लक्ष्मी सनराइजको १५.७९ प्रतिशत लाभांश पारित, सबैभन्दा धेरै कम्पनीको सेयर निष्कासन गरेको दाबी

काठमाडौं । लक्ष्मी सनराइज क्यापिटलको १४औं वार्षिक साधारण सभाले लाभांश पारित गरेको छ । आइतबार सम्पन्न सभाले १५.७९ प्रतिशत अर्थात् ७ करोड ७१ लाख ९४ हजार ७३६ नगद लाभांश प्रस्ताव पारित गरेको हो । गत आर्थिक वर्ष २०८०/८१ को वासलात बमोजिम प्रतिसेयर आम्दानी १९.६० प्रतिशत रहेकोमा वितरणयोग्य आम्दानी १७.८९ प्रतिशतबाट १५.७९ प्रतिशत मात्रै लाभांश वितरण गरेको हो । हाल सनराइज क्यापिटलको चुक्ता पुँजी ४८ करोड ८९ लाख रुपैयाँ कायम भएको छ । यस्तै, सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन र आर्थिक वर्ष आव २०८१/८२ को लागि लेखापरीक्षक नियुक्ति गरेको छ । लक्ष्मी क्यापिटल लक्ष्मी सनराइज बैंकको पूर्ण स्वामित्वको सहायक कम्पनी हो । लक्ष्मी र सनराइज बैंक मर्जरपछि लक्ष्मी क्यापिटल मार्केट र सनराइज क्यापिटल २०८० पौष २३ गतेदेखि मर्ज भई एकीकृत कारोबार गरेका थिए । तीन दशकदेखि मर्चेण्ट बैंकिङ सेवामा सकृयताका साथ संलग्न रहेको यस कम्पनीले हालसम्म सबैभन्दा बढी संस्थाहरुको सेयर निष्कासन तथा बिक्री प्रबन्धकको कार्य सम्पन्न गरेको छ । हाल २० वटा कम्पनीहरूको सेयर निष्कासनको क्रममा रहेको कम्पनीले जनाएकाे छ । कम्पनीले करिब २५० जना ग्राहकहरूको ७० करोडभन्दा बढी रकमको पोर्टफोलियो व्यवस्थापन गर्दै आइरहेको छ । कम्पनीले करिब ३.५० लाख निक्षेप सदस्यहरूको डिम्याट खाता खोल्न सफल भएको छ । कम्पनीले करिब ७ अर्व बराबरको ६ वटा बन्दमुखी म्युचुअल फण्ड र १ वटा खुल्लामुखी म्युचुअल फण्ड सञ्चालन गर्दै आइरहेकोमा गत जेठ २८ मा १ अर्व २५ करोड रकम बराबरको सात वर्ष अवधिको लक्ष्मी इक्विटी फण्ड परिपक्व भई सात वर्षको अवधिमा ईकाईधनीहरूलाई जम्मा ६३.६५ प्रतिशत प्रतिफल प्रदान गर्न सफल भएको र परिपक्व भए पश्चात सोका ईकाइधनीहरुलाई ११.१४ रुपैयाँ प्रति ईकाइका दरले रकम फिर्ता भुक्तानी गरिएको र बाँकी ५ वटा योजनाले आव २०८०/०८१ को मुनाफाबाट ४.५० देखि १२.५० प्रतिशत प्रतिफल वितरण गरेको छ । विशिष्टीकृत लगानी कोष सेवा अन्तर्गत एक अर्ब बराबरको लक्ष्मी सस्टनेवल ईनर्जी फण्ड स्वीकृति प्राप्त गरी उक्त फण्डले लगानीकर्ताहरूबाट करिब रु.४० करोड संकलन गरिसकेको, बाँकी रकम चालु आवमा संकलन गर्ने लक्ष्य रहेको कम्पनीले जानकारी दिएको छ ।

सेबोन अध्यक्ष श्रेष्ठले गरे कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष सन्तोषनारायण श्रेष्ठले महाशाखा प्रमुखहरूको जिम्मेवारी हेरफेर गरेका छन् । अध्यक्ष श्रेष्ठले बोर्डका कार्यकारी निर्देशक मुक्ति श्रेष्ठलाई नियमन विभागमा यथावत राखेका छन् ।  बाँकी तीन जनाको जिम्मेवारी हेरफेर भएको छ । बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारीलाई नीति अनुसन्धान तथा तालिम विभागको जिम्मेवारी दिइएको छ । यसअघि उनी व्यवस्थापन तथा कानुन विभागमा थिए । यस्तै, अर्का कार्यकारी निर्देशक विनयदेव आचार्यलाई व्यवस्थापन तथा कानुन विभागको जिम्मेवारी दिइएको छ । उनी यसअघि सुपरीपेक्षण विभागमा थिए । त्यस्तै, कृष्णराज पोखरेललाई सुपरीवेक्षण विभागको जिम्मेवारी दिइएको छ । यसअघि उनी नीति अनुसन्धान तथा तालिम विभागमा थिए । अध्यक्ष श्रेष्ठले शुक्रबार कार्यकारी निर्देशकहरूको जिम्मेवारी हेरफेर गरेका हुन् ।

घट्यो सेयर बजार, ५ कम्पनीमा सकारात्मक सर्किट

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक ९.९९ अंकले घटेर २७३८.०७ बिन्दुमा पुगेको  हो । आज घटेको बजारमा ६३ वटा कम्पनीको सेयर मूल्य बढ्दा १७८ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै, ३ वटा कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएको छैन । १ करोड ६७ लाख कित्ता सेयर खरिदबिक्री हुँदा ८ अर्ब ८३ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये एक्सेल डेभलपमेन्ट बैंकको सबैभन्दा बढी कारोबार गरेको छ । एक्सेल डेभलपमेन्टको ३४ करोड ३१ लाख रुपैयाँ बढीको कारोबार भएको छ । साथै, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको २८ करोड ९० लाख रुपैयाँ बढीको कारोबार भएको छ भने नेपाल फाइनान्सको २८ करोड ६ लाख रुपैयाँ बढीको कारोबार गरेको छ । साथै, कारोबारमा विकास बैंक, होटल र व्यापार समूहको उपसूचक बढेको छ भने भने बाँकी समूहको उपसूचक घटेको छ । विकास बैंकको उपसमूह ४.५२, होटल तथा पर्यटनको उपसमूह ०.३० र व्यापारको उपसमूह ९.० प्रतिशतले बढेको छ । यस्तै, आज ५ वटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । विशाल बजार कम्पनी, करपोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, ग्रिन डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकमा सकारात्मक सर्किट लागेको हो । कारोबारमा जानकी फाइनान्सको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।