सेयर बजारमा १४ अंकको गिरावट, कारोबार रकम पनि खस्कियो

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १४.१२ अंक घटेर २७३४.८३ बिन्दुमा झरेको छ । आज ९९ कम्पनीको सेयर बढ्दा १३८ वटाको मूल्य बढेकाे छ । तर, ७ वटाको मूल्यमा भने कुनै परिवर्तन भएको छैन । बुधबार १ करोड ५३ लाख ६२ हजार २०६ कित्ता सेयर खरिद बिक्री हुँदा ७ अर्ब ९१ करोड १९ लाख ७६ हजार रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ । यसअघि हिजो नेप्से ११.२४ अंकले घटेको थियो भने ७ अर्ब ८५ करोड रुपैयाँको कारोबार भएको थियो । नेप्सेका अनुसार सप्तकोशी डेभलपमेन्ट बैंक र सिर्जनशील लघुवित्त वित्तिय संस्थाकाे सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । यस्तै, मकर जीतुमायी सुरी हाइड्रो, पोखरा फाइनान्स र समृद्धि फाइनान्सको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । तर, कुथेली बुकारी स्मल हाइड्रोकाे सेयर मूल्य १० प्रतिशत घटेकाे छ । यस्तै, समाज लघुवित्त वित्तिय संस्था ४.९३ प्रतिशत, एनएलजी इन्स्योरेन्स कम्पनीको ४.०४ प्रतिशत र बुटवल पावर कम्पनीको ३.६३ प्रतिशतले गिरावट आएको छ । कारोबारतर्फ भने जानकी फाइनान्स कम्पनीकाे ३३ करोड ८६ लाख ३३ हजार रुपैयाँ, पोखरा फाइनान्सकाे २५ करोड ८९ लाख रुपैयाँ, सप्तकोशी डेभलपमेन्ट बैंकको २१ करोड ५७ लाख रुपैयाँ, समृद्धि फाइनान्सकाे २१ करोड १३ लाख रुपैयाँ र पिपुल्स हाइड्रोको १८ करोड २२ लाख  रुपैयाँकाे सेयर काराेबार भएकाे छ ।

स्टक ब्रोकर र धितोपत्र ब्रोकर एशोसिएसन मर्ज हुने, नाम के रहन्छ ?

काठमाडौं । धितोपत्र दलाल व्यवसायी (ब्रोकर) का दुई वटा संठगन एक आपसमा मर्ज हुने भएका छन् । नयाँ ब्रोकर कम्पनी सञ्चालनमा आएपछि ब्रोकर व्यवसायीहरूका दुई छुट्टाछुट्टै संगठन बनेका थिए । तर, ती दुइटै संगठन आजदेखि मर्ज भएर एक बन्ने भएका हुन् । नेपाल धितोपत्र बोर्डले नयाँ कम्पनीलाई ब्रोकर लाइसेन्स दिएपछि सागर ढकालको अध्यक्षतामा धितोपत्र ब्रोकर एशोसिएसन नेपाल जन्मिएको थियो । पुराना ब्रोकरहरूको भने स्टक ब्रोकर एशोसिएसन अफ नेपाल थियो । जसको अध्यक्ष धर्मराज सापकोटा रहेका छन् । अब स्टक ब्रोकर एसोसिएसन र धितोपत्र ब्रोकर एसोसिएसनबीच बुधबार साँझ मर्जरसम्बन्धी सम्झौता हुनेछ । मर्जपछि बन्ने संगठनको नाम स्टक ब्रोकर एसोसिएसन अफ नेपाल रहने एक ब्रोकर कम्पनीका अध्यक्षले विकासन्युजलाई जानकारी दिए । तर, मर्जपछि साधारण सभाले नयाँ अध्यक्षसहितका पदाधिकारी चयन गर्नेछ । एउटै उद्देश्यका साथ सञ्चालनमा आएका ब्रोकर कम्पनीका दुई संगठन हुँदा बजारमा गलत सन्देश प्रवाह भएको थियो । अन्ततः एउटै संगठन बन्ने भएपछि सकारात्मक रहेको ब्रोकर व्यवसायीहरू बताउँछन् । स्टक ब्रोकर एशोसिएसनका अध्यक्ष धर्मराज सापकोटाका अनुसार विगतदेखि नै दुई एशोसिएसन एक भएर जाने भनेर छलफल हुँदै आएको थियो । तर, केही प्राविधिक कारणले ढिला हुन गएको उनको भनाइ छ ।

९२ ब्रोकर कम्पनीले नवीकरण गरे सदस्यता

काठमाडौं । २ धितोपत्र व्यापार (स्टक डिलर)सहित ९२ वटा धितोपत्र दलाल (ब्रोकर) कम्पनीले सदस्यता नवीकरण गरेका छन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले २ वटा स्टक डिलर र ९० वटा ब्रोकर कम्पनीको सदस्यता नवीकरण गरेको जनाएको छ । नेप्सेले चालु आर्थिक वर्ष २०८१/८२ का लागि स्टक डिलर र ब्रोकर कम्पनीको सदस्यता नवीकरण गरेको जनाएको छ । धितोपत्रको दोस्रो बजारमा सेयर कारोबार (खरिद र बिक्री) गर्न नेप्सेबाट २०८१ असोज मसान्तसम्म स्टक डिलर र ब्रोकर कम्पनीले सदस्यता नवीकरण गरेका हुन् । नेप्सेका अनुसार धितोपत्र व्यापारी (स्टक डिलर) संस्था नागरिक स्टक डिलर कम्पनी र नबिल स्टक डिलरले आफ्नो सदस्यता नवीकरण गरेका हुन् । यस्तै, समित कार्य गर्ने ब्रोकर ८८ वटा र पूर्ण कार्य गर्ने ब्रोकर २ वटा रहेका छन् ।[pdf id=522208]