पुँजी बजारमा छायो हरियाली, ६ अर्ब बढीको कारोबार

काठमाडौं । देशभर आन्दोलन भइरहेपनि लगानीकर्तामा भने त्यसको प्रभाव नपरेको मंगलबारको पुँजी बजारले देखाएको छ ।  आज पुँजी बजारमा हरियाली छाएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १.७६ प्रतिशत अर्थात् ४६.६९ अंकले बढेर २ हजार ६९२.०५ अंक बिन्दुमा पुगेर बन्द भएको हो । आज दिनभरि ३१९ कम्पनीको सेयर खरिदबिक्री हुँदा २२१ कम्पनीको सेयर मूल्य बढेको छ भने १७ कम्पनीको सेयर मूल्य घटेको छ । आज यी कम्पनीहरूको १ करोड ३३ लाख ७३ हजार ४८१ कित्ता सेयर ६८ हजार ६१४ पटक खरिदबिक्री हुँदा ६ अर्ब १२ करोड ८२ लाख ६४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज विभिन्न ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमध्ये सप्तकोशी डेभलपमेन्ट बैंक, सानिमा जीआईसी इन्स्योरेन्स, कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशत बढेको छ भने कर्पाेरेट डेलपमेन्ट बैंकको सेयर मूल्य ९.९८ प्रतिशत बढेको छ । मंगलबार अधिकांश समूहमा हरियाली छाएको देखिन्छ । बैंकिङ समूह १.६० प्रतिशत, विकास बैंक समूह २.३२ प्रतिशत, फाइनान्स समूह ०.३८ प्रतिशत, होटल तथा पर्यटन समूह २.७७ प्रतिशत, जलविद्युत समूह २.०३ प्रतिशत, जीवन बीमा समूह १.८० प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ०.९७ प्रतिशत, लघुवित्त समूह १.५० प्रतिशत, म्युचुअल फण्ड समूह १.३३ प्रतिशत, निर्जीवन बीमा समूह ३.६० प्रतिशत, अन्य समूह १.५७ प्रतिशत र व्यापार समूह ०.३५ प्रतिशत बढेको नेप्सेले जनाएको छ । आज नेप्सेमा समृद्धि फाइनान्सको सेयर सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको २४ करोड ७१ लाख ५९ हजार रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । यस्तै, पिपुल्स हाइड्रोपावरको १६ करोड ८० लाख रुपैयाँ, सप्तकोशी डेभलपमेन्ट बैंकको १४ करोड २२ लाख रुपैयाँ, जानकी फाइनान्सको १३ करोड ८५ लाख रुपैयाँ र साहस उर्जाको १२ करोड १८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

हिमालयन क्यापिटलको लगानीकर्ता शिक्षा तथा जनचेतना सम्बन्धी कार्यक्रम सम्पन्न

काठमाडौं । हिमालयन क्यापिटलको गानीकर्ता शिक्षा तथा जनचेतना सम्बन्धी कार्यक्रमहरु सम्पन्न भएको छ । पुँजी बजारको दिगो विकासमा सदैव प्रतिबद्ध रहेको हिमालयन क्यापिटलले विश्व लगानीकर्ता सप्ताह–२०२४ को अवसरमा कात्तिक ९ गते शुक्रबारका दिन लगानीकर्ता शिक्षा तथा जनचेतना सम्बन्धी कार्यक्रम आयोजना गरेको हो । आफ्नो स्थापनाकालदेखि नै पुँजी बजारको विकास गर्न विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको क्यापिटलले प्यूठान नगरपालिका बिजुवार र माण्डवी गाउँपालिकामा लगानीकर्ता शिक्षा तथा जनचेतना सम्बन्धी कार्यक्रम आयोजना गरेको जनाएको छ । क्यापिटलका प्रमुख संचालन अधिकृत राम प्रसाद भट्टराईले कार्यक्रममा सहभागीहरूलाई लगानी गर्नुको आवश्यकता, लगानीका साधनहरू, पुँजी बजार, हितग्राही खाताको आवश्यकता, धितोपत्रको प्राथमिक निष्कासनको प्रक्रिया, धितोपत्रको दोश्रो बजारको प्रकृति र सामूहिक लगानी कोष सम्बन्धि जानकारी गराएका थिए । साथै पुँजी बजारको निरन्तर विकासका लागि भावी पुस्तालाई पुँजी बजार र यसको प्रकृतिको बारेमा उनले जानकारी गराए । कार्यक्रमबाट प्यूठान नगरपालिका बिजुवार र माण्डवी गाउँपालिकाका स्थानीयहरू लाभान्वित हुने विश्वास रहेको उनको भनाइ छ । कार्यक्रममा सहभागीहरूले विश्व लगानीकर्ता सप्ताह–२०२४ को अवसरमा यसप्रकारका कार्यक्रमले लगानी अवसरहरूको अनुसन्धान गर्ने तरिका, लगानीमा निहित जोखिम, पोर्टफोलियो विविधीकरण र प्रविधि तथा डिजिटल सेवाको प्रयोग जस्ता विषयमा जानकारी प्राप्त गरेको बताएका छन् । साथै सेयर बजार सम्बन्धी लगानीको पर्याप्त सचेतनाका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने उनीहरूको बुझाइ छ । हिमालयन क्यापिटलले सेयर लगानीमा सचेतना अभिवृद्धिका लागि समय–समयमा सेयर तथा पुँजी बजारसँग सम्बन्धित कार्यक्रमहरू, विविध वर्कसप तथा सचेतना कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको छ । विश्व लगानीकर्ता सप्ताह इन्टरनेशनल अर्गनाइजेशन अप सेक्युरिटिज कमिसनको आह्वानमा प्रत्येक वर्ष अन्तराष्ट्रीय स्तरमा लगानी सम्बन्धी विविध कार्यक्रम गरी मनाइँदै आएको छ ।

२७ अंकले बढ्यो बजार, २ कम्पनीमा सकारात्मक सर्किट

काठमाडौं । साताको दाेस्राे कारोबार दिन आज (साेमबार) सेयर बजार परिसूचक नेप्से २७ अंकले वृद्धि भएको छ । बजार १७.४१ अंकले बढेर परिसूचक २ हजार ६४५.३६ अंकमा उक्लिएको छ । यस दिन १ करोड ४ लाख १८ हजार ९२६ कित्ता सेयर किनबेचबाट ५ अर्ब ३४ करोड ४८ लाख रुपैयाँ बढीको कारोबार भएको छ । आज २१३ वटा कम्पनीको मूल्य बढ्दा २८ कम्पनीको मूल्य घटेको छ भने २ कम्पनीको मूल्यमा कुनै परिवर्तन भएको छैन । आज दुईवटा कम्पनीको मूल्यमा सकरात्मक सर्किट लागेको छ । जानकी फाइनान्स कम्पनी र डोल्टी पावर कम्पनीको सेयर मूल्य समान १०.१० प्रतिशतले वृद्धि भएको छ । यसैगरी, रिभर फल्स पावरको मूल्य ९.५४ प्रतिशत, मेन्चीयाम हइड्रोपावरको मूल्य ९.१३ प्रतिशत र माया खोला हाइड्रोपावरको मूल्य ६.९९ प्रतिशतले वृद्धि भएको छ । आज पिपुल्स हाइड्रोपावर, कालिन्चोक दर्शन र समृद्धि फाइनान्सको सेयर मूल्य सर्वाधिक घटेको छ । यस दिन नेपाल फाइनान्सको सबैभन्दा धेरै कारोबार भएको छ । नेपाल फाइनान्सको ३३ करोड ८० लाख रुपैयाको कारोबार हुँदा समृद्धि फाइनान्सको २४ करोड ७६ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।