समता घरेलु लघुवित्त एफपीओ निष्कासन तयारीमा, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल
काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले थप सार्वजनिक निष्कासन (एफपीओ) जारी गर्ने भएको छ। संस्थाले बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गर्दै एफपीओ निष्कासन गर्ने जानकारी दिएको हो । समता र मुक्तिनाथबीच सोमबार सम्झौता भएको छ । सम्झौता पत्रमा घरेलु समता लघुवित्तका प्रमुख कार्यकारी अधिकृत मदन घिमिरे र मुक्तिनाथ क्यापिटलका तर्फबाट कार्यकारी अधिकृत कवीन्द्रध्वज जोशीले हस्ताक्षर गरेका हुन् । कम्पनीले वित्तीय संस्थाको प्रबन्धपत्रमा भएको व्यवस्था बमोजिम सेयर पुँजी संरचना संस्थापकको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत कायम हुनेगरी नपुग ३ करोड ३२ लाख ८५ हजार ६०० रुपैयाँ बराबरको ३ लाख ३२ हजार ८५६ कित्ता एफपीओ निष्कासन गर्ने भएको हो । हकप्रद निष्कासनका लागि धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि मात्र कम्पनीले सर्वसाधरणमा उक्त एफपीओ बिक्री गर्ने तयारी गरेको छ । हाल यस कम्पनीको चुक्ता पुँजी ३९ करोड ४१ लाख छ । नेप्सेमा ३९ लाख ४१ हजार ५५८ कित्ता सेयर सूचीकृत छ ।
घोराही सिमेन्टको आईपीओ निष्काशन स्थगित गर्न सेबोनको निर्देशन
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले घोराही सिमेन्ट इण्डष्ट्रीको आईपीओ निष्काशन प्रक्रिया स्थगित गर्न निर्देशन दिएको छ । कम्पनीको रेटिङ्ग र मागभन्दा बढी आवेदन पर्दा पनि समय थप गरेको विषयमा बोर्डले निष्काशन प्रक्रिया रोकेको हो । बोर्डले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल र नबिल इन्भेष्टमेन्ट बैंकिङलाई पत्र पठाउँदै सार्वजनिक निष्काशन कार्य तत्काल स्थगन गर्न निर्देशन दिएको हो । बोर्डले केयर रेटिङ्ग नेपाललाई कम्पनीको रेटिङ्ग नियम विपरित भए÷नभएको बारेमा ३ दिन भित्र स्पष्टीकरण पेश गर्न गत जेठ ३० गते पत्राचार गरेको थियो । केयर रेटिङ्ग नेपालले स्पष्टीकरण नपठाई बिना आधार समय थप माग गरेको थियो । साथै, आईपीओमा मागभन्दा बढी आवेदन परेपनि निष्काशन समय थप गरिएको भन्दै तत्तकाल स्थगन गर्न बोर्डले निर्देशन दिएको हो । ‘कम्पनीको इस्युअर रेटिङ्ग, क्रेडिट रेटिङ्ग नियमावली, २०६८ को नियम ३४ को उपनियम (२) विपरित भए÷नभएको बारेमा केयर रेटिङ्ग नेपाललाई ३ दिन भित्र स्पष्ट गरी पेश गर्न जेठ ३० मा पत्राचार गरिएकोमा हालसम्म जानकारी पेश नगरी उपयुक्त आधार बिना म्याद थपको लागी अनुरोध गरेको र आईपीओमा माग भन्दा बढी कित्ता सेयरको लागि आवेदन प्राप्त हुँदा पनि समयावधि थप गर्न सूचना प्रकाशित गरेको देखिएकाले लगानीकर्ताको सुरक्षा तथा हित संरक्षणलाई मध्यनजर गर्दै कम्पनीको रेटिङ्ग र सार्वजनिक निष्काशन सम्बन्धी कैफियतको जाँचबुझका लागि हाललाई आईपीओ निष्काशनको सम्पूर्ण प्रक्रिया स्थगन गर्ने निर्णय भएको छ,’ बोर्डको पत्रमा भनिएको छ ।
घोराही सिमेन्टको आईपीओमा बदमासी, पैसा नभएको खाताबाट लाखौंको आवेदन
काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्रीको आईपीओमा ठूलो बदमासी गरेको आशंका गरिएको छ । कम्पनीको आईपीओ खरिद गरेर पनि ठूलो मात्रामा अस्वीकृत (अनभेरिफाइड) भएपछि मिलेमतोमा बदमासी गरेको आशंका गरिएको हो । कम्पनीको आईपीओमा माग गरिएको भन्दा बढी आवेदन परेको भएपनि समय थप गर्दा शंकाको घेरामा राखिएको छ । कम्पनीको आईपीओमा ठूलो संख्यामा आवेदन अनभेरिफाइड हुँदा शंकाको घेरामा राखिएको सिडिएस एण्ड क्लियरिङ्ग स्रोतले विकासन्युजलाई जानकारी दिएको छ । स्रोतका अनुसार झण्डै ८०/८१ लाख कित्ता सेयर खरिद गरेर पनि अनभेरिफाइड भएको छ । अन्य कम्पनीको आईपीओमा २०/२५ हजार कित्तासम्म अनभेरिफाइड हुने गरेको भएपनि घोराही सिमेन्टको आईपीओमा भने ठूलो सख्यामा हुनु शंका उत्पन्न भएको उनको भनाइ छ । ‘अन्य कम्पनीमा १२/१५ लाखले आवेदन दिँदा २०/२५ हजार कित्ता मात्रै अनभेरिफाइड हुन्थ्यो तर, यस कम्पनीको आईपीओमा रकम नभएको खाताबाट पनि आवेदन दिएको देखिन्छ, किन रकम नभएको मान्छेहरुले आवेदन दिए भनेर प्रश्न गर्ने ठाउँ छ,’ सिडिएस स्रोतले भन्यो । कम्पनीकै मान्छेले ठूलो रकम आवेदन दिन लगाएर सर्वसाधारणलाई आकर्षित गर्न खोजेको हुन सक्ने आशंका सिडिएस स्रोतले गरेको छ । कम्पनीको मान्छेले मिलेमतो गरेर रकम नभएको डिम्याट खाताबाट सेयर खरिद गरी सर्वसाधारणलाई आर्षित गर्न खोजेको जस्तो देखिएको छ । ‘ब्यालेन्स नभएको डिम्याट खाताबाट सब्सक्राइब देखाउनका लागि आवेदन दिएको पनि हुन सक्छ, यसरी ओभर सब्सक्राइब गरेको देखेपछि सर्वसाधारणले पनि राम्रो कम्पनी रहेछ, खरिद गर्नु पर्याे भनेर आवेदन दिन सक्छन्,’ उनले भने, ‘८०/८१ लाख कित्ता अनभेरिफाइड हुनु भनेको आश्चर्य नै हो, अनभेरिफाइड धेरै आउनुको कारण के हो ? यसमा केही बदमासी भएको छ की भनेर अनुसन्धानका लागि धितोपत्र बोर्डमा पनि जानकारी गराइसकेका छौं ।’ बिना रकमको चेक काट्यो भने चेक बाउन्सको कारवाही हुन्छ । यसमा पनि अनुसन्धान गरेर कारवाहीको दायरामा ल्याउन सिडिएसले माग गरेको छ । स्रोतका अनुसार धितोपत्रबार्डलाई यस विषयमा जानकारी पनि गराइसकेको छ । वैदेशिक रोजगारीमा रहेका नेपाली र उद्योग प्रभावित क्षेत्रका स्थानीयले कम्पनीको सेयरमा पूर्ण आवेदन दिएका थिएनन् । बाँकी रहेको सेयरसहित कम्पनीले सर्वसाधारणलाई सेयर बिक्री गर्दा बिक्री नहुने डरले ब्यालेन्स नभएको एकाउन्टबाट आवेदन दिन लगाएको हुन सक्ने सिडिएस स्रोतको दाबी छ । साथै, अझै १० कित्ता आवेदन भर्नेको भेरिफाइड गर्न बाँकी छ । अहिले लाखौं आवेदन दिनेको मात्रै भेरिफाइड गर्दा यो समस्या आएको हो । यसअघि आईपीओ जारी गरेका कम्पनीको सेयरमा कम्तिमा पनि १२ लाख जनाले आवेदन दिएका छन् । तर, घोराहीको आईपीओमा ५ लाखले आवेदन दिँदैमा ओभर सब्सक्राइब हुँदा पनि शंका गर्ने ठाउँ रहेको स्रोतको भनाइ छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग प्रमुख कार्यकारी अधिकृत (सीईओ) यथोचित संख्यामा आवेदन प्राप्त भएता पनि आवेदनहरु प्रमाणित हुने प्रक्रियामा रहेकोले समयावधि थप गरिएको बताउँछन् । यदि सोमबार नै रितपूर्वक प्रमाणित भए भोलि नै आवेदन बन्द गर्ने उनको भनाइ छ । उनका अनुसार अनभेरिफाइड आवेदनको चाम रहेको छ । ‘सिआश्वा सदस्य बैंकहरुबाट सबै आवेदन भेरिफाइड भएर आएको थिएन, अनभेरीफाइडमा ठूलो चाम देखिन्छ, जसले गर्दा हामीले समय थप गर्नु परेको हो, आजको तथ्याङ्क आउँछ, माग अनुसार भेरिफाइड भयो भने भोलि नै बन्द गर्छाैं,’ उनले भने ।