सिद्धार्थ बैंकको एकैपटक ३ लाख कित्ता सेयर बिक्रीमा
काठमाडौं । सिद्धार्थ बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक समूहको ३ लाख कित्ता सेयर बिक्री गर्न लागेको जनाएको छ । बैंकका अनुसार संस्थापक मदन लाल केडियाको नाममा रहेको ३ लाख कित्ता सेयर बिक्रीमा राखेको हो । बैंकको सो सेयरको मूल्य तोकिएको छैन । बैंकको सेयरमा इच्छुक संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन पाउने छन् । सेयर खरिद गर्न इच्छुकले बैंकका विद्यमान संस्थापकहरुले ३५ दिनभित्र आवेदन पेश गर्नु पर्नेछ । यदि सो समयभित्र आवेदन नपरेमो सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ ।
माथिल्लो मैलुङको आईपीओमा आवेदन भर्ने आज अन्तिम दिन
काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युतको आईपीओमा आवेदन भर्ने आज अन्तिम दिन रहेको छ । गत साउन ४ गतेदेखि बिक्री खुला गरेको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीयले आज भदौ १७ गतेसम्म आवेदन भर्न सक्ने छन् । कम्पनीले यसअघि गत भदौ १ गतेसम्म आवेदन समय खुला गरेको थियो । तर, अविरल वर्षाले बाढी पहिरो लगायतले यातायात संचालन अवरुद्ध भएको थियो । त्यसैले आईपीओ संकलन केन्द्रमा आवेदन बुझाउन सहज नभएकाले भदौ १७ गतेसम्म आवेदन दिने समय थप गरेको थियो । कम्पनीले आयोजना अति प्रभावित क्षेत्र रसुवाको उत्तरगया गाउँपालिका १ (साबिक हाकु गा.वि.स. ८ र ९ तथा डाँडागाउँ गा.वि.स. ७, ८ र ९)का बासिन्दालाई ५ लाख ७१ हजार ४३० किता, आयोजना प्रभावित क्षेत्र उत्तरगया गाउँपालिका २, ३, ४ र ५ (साबिक डाँडागाउँ गा.वि.स. १, २, ३, ४, ५ र ६, ठुलोगाउँ गा.वि.स. १, २, ३, ४, ५, ६, ७, ८ र ९, लहरेपौवा गा.वि.स. १, २, ३, ४, ५, ६, ७ र ९) र नुवाकोटको किस्पाङ गाउँपालिका ५ (साबिक मनकामना गा.वि.स. १, २, ३, ४, ५, ६, ७, ८, र ९)का स्थानीय बासिन्दालाई २ लाख ८५ हजार ७२० किता र रसुवाको अन्य क्षेत्रका बासिन्दालाई १ लाख ४२ हजार ८५० किता गरी कूल १० लाख कित्ता सेयर बिक्री गरेको हो । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । स्थानीय बासिन्दाले सानिमा बैंकका विदुर, किस्पाङ, धुन्चे शाखाबाट आवेदन दिन सकिनेछ । साथै, सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र मेरो सेयर अनलाइन मार्फत् आवेदन दिन सक्नेछन् । केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।
हिमालयन ८०-२० म्युचुअल फण्डमा मागभन्दा बढी आवेदन
काठमाडौं । हिमालयन क्यापिटलको पहिलो म्युचुअल फण्डमा लगानीकर्ताहरुले माग भन्दा बढी आवेदन परेको छ । साउन ३२ गतेदेखि बिक्री खुला गरेको ‘हिमालयन ८०–२०’ फण्डमा शुक्रबारसम्म साढे ९१ करोड रुपैयाँ बराबरको आवेदन परेको सिडिएस एण्ड क्लियरिङ्गले जनाएको छ । सिडिएसका अनुसार शुक्रबार ५ बजेसम्म ४६ हजार १४१ जना आवेदकले ९ करोड १४ लाख ६१ हजार ८२० इकाईका लागि ९१ करोड ४६ लाख १८ हजार २ सय रुपैयाँ बराबरको आवेदन दिएका छन् । क्यापिटलले १ अर्ब रुपैयाँको प्रतिइकाई १० रुपैयाँ अंकित मूल्य दरका १० करोड इकाई बिक्री खुला गरेको हो । जसमध्ये १५ प्रतिशत अर्थात् १ करोड ५० लाख इकाई कोष प्रवर्धक हिमालयन बैंक र ८ करोड ५० लाख इकाईमा सर्वसाधरण लगानीकर्तालाई छुट्याएको छ । फण्ड निष्काशन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ । कुल लगानीमध्ये ८० प्रतिशत दीर्घकालीन लगानी मार्फत् कम्पाउन्डिङ्ग प्रतिफल सहितको मुनाफा आर्जन गर्ने र बाँकी २० प्रतिशत पूँजी सक्रिय लगानी व्यवस्थापमा गर्नेछ । पूँजी बजारमा नविनत तथा अनुशासित लगानीको अभ्यास गरिरहेको क्यापिटलको सो फण्डको अवधि १० वर्ष रहेको छ ।