सेयर बजारमा साढे १६ अर्बको कारोबार, ३ कम्पनीको मूल्यमा सकारात्मक सर्किट
काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को पहिलो दिन बिहीबार सेयर बजारमा हरियाली छाएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७५ अंकले बढेर २८ सय ७० बिन्दुमा पुगेको छ । आज २३९ कम्पनीको सेयर मूल्य बढ्दा ९ कम्पनीको सेयर मूल्य घटेको छ । बिहीबार ३११ कम्पनीको ३ करोड कित्ता सेयर किनबेच हुँदा १६ अर्ब ५९ करोड रुपैयाँको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार नेपाल रिइन्स्योरेन्स कम्पनीको भएको छ । नेपाल रिइन्स्योरेन्सको ८४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, बुटवल पावर कम्पनीको ६० करोड, राधी विद्युत कम्पनीको ५६ करोड, सानिमा माइ हाइड्रोको ४२ करोड र न्यादी गुप्रको ४१ करोड रुपैयाँको कारोबार भएको छ । आज ३ वटा कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । ट्रेड टावर, शुभम पावर र थ्री स्टार हाइड्रोको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । बिहीबारको कारोबारमा सबै समूहका सूचक बढेका छन् । अन्य समूह सबैभन्दा धेरै ५.०९ प्रतिशतले बढेको छ । त्यस्तै बैंकिङ १.७६, विकास बैंक १.९५, फाइनान्स २.८०, होटल तथा पर्यटन २.६०, हाइड्रोपावर ३.०४, लगानी ३.१७, जीवन बीमा ३.१४, उत्पादन तथा प्रशोधन २.९४, माइक्रोफाइनान्स २.५०, निर्जीवन बीमा २.१८ र व्यापार १.७६ प्रतिशतले बढेको छ ।
हिम स्टार ऊर्जा कम्पनीको आईपीओ बाँडफाँट
काठमाडौं । हिम स्टार ऊर्जा कम्पनीको आईपीओ बाँडफाँट भएको छ । असार २४ देखि २७ गतेसम्म खुलेको यस कम्पनीको आईपीओ बुधबार बाँडफाँट भएको हो । बिक्री प्रवन्धक एनआईसी एसिया क्यापिटलले एक औपचारिक कार्यक्रमार्फत आईपीओ बाँडफाँट गरेको हो । कुल १८ लाख ९५ हजार ३७६ आवेदन स्वीकृत भएको थियो । गोलाप्रथामार्फत ७७ हजार ३९७ जनाले सेयर पाएका छन् । तीमध्ये ५ जनाले ११ कित्ताका दरले र बाँकीले १० कित्ताका दरले पाएका हुन् । ७ लाख ७३ हजार ९७५ कित्ता सेयर आम सर्वसाधारणका लागि खुलेको थियो । आईपीओको नतिजा सीडीएससीको अनलाइन आईपीओ रिजल्ट डट् सीडीससी डट् कम डट् एनपीमार्फत हेर्न सकिनेछ । कम्पनीले ओखलढुंगा र सोलुखुम्बुको सीमामा बग्ने बुकु कापटी खोलाबाट ५ मेगावाट क्षमताको आयोजना सञ्चालन गरेको छ । यसको कुल लागत १ अर्ब २३ करोड ८५ लाख ३६ हजार १३५ रुपैयाँ तथा प्रतिमेगावाट लागत २४ करोड ७७ लाख ७ हजार ३८७ रुपैयाँ छ ।
एशियन ब्याट्रीजको आईपीओ निष्कासनका लागि हिमालयन क्यापिटलसँग सम्झौता
काठमाडौं । नेपालको ऊर्जा तथा औद्योगिक आत्मनिर्भरता क्षेत्रमा क्रियाशील एशियन ब्याट्रीज लिमिटेडले सर्वसाधारणका लागि सेयर (आईपीओ) निष्कासन गर्न लागेको छ । यसका लागि कम्पनीले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा हिमालयन क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । असार ३१ गते काठमाडौंमा सम्पन्न सम्झौता समारोहमा हिमालयन क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्त र एशियन ब्याट्रीज लिमिटेडका अध्यक्ष सुरेश लोहनीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । उद्योगको जारी पुँजी ६५ करोड रुपैयाँ रहेको छ । कम्पनीले सोको २० प्रतिशत अर्थात १३ करोड रुपैयाँ बराबरको १३ लाख कित्ता सेयर सर्वसाधारणमा निष्कासन गर्न लागेको हो । यसले एशियन ब्याट्रीजलाई नेपालकै भरोसायोग्य ऊर्जा समाधान प्रदायक कम्पनी बनाउने यात्रामा महत्वपूर्ण मोड थपेको कम्पनीको भनाइ छ । सन् २०१३ देखि व्यावसायिक उत्पादन सुरु गरेको एशियन ब्याट्रीज लिमिटेडको उत्पादन केन्द्र मोरङको बुढीगंगा गाउँपालिकामा छ भने सम्पर्क कार्यालय ललितपुरको सानेपामा अवस्थित छ । कम्पनीले सवारी साधन, इलेक्ट्रिक रिक्सा, मोटरसाइकल तथा सोलार प्रणालीमा प्रयोग हुने गुणस्तरीय लिड–एसिड ब्याट्री उत्पादन गर्दै आएको छ । नेपालकै सबैभन्दा विश्वसनीय ‘पावर सोलुसन ब्रान्ड’ बन्ने लक्ष्य लिएको कम्पनीले निकट भविष्यमै लिथियम आयन ब्याट्री उत्पादन तथा प्रयोग भइसकेका ब्याट्रीहरूको पुनःप्रशोधन सुरु गर्ने योजना बनाएको छ । कम्पनीले वारेन्टीसहित भरपर्दो उत्पादन र छिटो सेवा दिने प्रतिबद्धता जनाएको छ । देशका प्रमुख स्थानहरूमा फैलिएको १० वटा शाखामार्फत कम्पनीले सेवा र उत्पादनको सहज पहुँच सुनिश्चित गर्दै आएको छ । नेपालमै निर्माण भएका एशियन ब्याट्रीका उत्पादनहरू गुणस्तरमा अब्बल, मूल्यमा सुलभ तथा दिगो उपभोगका लागि उपयुक्त भएकाले घरायसी तथा व्यवसायिक दुवै ग्राहकका लागि पूँजीगत र सञ्चालन खर्च घटाउन मद्दत पुग्ने कम्पनीको विश्वास छ ।