गरिमा क्यापिटलले पुस ७ गतेदेखि गरिमा समृद्धि योजना बिक्री खुला गर्ने

काठमाडौं । गरिमा क्यापिटलले पहिलो म्युचुल फण्ड निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । क्यापिटलले गरिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने गरिमा समृद्धि योजना पुस ७ गतेदेखि बिक्री खुला गर्ने भएको हो । १० वर्ष अवधि रहेको उक्त फण्ड एक बन्दमुखी योजना हो । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्य दरका १ अर्ब रुपैयाँको १० करोड इकाई बिक्री गर्नेछ । जसमध्ये १४ प्रतिशत अर्थात् १ करोड ४० लाख इकाई कोष प्रवद्र्धक गरिमा विकास बैंक, एक प्रतिशत अर्थात् १० लाख इकाई योजना व्यवस्थापक गरिमा क्यापिटल र बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधरणका लागि छुट्याएको छ । फण्डमा न्यूनतम १०० इकाईदेखि अधिकतममा १ करोड इकाईसम्मका लागि आवेदन दिनुपर्नेछ । लगानीकर्ताहरूले पुस ११ गतेसम्म आवेदन दिनुपर्नेछ । यदि सो अवधिमा पूर्ण आवेदन नपरेमा पुस २१ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । म्युचुअल फण्ड निष्काशन तथा बिक्री प्रबन्धक गरिमा क्यापिटल रहेको छ । लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत् आवेदन दिन सक्ने छन् ।

महुली लघुवित्तले पुस ५ गतेदेखि एफपीओ बिक्री गर्ने, पुँजी ३७ करोड पुग्ने

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले पुस ५ गतेदेखि थप सार्वजनिक सेयय (एफपीओ) निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । लघुवित्तले ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ४ लाख ७५ हजार ४४९.१५ कित्ता सेयर बिक्री खुला गर्ने भएको हो । लघुवित्तमा सर्वसाधारण समूहको हिस्सा १९.६८ प्रतिशत रहेको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम कुल जारी पूँजीको ३० प्रतिशत पुर्याउन एफपीओ जारी गर्न लागेको हो । हाल लघुवित्तको चुक्ता पुँजी ३२ करोड २३ लाख ७८ हजार ५८५ रुपैयाँ रहेको छ । एफपीओ निष्काशनपश्चात् चुक्ता पुँजी ३६ करोड ९९ लाख २३ हजार ५ सय रुपैयाँ पुग्नेछ । लघुवित्तको एफपीओमा पुस ९ गतेसम्म आवेदन दिन सकिनेछ । यदि उक्त अवधिभित्र पर्याप्त आवेदन नपरेमा निष्काशन अवधि पुस १९ गतेसम्म लम्बिनेछ । लघुवित्तको एफपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । लघुवित्तको एफपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ । लगानीकर्ताहरूले सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमाफएत आवेदन दिन सक्नेछन् । इक्रा नेपालले लघुवित्तलाई इक्रएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ । यसले लघुवित्तको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

स्ट्यान्डर्ड चार्टर्ड बैंकको ३८औँ सभाले पारित गर्‍यो २५.५ प्रतिशत लाभांश

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकको लाभांश पारित गरेको छ । बैंकको ३८औं वार्षिक साधारण सभाले १९ प्रतिशत नगद लाभांश र ६.५ प्रतिशत सेयर लाभांश गरी कुल २५.५ प्रतिशत लाभांश पारित गरेको हो । बैंकले गत वर्ष ४.७ अर्ब रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ । तर, ३.३ अर्ब रुपैयाँ करपछिको वास्तविक मुनाफा रहेको बैंकले जनाएको छ । बैंकको इक्विटीमा प्रतिफल (आरओई) १९ प्रतिशत र प्रति सेयर आम्दानी ३४.७ रुपैयाँ रहेको छ । जुन बैंकिङ क्षेत्रकै उच्च हो । बैंककी अध्यक्ष जरीन दरुवालाले अन्तर्राष्ट्रिय बैंकको रूपमा नेपालको आर्थिक विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्न पाउँदा गर्व लागेको बताइन् । बैंकमा स्ट्यान्डर्ड चार्टर्ड ग्रुपको ७०.२१ प्रतिशत र सर्वसाधारणको २९.७९ प्रतिशत सेयर स्वामित्व रहेको छ।