ङादी ग्रुप पावरले पौने ९ लाख कित्ता सेयर बिक्री गर्दै

काठमाडौं । ङादी ग्रुप पावरले पौने ९ लाख कित्ता सेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले फागुन २० गतेदेखि फागुन २८ गतेसम्म ८ लाख ७३ हजार ६१ कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्ने भएको हो । कम्पनीको सेयर मूल्य प्रतिकित्ता १ सय रुपैयाँ तोकिएको छ । कम्पनीले गत पुस २३ गतेदेखि माघ १४ गतेसम्म १ सय प्रतिशत अर्थात् १ करोड ८५ लाख १२ हजार ७१२.२२५ कित्ता हकप्रद सेयर बिक्री गरेको थियो । उक्त अवधिमा बिक्री नभएको सर्वसाधारण समूहतर्फको ८ लाख ७३ हजार ६१ कित्ता अवितरित सेयर बिक्री गरेको हो । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै सिद्धार्थ बैंकको विराटनगर, विर्तामोड, वीरगञ्ज, जनकपुर, हेटौडा, नारायणगढ, पोखरा, बाग्लुङ्ग, बुटवल, घोराही, नेपालगञ्ज, धनगढी, महेन्द्रनगर र सुर्खेत शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।  

सेयर बजारमा छायो हरियाली, १४ अर्ब २४ करोडको कारोबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा पश्चात् सेयर बजारमा हरियाली छाएको छ । निरन्तर उकालो लाग्दै साताको पहिलो करोबारको दिन अर्थात् आइतबार सेयर बजारमा उच्च अंकको वृद्धि भएको हो । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७५.२४ अंकले बढेर २८९०.२८ बिन्दुमा पुगेको छ । आइतबार १९६ कम्पनीको सेयर मूल्य बढ्दा ४४ कम्पनीको मूल्य घटेको देखिन्छ । आइतबार ३०२ कम्पनीको २ करोड ९१ लाख कित्ता सेयर किनबेच हुँदा १४ अर्ब २४ करोड रुपैयाँको कारोबार भएको छ । जुन ६ महिना यताकै उच्च हो । यसअघि गत भदौमा नेप्से कारोबार १८ अर्ब ६४ करोड रुपैयाँ बराबरको भएको थियो । गत बिहीबार भने ११ अर्ब ३९ करोडको कारोबार भएको थियो । आज सबैभन्दा धेरै कारोबार नेपाल रिइन्स्योरेन्स कम्पनीको भएको छ । नेपाल रिइन्स्योरेन्सको ९७ करोड रुपैयाँ बढीको कारोबार भएको छ । साथै, हिमालयन रिइन्स्योरेन्सको ८५ करोड, सिन्धु विकास बैंकको ४० करोड, एनआरएन इन्फ्राइस्ट्रक्चरको ३३ करोड र साहस ऊर्जाको २६ करोड रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ । आज ५ वटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । हिमालयन डिस्टीलरी, गार्डियन माइक्रो लाइफ, नेपाल लाइफ इन्स्योरेन्स, सिन्धु विकास बैक र डोर्दी खोलाको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको हो । यस्तै समाज लघुवित्तको सेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको नेप्सेले जनाएको छ ।

नेप्सेको सीईओका लागि आवेदन दिने समय ७ दिन थपियो, कारण के हो ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आवेदन दिने समय लम्बिएको छ । सीईओ नियुक्तिको लागि गठित सिफारिस समितिले आवेदन दिने म्याद ७ दिन थप गरेको हो । समय थप भएसँग अब फागुन २५ गतेसम्म आवेदन दिन सकिने भएको छ । यसअघि गत फागुन १२ गते सूचना प्रकाशन गर्दै समितिले फागुन १८ गतेसम्म सीईओ पदका लागि आवेदन माग गरेको थियो । तर, उक्त समयमा तीन दिन सार्वजिनक बिदा परेको कारण समय थप गरिएको सिफारिस समितिले जनाएको छ । इच्छुक नेपाली नागरिकले अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा पुग्ने गरी आवेदन दिनुपर्नेछ । सीईओ नियुक्तिका लागि अर्थ मन्त्रालयले संयोजक सहसचिव सेवन्तक पोखरेलाई बनाएको छ भने सदस्यहरूमा सहसचिव अमृत लम्साल र विज्ञ सदस्य डा. खोमराज खरेल छन् । कृष्णबहादुर कार्कीको कार्यकाल सकिएपछि गत माघ २५ गतेदेखि नेप्स सीईओबिहीन छ । कामु सीईओको जिम्मेवारी प्रबन्धक निरञ्जन फुयाँलले सम्हाल्दै आएका छन् ।