सिद्धार्थ केवलकारले सेयरधनी हातेमालो कार्यक्रम सञ्चालन गर्ने, १.५० अर्बको लगानीमुलक कम्पनी खोल्ने

काठमाडौं । सिद्धार्थ केवलकारले सेयरधनी हातेमालो कार्यक्रम सञ्चालन गर्ने भएको छ । कम्पनीको फागुन २२ गते बसेको संचालक समितिको बैठकले चैत १९ गते दिउँसो १ बजे रुपन्देहीमा वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभाबाट सेयरधनी हातेमालो कार्यक्रम सञ्चालन प्रस्ताव पारित गर्नेछ । कम्पनीको सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परिक्षकको प्रतिवेदन र आर्थिक वर्ष २०८१/८२ का लागि लेखा परीक्षकको नियुक्ती र पारिश्रमिक निर्धारण गर्नेछ । कम्पनीको अधिकृत पुँजी, जारी पुँजी र चुक्ता पुँजी वृद्धि सहित कम्पनीको प्रबन्ध पत्र तथा नियमावली संसोधन गर्ने, कम्पनीले प्रभु केवलकार एण्ड टुरिजमसहित प्रभु स्टील्स एण्ड हाइड्रो इन्भेष्टमेण्ट कम्पनी, प्रभु होल्डिङ्गस एण्ड हाइड्रो डेभलपमेण्ट कम्पनी र हाइड्रो होल्डिङ्गस एण्ड पावर डेभलपमेण्ट कम्पनीसँग गरेको सम्झौतालाई नियमावलीम समावेश गरि कार्यान्वयन गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीका सेयरधनीहरूलाई कम्पनीको चुक्ता पुँजी १२ अर्ब ७५ करोड रुपैयाँको आधारमा कायम भएको सेयर लगतको सेयर संख्याको आधारमा १ बराबर १.७५ को अनुपातमा हकप्रद सेयर निश्कासन गर्नेछ । कम्पनीको चुक्ता पुँजी भन्दा बढी धितो राखी वा नराखी बैंक ऋण लिने, कम्पनीको मातहतमा १ अर्ब ५० करोड रुपैयाँको चुक्ता पुँजी रहने गरी लगानी मुलक कम्पनी स्थापना गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै, नियामकीय परिवर्तन गर्नुपर्ने भए सञ्चालक समितिलाई अख्तियारी र साधारण सभासम्म सञ्चालक समितिबाट भएका सबै कार्य अनुमोदन गर्नेछ ।

सेयर बजारमा गिरावट कायमै

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकको गिरावटले बिहीबार पनि निरन्तरता पाएको छ । गत सोमबारदेखि निरन्तर घटिरहेको नेप्से परिसूचक आज दुई दशमलव ७० अङ्कको गिरावट पछि दुई हजार आठ सय १८ दशमलव ४३ को विन्दुमा कायम भएको हो । आज तीन सय १० कम्पनीको एक करोड ९० लाख ४१ हजार पाँच सय १४ कित्ता सेयर ९३ हजार आठ सय ९५ पटक खरिदबिक्री हुँदा १० अर्ब १० करोड १८ लाख १७ हजार छ सय ८१ बराबरको कारोबार भएको छ । आजको कारोबारमा बैंकिङ शून्य दशमलव शून्य तीन, विकास बैंक एक दशमलव ८६, उत्पादन तथा प्रशोधन शून्य दशमलव २४ र लघुवित्त शून्य दशमलव शून्य पाँच प्रतिशतले बढेको छभने अरु सबै समूहको उपसूचक घटेको छ । वित्त एक दशमलव २३, होटल तथा पर्यटन शून्य दशमलव ५७, जलविद्युत् शून्य दशमलव शून्य छ, लगानी शून्य दशमलव १४ र जीवन बिमा शून्य दशमलव ८० प्रतिशतले घटेको छ । त्यस्तै, म्युचुअल फण्ड शून्य दशमलव १८, निर्जीवन बिमा शून्य दशमलव शून्य चार, व्यापार शून्य दशमलव २४ र अन्य समूह शून्य दशमलव ७१ प्रतिशतले घटेको छ । गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स लिमिटेड र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ ने नविल डिबेन्चर–२०८२ को शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्स लिमिटेडको एक अर्ब १२ करोड ८३ लाख ६२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा बढी घलेम्दी हाइड्रो लिमिटेडको १० लाख ६० हजार कित्ता सेयर किनबेच भएको छ ।

माछापुच्छ्रेको १ अर्ब २० करोडको एमबीएल इक्विटी फण्ड बिक्री खुला, १२ वर्ष अवधि

काठमाडौं । माछापुच्छ्रे क्यापिटलले आज फागुन २२ गतेदेखि एमबीएल इक्विटी फण्ड निष्काशन तथा बिक्री खुला गरेको छ । क्यापिटलले एमबीएल सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने १ अर्ब २० करोड रुपैयाँको बन्दमुखी योजना बिक्री खुला गरेको हो । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्य दरका १२ करोड इकाई बिक्री गरेको हो । जसमध्ये १४ प्रतिशत अर्थात् १ करोड ६८ लाख इकाई कोष प्रवद्र्धक माछापुच्छ्रे बैंक, १ प्रतिशत अर्थात् १२ लाख इकाई योजना व्यवस्थापक माछापुच्छ्रे क्यापिटल र बाँकी १० करोड २० लाख इकाई सर्वसाधरणलाई छुट्याएको छ । १२ वर्ष अवधि रहेको उक्त फण्डमा १०० इकाईदेखि १ करोड २० लाख इकाईसम्म आवेदन दिन सकिनेछ । फण्डको इकाईमा फागुन २६ गतेसम्म आवेदन दिन सकिनेछ । यदि उक्त अवधिभित्र पूर्ण आवेदन नपरेमा चैत ७ गतेसम्म आवेदन समय लम्बिनेछ । उक्त म्युचुअल फण्ड निष्काशन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग रहेको छ । उक्त फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर माफर्त लगानीकर्ताहरूले आवेदन दिन सक्नेछन् ।