नेप्सेको खुद नाफा २३.८२ प्रतिशत बढ्यो, प्रतिसेयर खुद सम्पत्ति ७१३.१९ रुपैयाँ
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को गत आर्थिक वर्ष २०८०/८१ मा खुद नाफा २३.८२ प्रतिशत बढेर १ अर्ब १ करोड ३७ लाख १८ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष नेप्सेले ८१ करोड ८६ लाख ८३ हजार रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको थियो । गत वर्ष नेप्सेले धितोपत्र कारोबारबाट १ अर्ब ५ करोड २९ लाख रुपैयाँ, संगठित सदस्यलाई दिएको सेवाबाट १४ करोड ७२ लाख रुपैयाँ, अन्य आम्दानी ५९ करोड ६१ लाख रुपैयाँ र कुल आम्दानी १ अर्ब ७९ करोड ६३ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्ष नेप्सेले धितोपत्र कारोबारबाट ६९ करोड ३८ लाख रुपैयाँ, संगठित सदस्यलाई दिएको सेवाबाट १४ करोड ७१ लाख रुपैयाँ, अन्य आम्दानी ६२ करोड ७९ लाख रुपैयाँ र कुल आम्दानी १ अर्ब ४६ करोड ८९ लाख रुपैयाँ गरेको थियो । अघिल्लो वर्ष ३७ करोड ६० हजार रुपैयाँ प्रशासनिक खर्च गरेको नेप्सले गत वर्ष ४५ करोड ५६ लाख रुपैयाँ गरेको छ । २०८१ असारसम्म नेप्सेको चुक्ता पुँजी १ अर्ब रुपैयाँ, सञ्चित नाफा १ अर्ब ५० करोड ७० लाख रुपैयाँ र अन्य पुँजी तथा कोष ४ अर्ब ६२ करोड ४७ लाख रुपैयाँ छ । नेप्सेको प्रतिसेयर खुद सम्पत्ति ७१३.१९ रुपैयाँ रहेको छ ।
धमाधम बाहिरिँदै जीवन विकास लघुवित्तबाट संस्थापक, थप १० जनाले बिक्रीमा राखे सेयर
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर बिक्रीमा राखिएको छ । लघुवित्तका केही संस्थापक समूहका सेयरधनीहरूले सेयर बिक्रीमा राखेका हुन् । लघुवित्तका अनुसार १० जना संस्थापक सेयरधनीहरूले ८ लाख ४५ हजार २२६ कित्ता सेयर बिक्रीमा राखेका हुन् । बिक्रीकर्ता नम्बर १ देखि १० सम्म उल्लेख गरी कोड नम्बर एदेखि जेसम्म राखेर सेयर बिक्रीमा राखेको हो । लघुवित्तको उक्त सेयरको मूल्य न्यूनतम प्रतिकित्ता ५२५ रुपैयाँदेखि अधिकतम ६ सय रुपैयाँसम्म तोकिएको छ । उक्त सेयर सर्वसाधारण लगानीकर्ताले समेत खरिद गर्न पाउनेछन् । खरिद गर्न इच्छुक लगानीकर्ताले फागुन १३ गतेभित्र आवेदन दिनुपर्नेछ । लघुवित्तको सेयर बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । लगानीकर्ताले न्यूनतम २५० कित्ता र अधिकतम सम्पूर्ण सेयरका लागि आवेदन दिन सकिनेछ । यसअघि लघुवित्तको दोस्रो ठूलो सेयरधनी प्रभु क्यापिटलले पनि आफ्नो स्वामित्वको सेयर बिक्रीमा राखेको छ । क्यापिटलले ८ लाख कित्ता सेयर बिक्रीमा राखेको हो । लघुवित्तले उक्त सेयरको मूल्य प्रतिकित्ता ५५० रुपैयाँ तोकेको छ । लघुवित्तको उक्त सेयरमा सर्वसाधारण लगानीकर्ताले फागुन ४ गतेसम्म आवेदन दिन सक्नेछन् । त्यसअघि गत पुस ८ गते १२ संस्थापक सेयरधनीले २१ लाख ३० हजार ८०५ कित्ता सेयर बिक्रीमा राखेका थए ।
हिमालयन एभरेष्ट इन्स्योरेन्सको लाभांश घोषणा
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सको माघ २९ गते बसेको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो । इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ८.७५ प्रतिशत अर्थात २१ करोड ८७ लाख ६३ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ ।