छ्याङ्दी हाइड्रोले साउन १४ गतेदेखि अवितरित हकप्रद सेयर बिक्री गर्ने
काठमाडौं । छ्याङ्दी हाइड्रोपावरले २ लाख ९८ हजार ८३२ कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्ने भएको छ । कम्पनीले जेठ २३ गतेदेखि असार २७ गतेसम्म चुक्ता पुँजी ३८ करोड ६९ लाख ७७ हजार ५ सय रुपैयाँको १ सय प्रतिशत अर्थात् हाल कायम १ कित्ता सेयर बराबर नयाँ १ कित्ता अनुपातमा प्रतिकित्ता १ सय रुपैयाँ अकित मूल्य दरका ३८ लाख ६९ हजार ७७५ कित्ता हकप्रद सेयर बिक्री गरेको थियो । उक्त अवधिमा बिक्री नभएको २ लाख ९८ हजार ८३२ कित्ता सेयर भदौ साउन १४ गतेदेखि साउन २१ गतेसम्म बिक्री गर्न लागेको हो । कम्पनीको सेयर खरिदका लागि जोसुकै व्यक्ति तथा कम्पनीले आवेदन दिन सक्नेछन् । कम्पनीको सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । यसमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । कम्पनीको सेयरमा लगानीकर्ताहरूले बिक्री प्रबन्धकसँगै ग्लोबल आइएमई बैंकको विर्तामोड, हनुमानदास रोड विराटनगर, जनकपुर, आर्दशनगर, वीरगंज, हेटौडा, नारायणगढ, न्यूरोड पोखरा, बुटवल मिलनचोक, बाग्लुङ्ग, नेपालगंज त्रिभुवन चोक, सुर्खेत, घोराही दाङ, धनगढी र महेन्द्रनगरबाट पनि आवेदन दिन सक्नेछन् ।
आज १० अर्बको विकास ऋणपत्र बिक्री गरिदैं, यसरी उठाइँदैछ आन्तरिक ऋण
काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आज १० अर्ब रुपैयाँको ‘विकास ऋणपत्र-२०८५’ बिक्री गर्ने भएको छ । तीन वर्षे अवधिको सो ऋणपत्र बोलकबोल प्रक्रियाका माध्यमबाट बिक्री गर्न लागिएको हो । सो ऋणपत्रको नेपाल स्टक एक्सचेञ्जमा दोस्रो बजार कारोबार हुनेछ । यो ऋणपत्र धितो राखी कर्जा लिन वा दिन समेत पाइनेछ । आज बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म उक्त ऋणपत्रको बोलकबोल हुनेछ । अर्ध वार्षिक रुपमा ब्याज भुक्तानी गरिने र आयकर समेत लाग्ने ऋणपत्रको साँवा भुक्तानी भने २०८५ साउन ८ गते हुने सो कार्यालयले जनाएको छ । इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीका रुपमा सहभागी हुन सक्नेछन् । प्रतिस्पर्धी वा अप्रतिस्पर्धी बोलदातालाई क्रमशः ८५ र १५ प्रतिशत अर्थात ८ अर्ब ५० करोड रुपैयाँ र १ अर्ब ५० करोड रुपैयाँ छुट्याइएको छ । अप्रतिस्पर्धी बोलदातालाई छुट्याइएको रकमको लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलदातालाई बिक्री गरिने छ । अप्रतिस्पर्धी बोलदातालाई छुट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलदातालाई समानुपातिक रुपमा उक्त ऋणपत्रको रकम बाँडफाँट गरिनेछ । यसरी उठाइँदैछ आन्तरिक ऋण सरकारले चालु आवमा ३ खर्ब ६२ अर्ब बराबरको आन्तरिक ऋण उठाउने लक्ष्य राखेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले साउनदेखि आगामी असोजसम्म १ खर्ब १३ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने गरी कार्यतालिका समेत सार्वजनिक गरेको छ । कार्यतालिका अनुसार सो अवधिमा अवधिमा १ खर्ब १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्नेछ । कार्यतालिका अनुसार कार्यालयले १० अर्ब रुपैयाँ बराबरका तीन वर्षेदेखि ११ वर्षे अवधिका ११ वटा विकास ऋणपत्र बिक्री गर्नेछ । यस्तै, ५ वर्षे २ अर्ब ५० करोड रुपैयाँको नागरिक बचतपत्र, ५० करोड रुपैयाँको वैदेशिक रोजगार बचतपत्र बिक्री गरिनेछ । यस्तै चालु आर्थिक वर्षको दोस्रो त्रैमास अर्थात् कात्तिकदेखि पुससम्ममा ८५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने कार्यतालिका छ । त्यसमा ट्रेजरी बिल मार्फत २५ अर्ब रुपैयाँ तथा विकास ऋणपत्र मार्फत ६० अर्ब रुपैयाँ उठाइनेछ । उक्त अवधिमा ५ अर्ब रुपैयाँको २८ दिनेदेखि एकवर्षे अवधिको ५ वटा ट्रेजरी बिल बिक्री गरिनेछ । यस्तै, १० अर्ब रुपैयाँका तीन वर्षेदेखि १० वर्षे अवधिका छ वटा विकास ऋणपत्र बिक्री गरिनेछ । कार्यतालिका अनुसार, आगामी माघदेखि चैतसम्ममा १ खर्ब ९ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाइनेछ । सो समयमा ट्रेजरी बिलमार्फत ५० अर्ब रुपैयाँ तथा विकास ऋणपत्रमार्फत ५६ अर्ब रुपैयाँ उठाइनेछ । यस्तै, ५ वर्षे अवधिको २ अर्ब ५० करोड रुपैयाँको नागरिक बचतपत्र तथा ५० करोड रुपैयाँको वैदेशिक रोजगार बचतपत्र बिक्री गरिनेछ । कार्यतालिकाअनुसार आगामी वैशाखदेखि असारसम्ममा ५५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाइनेछ । उक्त अवधिमा ५ अर्ब रुपैयाँका ११ वटा ट्रेजरी बिलमार्फत ५५ अर्ब रुपैयाँ उठाइनेछ । सरकारले गत जेठ १५ गते नै चालु आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको थियो । जसमा चालुतर्फ ११ खर्ब ८० अर्ब ५८ करोड रुपैयाँ, पुँजीगततर्फ ४ खर्ब ७ अर्ब ६९ करोड रुपैयाँ र वित्त व्यवस्थापनमा ३ खर्ब ७५ अर्ब २४ करोड रुपैयाँ विनियोजन गरिएको छ । बजेटमा स्रोतका रूपमा राजस्वबाट १३ खर्ब १५ अर्ब रुपैयाँ, आन्तरिक ऋणबाट ३ खर्ब ६२ अर्ब रुपैयाँ, बाह्य ऋणबाट २ खर्ब ३३ अर्ब रुपैयाँ र अनुदानबाट ५३ अर्ब रुपैयाँ जुटाउने उल्लेख छ । बजेटमा व्यवस्था भए अनुसार कार्यालयले आन्तरिक ऋण उठाउनका लागि विकास ऋणापत्र, ट्रेजरी बिल्स र वैदेशिक रोजगार वचतपत्र बिक्रीको कार्यतालिका सार्वजनिक गरेको हो ।
सेयर बजार अलटाइम हाइ, १२ महिनायताकै उच्च
काठमाडौं । पछिल्लो समय सकारात्मक माहोल बनेपछि सेयर बजार निरन्तर उकालो लागिरहेको छ । निरन्तर उकालो लागिरहेको पुँजी बजार मंगलबार पनि उच्च अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २.८२ प्रतिशत अर्थात् ८१.७७ प्रतिशत बढेर २ हजार ९७४.५० अंक पुगेर बन्द भएको छ । जुन १२ महिनायताकै उच्च हो । यसअघि २०८१ साउनमा ३ हजार अंकमा पुगेपछि बजार निरन्तर ओरालो लागेको थियो। लगानीकर्ता देव गुरागाईं माहोल सकारात्मक भएपछि लगानीकर्ताहरू सक्रिय भएको बताउँछन् । उनका अनुसार यो आर्थिक वर्ष बजार अलटाइम हाइ नै हुने र त्यही लाइनमा बजार रहेको छ । ‘मौद्रिक नीति खुकुलो आएको छ । यसले मनोवैज्ञानिक प्रभाव लगानीकर्ताहरूमा परेको छ । ब्याजदर सस्तो छँदैछ, तरलता फालाफालको अवस्था छ । अर्थतन्त्र सुधार हुने र मौद्रिक नीतिले सहजीकरण गरेको छ भन्नेमा हामी आशावादी छौं,’ उनले भने । उनका अनुसार गत वर्षको नाफाबाट कम्पनीहरुले लाभांश वितरण गर्ने समय सुरु भइसकेकाले पनि लगानीकर्ताहरु थप बजारमा आकर्षित भएका छन् । ‘लाभांश खानुपर्छ भन्ने हिसाबले पनि लगानीकर्ताहरू तातेका देखिन्छन्,’ गुरागाईंले भने । मंगलबार २३६ कम्पनीको सेयर मूल्य बढेको छ भने १४ कम्पनीको सेयर मूल्य घटेको छ । साथै आज दिनभरिमा ३१९ कम्पनीको ४ करोड ३५ लाख ८१ हजार कित्ता सेयर १ लाख ७७ हजार १०१ पटक खरिदबिक्री हुँदा २० अर्ब ८ करोड ५३ लाख ६७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज विभिन्न तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । ट्रेड टावर, शिवम् सिमेन्ट र सान्भी इनर्जीको सेयर मूल्य १० प्रतिशत बढेको छ । साथै, आज नेपाल रिइन्स्योरेन्स कम्पनीको सेयर कारोबार सर्वाधिक भएको छ । यस कम्पनीको ७१ करोड ८८ लाख ८५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै, शिवम् सिमेन्टको ६८ करोड ८३ लाख रुपैयाँ, हिमालयन रिइन्स्योरेन्सको ५६ करोड १ लाख रुपैयाँ, बुटवल पावर कम्पनीको ५१ करोड ६७ लाख रुपैयाँ, ङादी ग्रुप पावरको ४६ करोड ३५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको नेप्सले जनाएको छ । मंगलबार सबै समूहमा हरियाली छाएको छ । आज बैंकिङ समूह २.१० प्रतिशत, विकास बैंक समूह २.२६ प्रतिशत, फाइनान्स समूह १.९४ प्रतिशत, होटल एण्ड तथा पर्यटन समूह ३.४४ प्रतिशत, जलविद्युत समूह १.९० प्रतिशत, लगानी समूह ३.२४ प्रतिशत, जीवन बीमा समूह ४.३६ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ४.६३ प्रतिशत, लघुवित्त समूह ४.०७ प्रतिशत, म्युचुअल फण्ड समूह ०.५६ प्रतिशत, निर्जीवन बीमा समूह २.५६ प्रतिशत, अन्य समूह ३.३६ प्रतिशत र व्यापार समूह १.०१ प्रतिशत बढेको नेप्सेको तथ्याङ्क छ ।