नेपाल लाइफको २५औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको २५औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सोमबार कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोविन्दलाल संघईको अध्यक्षतामा सभा सम्पन्न भएको हाे । अध्यक्षबाट प्रस्तुत भएको आर्थिक वर्ष २०८०/८१ को वार्षिक कार्य प्रगति प्रतिवेदन छलफल गरी पारित भयाे । यसैगरी, लेखापरीक्षकको प्रतिवेदन सहितको आव २०८०/८१ को वासलात, नाफा-नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू उपर छलफल गरी स्वीकृत गरिएको छ । यस सभाले आव २०८१/८२ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिकसमेत निर्धारण गरेको छ । साधारण सभाले आव २०८०/८१ को वितरण योग्य मुनाफाबाट सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजी ८ अर्ब २० करोड ७९ लाख ६६ हजार ५५४ रुपैयाँको जम्मा २१.०५ प्रतिशतले हुन आउने रकम एक अर्ब बहत्तर करोड उनासी लाख बयानब्बे हजार नौ सय उनन्साठी मात्र लाभांशको रूपमा प्रदान गर्ने भएकाे छ । जसमा १० प्रतिशत बोनस सेयर र ११.०५ प्रतिशत नगद लाभांश (बोनस सेयर तथा नगद लाभांशको करसहित) प्रदान गर्ने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ । अध्यक्ष संघईले जीवन बीमा क्षेत्रमा कम्पनीको व्यवसायिक हिस्सा र गरिमालाई तमाम चुनौतिहरु बीच अझै नयाँ उचाइमा अगाडि बढाउनका लागि संरचनात्मक सुधार, संस्थागत सुशासनको पूर्ण पालना, सुदृढ आन्तरिक नियन्त्रण प्रणाली, सेवा प्रणालीमा नविन प्रविधिको प्रयोग, सम्पत्ति र दायित्व बीचको सन्तुलन, ग्राहक केन्द्रित योजना, विकेन्द्रिकरण, तालिम एवं अनुसन्धान तथा नयाँ बजारीकरण रणनीति अवलम्बन गरि अर्को सुनौलो यात्रा तर्फ अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे । २०८१ असोज मसान्तसम्ममा यस कम्पनीको लगानी २१५ अर्ब रुपैयाँ रहेको छ भने जीवन बीमाकोष २०८ अर्ब रुपैयाँ र सेयरधनी कोष १२ अर्ब बढी रहेको छ । कम्पनीले आफ्ना सेवाग्राहीहरू तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना हाल १ सय ९५ कार्यालय सञ्जालहरूमार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ ।

एसके इनर्जी डेभलपमेन्टले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं । एसके इनर्जी डेभलपमेन्ट लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएको छ । आईपीओ जारीका लागि कम्पनीले सानिमा क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ । एसके इनर्जी डेभलपमेन्टका तर्फबाट अध्यक्ष वीरबहादुर राई र सानिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) भीष्मराज चालिसेले सम्झौता पत्रमा हस्ताक्षर गरे । एसकेले प्रति सेयर अंकित मूल्य १०० रुपैयाँका दरका २० लाख ८० हजार कित्ताले हुन आउने रकम २० करोड ८० लाख बराबरको साधारण सेयर सर्वसाधारणमा जारी गर्न लागेको हो। एसके इनर्जी डेभलपमेन्ट लिमिटेडले भोजपुर जिल्लाको षडानन्द नगरपालिका भएर बग्ने श्याम खोलाको पानीको बहाव सदुपयोग गरी ७.२ मे.वा. क्षमताको श्याम खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

अर्बिट इनर्जीले आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

काठमाडौं । अर्बिट इनर्जी लिमिटेडले आइपीओ निष्काशसन गर्ने भएको छ । जसका लागि कम्पनीले बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीले प्रति सेयर १०० रूपैयाँ अंकित दरको ५० लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु तथा सर्वसाधारणहरुमा निष्कासन गर्न लागेको हो । उक्त सम्झौता-पत्रमा अर्बिट इनर्जी लिमिटेडका तर्फबाट महाप्रबन्धक सुदिप खड्का तथा कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् । अर्बिट इनर्जी लिमिटेडले संखुवासभा जिल्लाको सभापोखरी गाँउपालिका स्थित साभाखोलाको पानी सदुपयोग गरि सभा खोला बी २१.५ मेगावाट र सभा खोला सी ६.३ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । आयोजनाको निर्माण कार्य करिव ५५ प्रतिशत सम्पन्न भईसकेको कम्पनीले जनाएको छ । आयोजनामा भारतको फ्लोवेल इनर्जी प्राईभेट लिमिटेड तथा इटालीको ट्रोएर एजी कम्पनीबाट निर्मित अत्याधुनिक इलेक्ट्रोमेकानिकल समाग्रीहरु जडान गरि अवको १ वर्ष भित्र आयोजना संचालनमा ल्याउने कम्पनीले जनाएको छ । आगामी दिनमा यस कम्पनीले अन्य आयोजनामा समेत लगानी गरी अगाडी बढ्ने योजना रहेको जनाएको छ ।