निर्वाचनको क्रममा जनाएको प्रतिबद्धता नै पहिलो प्राथमिकतामा छ : नवनिर्वाचित अध्यक्ष ढकाल
काठमाडौं । स्टक ब्रोकर्स एसोसिएसन अफ नेपाल (एसबान)को नवनिर्वाचित अध्यक्ष सागर ढकालले निर्वाचनको क्रममा जनाएका प्रतिबद्धतालाई नै पहिलो प्राथामिकतमा रहेर काम गर्ने बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालको सपथ तथा पदभर ग्रहण कार्यक्रममा उनले उक्त कुरा बताएका हुन् । ‘निर्वाचनको बेला गर्छु भनेर प्रतिबद्धता गरेका विषयलाई कार्यान्वयन गर्दै लैजाने छौं,’ उनले भने, ‘दुई वर्षको अवधिमा हामीले धेरै काम गर्नुपर्ने जिम्मेवारी थपिएको छ । त्यसमा नियामक निकाय धितोपत्र बोर्डलगायत तपाईंहरूको सबैको साथ र सहयोगको अपेक्षा लिएको छु ।’ निर्वाचनको क्रममा आफूले गर्न सक्ने कामलाई मात्रै गर्छु भनेर प्रतिबद्धता जनाएको र त्यसलाई नै सकारात्मक रूपमा लिएर अघि बढ्ने उनको भनाइ थियो । त्यस्तै, नवनिर्वाचित एसबानका अध्यक्ष ढकालले २३ वर्षपछि ऐन संशोधन भएकाले त्यसमा पुँजीबजारका धेरै विषय समेट्नुपर्ने हुँदा त्यसमा नियामक निकायले सहयोग गर्न अनुरोध गरे । एसोसिएसनको ३०औं साधारणसभाले आगामी दुई वर्षका लागि ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको थियो । जसको अध्यक्षमा सागर ढकालले बाजी मारेका थिए । प्रतिद्वन्दी राजकुमार तिमिल्सिनालाई पराजित गर्दै ढकाल अध्यक्षमा निर्वाचित भएका हुन् । निर्वाचनमा ढकालले ८८ मतमध्ये ४५ मत ल्याएर जीत हात पारेका हुन् । उनका प्रतिद्वन्द्वी तिमिल्सिनाले ४३ मत प्राप्त गरेका थिए । बिहीबार सर्वसम्मत रूपमा एसोसिएसनको अध्यक्ष चुन्ने प्रयास भए पनि पनि तिमिल्सिना र ढकालबीच सहमति नजुटेपछि शुक्रबार निर्वाचन भएको थियो । कार्यसमिति उपाध्यक्षमा नितेश अग्रवाल, महासचिव भक्तिराम घिमिरे, कोषाध्यक्ष मदन पौडेल र सचिवमा विनय पौडेल निर्वाचित भएका छन् । सदस्यमा विशालकुमार अग्रवाल, प्रियन्सु अग्रवाल, जयन्त श्रीवास्तव र जेलिना कँडेल छन् । यसअघि ब्रोकर कम्पनीका दुई एसोसिएसन स्टक ब्रोकर एसोसिएसन अफ नेपाल र धितोपत्र ब्रोकर एसोसिएसन नेपाल रहँदै आएकोमा २८ कात्तिकदेखि मर्ज भएर एउटै बनेको थियो ।
गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले लाभांश नदिने
काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको मंसिर २८ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो । योसँगै सेयरधनीको हात खाली हुने भएको छ । बैठकले सोही अनुसारको गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाउन निर्णय पनि गरेको छ । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात सो वित्तीय विवरण आगामी वार्षिक साधारण सभामा पेस गरिनेछ ।
भिजन लुम्बिनीले लाभांश नदिने, सेयरधनीको हात खाली
काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको मंसिर २७ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो । योसँगै सेयरधनीको हात खाली हुने भएको छ । बैठकले सोही अनुसारको गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाउन निर्णय पनि गरेको छ । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात सो वित्तीय विवरण आगामी वार्षिक साधारण सभामा पेस गरिनेछ ।