आज सेयरधनी बने सोल्टी होटलको ३६.८४ प्रतिशत लाभांश पाइने

काठमाडौं । सोल्टी होटलको ३६.८४ प्रतिशत लाभांश सुरक्षित गर्ने आज मसिर १२ गते अन्तिम दिन रहेको छ । लाभांश तथा साधारणसभा प्रयोजनार्थ होटलले मंसिर १३ गतेदेखि पुस ४ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज मंसिर १२ गतेसम्म कारोबार भई कायम सेयरधनीहरुले मात्रै साधारणसभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्नेछन् । कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित २६.८४ प्रतिशत नगद गरी कुल ३६.८४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कम्पनीले ५०औँ वार्षिक साधारण सभा पुस ४ गते बिहान साढे ११ बजे नेपाल प्रज्ञा भवन कमलादी काठमाडौंमा डाकेको छ ।

सेयर बजारको क्षेत्र ठूलो छ, नयाँ स्टक पहिलो प्राथमिकता

काठमाडौं । नेपाल धितोपत्र (सेबोन)का नवनियुक्त अध्यक्ष सन्तोष नारायण श्रेष्ठले नेपालको पुँजी बजारमा नयाँ स्टक एक्सचेञ्ज ल्याउने योजना पहिलो प्राथमिकता राखेको बताएका छन् । मंगलबार अर्थमन्त्रालयमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसदा पौडेलबाट पद तथा गोपनीयताको सपथ लिँदै उनले सरकारको नीति निर्देशनअनुरूप नयाँ स्टक एक्सचेञ्ज ल्याउने बताए । नवनियुक्त अध्यक्ष श्रेष्ठले सेयर बजारलाई दीर्घकालसम्म सञ्चालन गर्ने गरी काम गर्ने योजना रहेको दावी गरे । पुँजी बजारको दिगो विकास र लगानीकर्ताको हक हितका लागि काम गर्ने उनले बताए । ‘लगानीकर्ताको मनोबल बढाउने गरी काम गर्छु, लगानीकर्ताको लगानी सुरक्षालाई प्राथमिकतामा राख्नेछु, सेयर बजार मात्र नभई समग्र अर्थतन्त्र नै चलायमान बनाउनु छ, देशको अर्थतन्त्र र आर्थिक विकासका लागि पुँजी बजारलाई सदुपयोग गर्नुपर्छ,’ अध्यक्ष श्रेष्ठले भने, ‘सेयर बजारको क्षेत्र ठूलो छ, सेयर बजार पुँजी बजारको सानो हिस्सामात्रै हो । हामीले समग्र पुँजी बजारलाई नै विकास गर्नुपर्छ ।’ साथै धितोपत्र बोर्ड अध्यक्षविहीन हुँदा विगत लामो समयदेखि सेयर निष्कासनका लागि दर्जनौं कम्पनी पाइपलाइनमा छन् । प्रक्रिया पुर्‍याएर ती कम्पनीलाई सेयर बिक्री गर्न उनले अनुमति दिनुपर्ने देखिन्छ । पुँजी बजारमा हुने गलत क्रियाकलापको निगरानी र नियन्त्रणमा आफ्नो बढी जोड रहने उनको भनाइ छ । ‘लगानीकर्ताको सुरक्षाका लागि काम गर्न आएको हुँ, व्यापारिक घराना वा स्वार्थ समूहबाट होइन, प्राथमिकताका आधारमा काम गर्ने र पुँजी बजारमा रहेका समस्याहरूलाई अवसरका रूपमा बदल्नेछु,’ अध्यक्ष श्रेष्ठले भने । उनले नेपालको पुँजी बजारलाई पूर्ण रूपमा सदुपयोग नभएको बताउँदै भने, ‘पुँजी बजारको दायरा बढाउन सकिने अवस्था रहेको छ, बजारका सिद्धान्त बमोजिम मुलुकको हितमा काम गर्छु ।’ पुँजी बजारका क्षेत्रमा रहेका समस्याहरूलाई संस्थागत रूपमा सम्बोधन गर्न अर्थमन्त्री पाैडेलले नवनियुक्त अध्यक्षलाई निर्देशन दिए । पुँजी बजारको व्यवस्थित विकासका लागि गतिशिल ढंगले काम गर्नुपर्ने उनको भनाइ छ । ‘अध्यक्षले राम्रा काम र नतिजाद्वारा सबै आशंकाहरूलाई चिर्दै पुँजी बजारको विकासमा महत्त्वपूर्ण योगदान दिनुपर्छ, निष्ठापूर्वक र योग्यतापूर्वक काम गर्ने आशा छ,’ अर्थमन्त्री पौडेलले भने । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले श्रेष्ठलाई धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गरेको हो । जन्मथलो स्याङ्जाको भीरकोट नगरपालिका रहेका श्रेष्ठ हाल बुटवल बस्छन् । काठमाडौं विश्वविध्यालयबाट एमबीए गरेका श्रेष्ठ स्वाभिमान लघुवित्त वित्तीय संस्थामा करिब ८ वर्ष अध्यक्षको जिम्मेवारी निभाइसकेका छन् । तत्कालीन नेपाल एक्सप्रेस फाइनान्समा सञ्चालक समितिको अध्यक्षसमेत बनेका श्रेष्ठसँग नेपाल विद्युत प्राधिकरणमा सञ्चालक भएर काम गरेको अनुभव छ । सोप एण्ड केमिकल, जलविद्युत् तथा कलेजहरूमा समेत संलग्न रहेका उनको विभिन्न जलविद्युत कम्पनीमा लगानीसमेत रहेको छ ।

धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष श्रेष्ठले लिए शपथ

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)का नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले शपथ लिएका छन् । उनलाई मंगलबार अर्थमन्त्रालयमा अर्थमन्त्री विष्णुप्रसाद पाैडेलले शपथ ग्रहण गराए । श्रेष्ठलाई सोमबार बसेको मन्त्रिपरिषदको बैठकले धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गरेको हाे । धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समितिले उत्कृष्ट कार्यायोजना तथा अन्तर्वार्ताका आधारमा सन्तोषनारायणसहित, मुक्तिनाथ श्रेष्ठ र डा. नवराज अधिकारीको नाम मन्त्रीपरिषदमा सिफारिस गरेको थियो । अन्ततः सन्तोषनारायण श्रेष्ठले बाजी मारे । स्याङ्जाको भीरकोट नगरपालिकामा जन्मेका श्रेष्ठ हाल बुटवल बस्छन् । साथै उनको बसाईं काठमाडौंमा समेत छ । काठमाडौं विश्वविध्यालयबाट एमबीए गरेका श्रेष्ठ स्वाभिमान लघुवित्त वित्तीय संस्थामा करिब ८ वर्ष अध्यक्षको जिम्मेवारी निभाइसकेका छन् । काठमाडौं विश्वविध्यालयबाट एमबीए गरेका श्रेष्ठ स्वाभिमान लघुवित्त वित्तीय संस्थामा करिब ८ वर्ष अध्यक्षको जिम्मेवारी निभाइसकेका छन् । २०८० पुस २० गतेदेखि  धितोपत्र बोर्ड अध्यक्षविहीन भएको थियो । माघ पहिलो साता राष्ट्रिय योजना आयोगका तत्कालीन उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठको नेतृत्वमा अर्थ सचिव कृष्णहरि पुष्कर र उदय निरौला सदस्यीय रहेको छनोट समिति गठन भयो । त्यतिबेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ थिए भने अर्थमन्त्री वर्षमान पुन । फागुन १६ गते अध्यक्ष पदका लागि दरखास्त आह्वान गर्दा १९ जनाले आवेदन दिएका थिए । छनोट समितिले १९ जनामध्येबाट सन्तोष नारायणसहित बोर्डका कार्यकारी निर्देशक मुक्ति श्रेष्ठ, नवराज अधिकारी, नेपाल स्टक एक्स्चेन्जका कृष्णबहादुर कार्की र बीमा प्राधिकरणका पूर्वअध्यक्ष चिरञ्जिवी चापागाईं पाँच जनामा सर्टलिष्ट गरेको थियो। तर, सर्टलिस्टमा परेका ५ जनामध्ये पहिलो चरणमा सन्तोष नारायण र मुक्ति श्रेष्ठले मात्रै कार्यायोजना प्रस्तुति तथा अन्तर्वार्ता दिए । अधिकारी, कार्की र चिरञ्जिवी चापागाईंले बहिस्कार गरे । सिफारिस समितिले तीन जनाको नाम मन्त्रिपरिषद् बैठकमा सिफारिस गर्नु पर्ने व्यवस्था छ । पाँचमध्ये बहुसंख्यक उम्मेदवार (तीन जना) अन्तर्वार्तामा अनुपस्थित भएपछि अध्यक्षको नियुक्ति प्रक्रिया रद्द गर्‍यो । तर, सेबोन अध्यक्षको नियुक्ति प्रक्रिया रद्द गरेको भन्दै सन्तोष नारायणले अदालत पुगेका थिए । र, अदालतले पनि उनको पक्षमा आदेश दिएपछि नियुक्ति प्रक्रिया पुनः अघि बढेको थियो । यही बीचमा प्रचण्ड नेतृत्वको सरकार ढलेर केपी शर्मा ओली प्रधानमन्त्री बने भने विष्णु पौडेल अर्थमन्त्री । र, राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. शिवराज अधिकारी नियुक्त भएपछि उनी छनोट समितिको समेत संयोजक बने । गत मंसिर ९ गते सर्टलिष्टमा परेका पाँच जना कार्की, चापागाईं र अधिकारीलाई अन्तर्वार्ताका लागि बोलाएको थियो । तीन जनामध्ये कार्की र अधिकारीले मात्रै अन्तर्वार्ता दिएका थिए भने चापागाईं अनुपस्थित भएका थिए ।