनेछ । केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी बीप्लस आईएस रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्व पुरा गर्न उच्च जोखिममा रहेको जनाउँदछ ।