हिमालयन ८०-२० म्युचुअल फण्डमा आकर्षण बढ्दो, साढे ४४ हजारले दिए आवेदन
काठमाडौं । हिमालयन क्यापिटलको पहिलो म्युचुअल फण्डमा लगानीकर्ताहरुको आकर्षण बढ्दो रहेको छ । साउन ३२ गतेदेखि बिक्री खुला गरेको ‘हिमालयन ८०–२०’ फण्डमा बिहीबार ८० करोड रुपैयाँ बराबरको आवेदन परेको सिडिएस एण्ड क्लियरिङ्गले जनाएको छ । सिडिएसका अनुसार बिहीबार १० बजेसम्म ४४ हजार ३८७ जना आवेदकले ८ करोड ४ लाख २ हजार १३० इकाईका लागि ८० करोड ४० लाख २१ हजार ३ सय रुपैयाँ बराबरको आवेदन दिएका छन् । क्यापिटलले १ अर्ब रुपैयाँको प्रतिइकाई १० रुपैयाँ अंकित मूल्य दरका १० करोड इकाई बिक्री खुला गरेको हो । जसमध्ये १५ प्रतिशत अर्थात् १ करोड ५० लाख इकाई कोष प्रवर्धक हिमालयन बैंकलाई छुट्याई बाँकी ८ करोड ५० लाख इकाईमा सर्वसाधरण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । क्यापिटलको फण्डमा लगानीकर्ताहरुले न्यूनतम १ सय इकाईदेखि अधिकतममा १ करोड इकाईसम्म आवेदन दिन सक्ने छन् । फण्डको इकाईमा भदौ १५ गतेसम्म आवेदन दिन सकिनेछ । फण्ड निष्काशन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ । लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत् आवेदन दिन सक्ने छन् । कुल लगानीमध्ये ८० प्रतिशत दीर्घकालीन लगानी मार्फत् कम्पाउन्डिङ्ग प्रतिफल सहितको मुनाफा आर्जन गर्ने र बाँकी २० प्रतिशत पूँजी सक्रिय लगानी व्यवस्थापमा गर्नेछ । पूँजी बजारमा नविनत तथा अनुशासित लगानीको अभ्यास गरिरहेको क्यापिटलको सो फण्डको अवधि १० वर्ष रहेको छ ।
एनआइबिएल प्रगति फण्डको लाभांश घोषणा
काठमाडौं । एनआइएमबि क्यापिटलले एनआइबिएल प्रगति फण्डको लाभांश घोषणा गरेको छ । क्यापिटलको भदौ १३ गते बसेको सञ्चालक समितिको बैठकले फण्डका इकाईधनीहरुलाई गत वर्षको नाफाबाट ६.८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । एनआइबिएल प्रगति फण्डका इकाईधनीहरुलाई आर्थिक वर्ष २०७९/८०को नाफाबाट कर सहित ६.८ प्रतिशतका दरले ५ करोड १० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
घटेको सेयर बजारमा माछापुच्छ्रे बैंकको १० करोडको सेयर कारोबार
काठमाडौं । बुधबार सेयर बजारमा नेप्से परिसूचक २.८२ अंक घटेर १९९०.५९ विन्दुमा झरेर बन्द भएको छ । मंगलरबार घटेको नेप्से बुधबार पनि घट्दो क्रममलाई निरन्तरता दिएको हो । बुधबार सेन्सेटिभ इण्डेक्स १.१३ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.१८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२८ अंक घटेको छ । सेयर बजारमा केही दिन यता कारोबार रकम समेत घटिरहेको थियो । तर, बुधबार भने कारोबार रकम बढेर अर्बभन्दा माथि पुगेको छ । बुधबार २७६ स्किप्टकाे ३२ हजार २९८ पटकको कारोबारमा १ अर्ब १३ करोड रुपैयाँ बराबरको ३८ लाख ३ हजार कित्ता शेयर खरिद बिक्री भएको छ । केही दिन यता सर्किट लेभलमा कारोबार भइरहेको कुथेली बुखरी हाइड्रोको सेयर मूल्य भने घटेको छ । बुधबारको बजारमा सिटि होटलको शेयर भने ९.८८ प्रतिशत अर्थात ६८ रुपैयाँ बढेर ७५६ रुपैयाँमा अन्तिम कारोबार भएको छ । बुधबार सानिमा बैंकको ऋणपत्रको मूल्य ५.७२ प्रतिशत बढेको छ । बुधबारको बजारमा माछापुच्छ्रे बैंक कारोबारको आधारमा शीर्ष स्थानमा रहेको छ । बैंकले १४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेकाले यसको कारोबार धेरै भएको छ । माछापुच्छ्रे बैंकको १० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको परिसूचक घटेको छ । होटल तथा पर्यटन र व्यापार उपसमूहको परिसूचक १.३० प्रतिशत बढेको छ ।