बरुण हाइड्रोको हकप्रद सेयर बिक्री खुला, १ कित्ता हुने नयाँ १ कित्ता पाउने
काठमाडौं । बरुण हाइड्रोपावर कम्पनीले आज असार ३१ गतेदेखि सतप्रतिशत हकप्रद सेयर निष्काशन तथा बिक्री गरेको छ । कम्पनीले हाल कम्पनीको चुक्ता पुँजी ५३ करोड ५८ लाख १५ हजार रुपैयाँको १ सय प्रतिशत अर्थात् १ कित्ता बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद सेयर बिक्री खुला गरेको हो । कम्पनीले ५३ करोड ५८ लाख १५ हजार रुपैयाँको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य दरका ५३ लाख ५८ हजार १५० कित्ता सेयर बिक्री गरेको हो । हकप्रद सेयर बिक्री गरी बाँडफाँट पश्चात् कम्पनीको चुक्ता पुँजी १ अर्ब ७ करोड १६ लाख ३० हजार रुपैयाँ पुग्नेछ । हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले जेठ २२ गते बुकक्लोज गर्ने निर्णय गरेको थियो । त्यसैले जेठ २१ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्स)मा कारोबार भइ कायम सेयरधनीहरूले कम्पनीको हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् । कम्पनीको हकप्रद सेयरमा साउन १९ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ्ग रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै राष्ट्रिय वाणिज्य बैंकका वीरगञ्ज, जनकपुर, नारायणगढ, बाग्लुङ, बुटवल, नेपालगञ्ज, वीरेन्द्रनगर, धनगढी, बिर्तामोड, हेटौंडा, तुलसीपुर, महेन्द्रनगर, चैनपुर, खाँदबारी र धरान शाखाबाट आवेदन दिन सक्नेछन् । यस्तै, सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ । हकप्रद सेयरबाट संकलित रकममध्ये १ करोड ५८ लाख रुपैयाँ क्षतिग्रस्त हेवाखोला जलविद्युत आयोजनाको पुन निर्माण र ५२ करोड रुपैयाँ जलशक्ति हाइड्रो कम्पनीमा लगानी गर्नेछ । केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । जसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।
३५ अंकले घट्यो नेप्से, ८ अर्बको कारोबार
काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३५ अंकले घटेर २७ सय २५ बिन्दुमा झरेको छ । आज ५० कम्पनीको सेयर मूल्य बढ्दा १९८ कम्पनीको सेयर मूल्य घटेको छ । सोमबार ३२१ कम्पनीको २ करोड कित्ता सेयर किनबेच हुँदा ८ अर्ब १७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार एनआरएन इन्फ्राइस्ट्रक्चर एन्ड डेभलपमेन्टको भएको छ । एनआरएनको ४० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, बुटवल पावर कम्पनीको ३९ करोड, सानिमा बैंकको २४ करोड, एनआईसी एशिया बैंकको २३ करोड, साहस ऊर्जाको १८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
नबिल बैंकले साउन ६ गतेदेखि ३ अर्बको ऋणपत्र बिक्री गर्ने, ब्याज ७ प्रतिशत
काठमाडौं । नबिल बैंकले साउन ६ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले ८ वर्ष अवधि रहेको वार्षिक ७ प्रतिशत ब्याजदरमा ‘७ प्रतिशत नबिल डिबेञ्चर २०८९’ बिक्री खुला गर्ने भएको हो । बैंकले ३ अर्ब रुपैयाँको प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्य दरका ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने भएको हो । जसमध्ये ६० प्रतिशत अर्थात् १ अर्ब ८० करोड रुपैयाँको १८ लाख कित्ता व्यक्तिगत र ४० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँको १२ लाख कित्ता ऋणपत्र सर्वसाधारण लगानीकर्ताहरूलाई बिक्री गरिने बैंकले जनाएको छ । साथै सर्वसाधारणलाई बिक्री गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बैंकको ऋणपत्रमा लगानीकर्ताहरूले न्यूनतम २५ कित्तादेखि अधिकतम १२ लाख कित्ता ऋणपत्रका लागि आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्रमा साउन ९ गतेसम्म आवेदन दिन सकिनेछ । यदि उक्त अवधिभित्र सम्पूर्ण ऋणपत्र बिक्री नभएको खण्डमा आवेदन दिने समय साउन २० गतेसम्म लम्बिनेछ । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग रहेको छ । लगानीकर्ताहरूले सीआस्बा सेवामा आवद्ध बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् । इक्रा नेपालले बैंकलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ए प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त मात्रमा सुरक्षित रहेको संकेत गर्दछ ।