सेयर बजारको आकारमा नयाँ रेकर्ड, नेप्से परिसूचक एक वर्ष यताकै उच्च
काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २१ अंकले बढेर २८ सय ९२ बिन्दुमा पुगेको छ । आज १५३ कम्पनीको मूल्य बढ्दा ९६ कम्पनीको मूल्य घटेको छ । सोमबार ३११ कम्पनीको ३ करोड कित्ता सेयर किनबेच हुँदा १६ अर्ब ३२ करोड रुपैयाँको कारोबार भएको छ । बजारको आकारमा नयाँ रेकर्ड बनेको छ । बजारको पूँजीकृत रकम ४८ खर्ब २६ अर्ब रुपैयाँ पुगेको छ । यसअघि ४७ खर्ब ९९ अर्बको रेकर्ड बनेको थियो । यस्तै, नेप्से परिसूचक पनि ११ महिनायताकै उच्च हो । साेमबार सबैभन्दा धेरै कारोबार नेपाल रिइन्स्योरेन्स कम्पनीको भएको छ । नेपाल रिइन्स्योरेन्सको ७५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, हिमालयन रिइन्स्योरेन्सको ७५ करोड, बुटवल पावर कम्पनीको ५६ करोड, फस्ट माइक्रो फाइनान्स लघुवित्तको ५१ करोड र लुम्बिनी विकास बैंकको ४२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै विकास बैंक समूह १.४२, लघुवित्त १.९३, निर्जीवन बीमा १.२७ र अन्य समूह १.८४ प्रतिशतले बढेको छ । बैंकिङ ०.४८, होटल तथा पर्यटन ०.३०, जलविद्युत् ०.४६, लगानी ०.३७, जीवन बीमा ०.०२, उत्पादन तथा प्रशोधन ०.३७, म्युचुअल फन्ड ०.१९ र व्यापार समूह ०.४३ प्रतिशतले बढेको छ । आज ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । थ्री स्टार हाइड्रोपावरको ९.९९, ट्रेड टावर र सानभी इनर्जीको ९.९८ प्रतिशतले सेयर मूल्य बढेर सकारात्मक सर्किट लागेको छ । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड र सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल पक्राउ
काठमाडौं । सेयर बजारमा सक्रिय लगानीकर्ता दीपेन्द्र अग्रवाल ठगी तथा विश्वासघातको अभियोगमा पक्राउ परेका छन् । काठमाडौं उपत्यका प्रहरी परिसरका अनुसार उनलाई टोखा क्षेत्रबाट नियन्त्रणमा लिइएको हो । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार अग्रवालले सेयर कारोबारको नाममा विभिन्न लगानीकर्ता र धितोपत्र दलाल कम्पनीहरूलाई करिब २२ करोड रुपैयाँभन्दा बढी ठगी गरेका थिए । अग्रवालविरुद्ध धितोपत्र बजारसम्बन्धी आर्थिक अनियमितता, विश्वासघात र ठगीसम्बन्धी अभियोगमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे नेपाल धितोपत्र बोर्डले समेत छुट्टै अनुसन्धान अघि बढाइसकेको छ ।
राप्ती हाइड्रोले साउन १३ गतेदेखि ७ लाख कित्ता सेयर बिक्री गर्ने, मूल्य १ सय रुपैयाँ
काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनले ७ लाख ४ हजार १११ कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्ने भएको छ । कम्पनीले असार १ गतेदेखि असार २४ गतेसम्म चुक्ता पुँजी ६१ करोड २७ लाख ९३ हजार ८ रुपैयाँको १ सय प्रतिशत तथा १ कित्ता सेयर बराबर १ कित्ता अनुपातमा ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद सेयर जारी गरेको थियो । उक्त अवधिमा सर्वसाधारण समूहतर्फ ५ लाख ६४ हजार १० कित्ता र संस्थापक समूहतर्फ १ लाख ४० हजार १०१ कित्ता सेयर बिक्री भएको थिएन । कम्पनीका अनुसार उक्त सेयर भदौ ८ गतेसम्म लकइनमा रहनेछ । कम्पनीले सोही साउन १३ गतेदेखि साउन २० गतेसम्म बिक्री गर्न लागेको हो । कम्पनीको सेयर खरिदका लागि जोसुकै व्यक्ति तथा कम्पनीले आवेदन दिन सक्नेछन् । कम्पनीको सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । यसमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । कम्पनीको सेयर बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ । लगानीकर्ताले मुक्तिनाथ क्यापिटलको कार्यालय नक्साल काठमाडौं, मुक्तिनाथ विकास बैंकको शाखा कार्यालय ठिमी-भक्तपुर, कुमारीपाटी-ललितपुर, विर्तामोड, विराटनगर, वीरगंज, जनकपुर, हेटौडा, नारायणगढ, चिप्लेढुंगा, पोखरा, बाग्लुङ्ग, बुटवल, घोराही-दाङ, नेपालगंज, सुर्खेत, धनगढी र महेन्द्रनगरबाट आवेदन दिन सकिनेछ ।