कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा
काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आइतबार एक सूचना जारी गर्दै संस्थापक सेयरधनी राधेश्याम सुवालको नाममा रहेको २७ हजार ७९८ कित्ता सेयर बिक्रीमा राखेको जनाएको हो । यो सेयर हाल बैंकका विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै किन्न पाउनेछन् । इच्छुक सेयरधनीले ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार, कुमारी क्यापिटल वा बैंकको प्रधान कार्यालयमा निवेदन दिन सक्नेछन् । सेयरको मूल्य बिक्रेताले तोकेबमोजिम हुने बैंकले जनाएको छ । तोकिएको समयमा सेयर खदि आवेदन नपरेमा उक्त सेयर अन्य व्यक्ति वा संस्थाहरूलाई बिक्री गरिने सूचनामा उल्लेख छ ।
सीआईटीको १४.७३ प्रतिशत लाभांश घोषणा
काठमाडौं । नागरिक लगानी कोष (सीआईटी)ले लाभांश घोषणा गरेको छ । सीआईटीको सञ्चालक समितिको जेठ ३२ गते बसेको बैठकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई १४.७३६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कोषले आर्थिक वर्ष २०७९/८० काे नाफाबाट हाल कायम चुक्ता पूँजीको १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७३६८ प्रतिशत नगद गरी कुल १४.७३६८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । सीआईटीले प्रस्ताव गरेको उक्त लाभांश अर्थमन्त्रालयबाट सहमति भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीहरूलाई वितरण गरिनेछ । कोषले अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा २५ प्रतिशत बोनस सेयर र १.३२ प्रतिशत नगद गरी कुल २६.३२ प्रतिशत लाभांश बाँडेको थियो ।
हुलास फिनभर्स हायर पर्चेजले सर्वसाधारणमा आईपीओ जारी गर्ने
काठमाडौं । हुलास फिनभर्स हायर पर्चेज लिमिटेडले सर्वसाधारणमा आईपीओ जारी गर्ने भएको छ । आईपीओ जारी गर्ने प्रस्ताव पारित गर्न कम्पनीले असार १६ गते विशेष साधारणसभा बोलाएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे सभा सुरु हुनेछ । सभाले कम्पनीको अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने, नयाँ संस्थापकहरूमा बढीमा ३ करोड रुपैयाँबराबरको थप संस्थापक सेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ । संस्थापक सेयर जारी पश्चात सर्वसाधारणका लागि छुट्याइएको शेयरको प्रिमियम मूल्यमा वा बुक बिल्डिङ विधिमार्फत वा अंकित मूल्यमा सर्वसाधारणमा आईपीओ जारी गर्ने, प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने र सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।