यूनाइटेड अजोडको संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले विभिन्न संस्थापक सेयरधनीहरूका नाममा रहेको ४९ हजार ७ सय ५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २४० रुपैयाँमा निर्धारण गरिएको छ । यो संस्थापक सेयर हाल कम्पनीका संस्थापक सेयरधनीहरूले मात्रै खरिद गर्न पाउनेछन् । सेयर खरिद गर्न इच्छुक सेयरधनीले ३५ दिनभित्र काठमाडौं सुन्धारास्थित कम्पनीको प्रधान कार्यालयमा खरिद गर्न चाहेको सेयर विवरण खुलाई निवेदन दिन सक्नेछन् । तोकिएको समयभित्र संस्थापक सेयरधनीहरूबाट आवेदन नपरेमा उक्त सेयर अन्य व्यक्ति वा संस्थाहरूलाई बिक्री गरिने कम्पनीले जनाएको छ ।

सर्वसाधारणका लागि मल्टीपर्पस फाइनान्सको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनीको नाममा रहेको ३९ हजार ३१ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । उक्त सेयर संस्थापक सेयरधनीका साथै सर्वसाधारणले पनि खरिद गर्न पाउनेछन् । सेयर खरीद गर्न इच्छुकले १५ दिनभित्र संस्थाको कम्पनी सचिवको कार्यालयमा खरिद गर्न चाहेको सेयर विवरण खुलाई निवेदन दिनु सक्नेछन् ।

नागरिक लगानी कोषले १४ प्रतिशत बोनस दिने

काठमाडौं । नागरिक लगानी कोषले २९औं वार्षिक साधारण सभा डाकेको छ । कोषको असार ९ गते बसेको सञ्चालक समिति बैठकले काठमाडौं भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजे सभा डाकेको हो । सभाले कोषको गत आर्थिक वर्षको आम्दानीबाट १४ प्रतिशत बोनस सेयर र ०.७३६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गर्नेछ । त्यस्तै, सभामा गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नुका साथै सेयरधनी र सञ्चालकहरूका तर्फबाट एक/एक जना प्रतिनिधि नियुक्त गर्ने प्रस्ताव पनि पारित गरिनेछ । सभा प्रयोजनार्थ कोषले असार २० गते बुक क्लोज गर्ने भएको छ ।