नेप्से परिसूचक १७ अंकले घट्दा साढे आठ अर्ब बढीको कारोबार

काठमाडौं । यो साता कारोबारको पहिलो दिन उच्च अंकले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सोमबार भने दोहोरो अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १७.१८ अंकले घटेर दुई हजार दुई सय ४०.४१ को विन्दुमा कायम भएको हो । आज तीन सय ३२ कम्पनीको दुई करोड ५० लाख ७९ हजार ७९ कित्ता सेयर एक लाख दुई हजार तीन सय ७२ पटक खरिदबिक्री हुँदा रु आठ अर्ब ७३ करोड १४ लाख ३६ हजार ३७ बराबरको कारोबार भएको छ । आज जलविद्युत् समूह ०.७३, लगानी १.७०, उत्पादन तथा प्रशोधन ०.१२ र म्युचुअल फण्ड १.६७ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । बैंकिङ १.४८, विकास बैंक एक दशमलव ८९, वित्त ०.५२, होटल तथा पर्यटन १.७६ र जीवन बीमा समूह १.६५ प्रतिशतले घटेको छ । लघुवित्त १.४१, निर्जीवन बीमा ०.९१, व्यापार ०.५२ र अन्य समूह १.१९ प्रतिशतले घटेको छ । सिभिल बैंक डिभेञ्चर–२०८८ र माण्डु हाईड्रोपावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने जानकी फाइनान्स कम्पनी लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कारोबार रकम र कारोबार भएका सेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको ३७ अर्ब आठ करोड ७२ लाख पाँच सय ८९ रुपैयाँ बराबरको २१ लाख ७४ हजार सात सय २८ कित्ता सेयर किनबेच भएको छ ।

सेयर बजार अर्थतन्त्रको ऐना भएको अर्थमन्त्रीको दाबी, के गरे पहिलो निर्णय ?

काठमाडौं । नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सेयर बजार अर्थतन्त्रको ऐना भएको बताएका छन् । पौडेलले सोमबार कार्यभार सम्हाल्दै सेयर बजार अर्थतन्त्रको ऐना भएको र यसमा सहज नीतिगत व्यवस्था गर्न आवश्यक भएको बताएका हुन् । उनले सेयर बजार सन्तुलित ढंगले अघि बढाउने गरी काम गर्ने पनि बताएका छन्। लगानीकर्तामा आत्मविश्वास जगाउने गरी काम गर्ने उनकाे प्रतिबद्दता छ । उनले अस्थिरताका कारण अर्थतन्त्रमा समस्या देखिएको बताउँदै नयाँ गठबन्धन आएपछि अब स्थिरता हुने धारणा राखे । उनले विगतमा जनताको आत्मविश्वास समेत टुटेको पाइए पनि अब भने निरासा चिर्ने र आशा जगाउने काम हुने बताए । उनले सोमबार अर्थमन्त्रीका रुपमा पदभार ग्रहण गर्दै वैकल्पिक वित्तसम्बन्धी कार्यविधि पनि स्वीकृत गरेका छन् । जुन उनको अर्थमन्त्रीका रुपमा पहिलो निर्णय हो । अर्थमन्त्री पौडेलले उनले ब्लेन्डेड फाइनान्स, ग्रिन क्लाइमेट फन्ड लगायत वैकल्पिक वित्तीय स्रोत प्राप्ति र प्रयोगसम्बन्धी कार्यविधिले ती स्रोत लिन सहज हुनेछ ।

मङ्गल कलश इन्भेष्टमेन्टले बेच्याे ग्लोबल आइएमई बैंकको २१ लाख कित्ता सेयर

 काठमाडौं । ग्लोबल आइएमई बैंकका ६ ठूला सेयरधनीमध्ये एक रहेको मङ्गल कलश इन्भेष्टमेन्ट प्रालिले आफ्नो स्वामित्वमा रहेको करिब २१ लाख कित्ता संस्थापक सेयर बिक्री गरेको हो । आइतबार बैंकको २० लाख ७५ हजार १०२ कित्ता संस्थापक सेयर प्रतिकित्ता १ सय रुपैयाँका दरले खरिदबिक्री भएको छ । नेपाल स्टक एक्सचेञ्जमा आइतबारको कारोबारमा ग्लोबल आइएमई बैंकको संस्थापक सेयर सर्वाधिक कारोबारको सूचीमा छ । नेप्सेका अनुसार बैंकको उक्त सेयर क्रिष्टल कञ्चनजंघा सेक्यूरिटिज प्रालि र सुमेरी सेक्युरिटिज प्रालिबाट खरिद बिक्री भएको छ । बैंकको संस्थापक सेयर दिनभरिमा ६ पटक खरिदबिक्री हुँदा २० करोड ७५ लाख १० हजार २ सय रुपैयाँ बराबरको कारोबार भएको नेप्सेको तथ्याङ्क छ । नेप्सेमा कारोबार भएको उक्त संस्थापक सेयर मङ्गल कलश इन्भेष्टमेन्ट प्रालिले बेचेको स्रोतले बताएको छ । मङ्गल कलश साविक लुम्बिनी बैंकको सबैभन्दा ठूलो संस्थापक सेयरधनी थियाे। साविक बैंक अफ काठमाण्डू (बिओके)मा लुम्बिनी बैंक विलय भएपछि बिओकेमा मङ्गल कलश इन्भेष्टमेन्ट दोस्रो ठूलो सेयरधनी थियो । साविक बिओकेमा मङ्गल कलशको ३.०४ प्रतिशत अर्थात् ३२ लाख ३० हजार ४३७ कित्ता सेयर स्वामित्व थियो । तर, ग्लोबल आइएमई बैंकसँग बिओके मर्जभएपछि मङ्गल कलशको हैसियत छैटौं नम्बरमा झरेको छ । बैंकमा यस कम्पनीको १.२४ प्रतिशत अर्थात् ४४ लाख ३० हजार ५४ कित्ता सेयर स्वामित्व छ । मङ्गल कलश इन्भेष्टमेन्ट प्रालिका मालिक महेन्द्रकृष्ण श्रेष्ठ हुन् । उनी हिमालयन एभरेष्ट इन्स्योरेन्सका अध्यक्ष हुन् । यस कम्पनीको दर्ता कार्यालय श्रेष्ठको निवास ललितपुर १० स्थित पुल्चोकमा रहेको छ । आइतबार ग्लोबल आइएमई बैंकको सेयर प्रतिकित्ता २ सय रुपैयाँभन्दा बढीमा कारोबार भएको छ । तर, मङ्गल कलशले प्रतिकित्ता १ सय रुपैयाँमा सेयर बेचेको छ । साधारण सेयर मूल्यको आधाभन्दा कम मूल्यमा संस्थापक सेयर कारोबार भएकोमा कर छलीको आशंका समेत गरिएको छ । तर श्रेष्ठका दाजुभाईले अंशवण्डा गरेपछि उक्त सेयर कम्पनीको नामबाट व्यक्तिको नाममा नामसारी भएको मङ्गल कलश इन्भेष्टमेन्टको दावी छ ।