सागर डिष्टिलरीले साउन २८ गतेदेखि आईपीओ बिक्री गर्ने, कसले आवेदन दिन पाउँछन् ?

काठमाडौं । सागर डिष्टिलरीले साउन २८ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले जारी पुँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशत अर्थात् १४ करोड ५२ लाख रुपैयाँको आईपीओ जारी गर्ने भएको हो । कम्पनीले सर्वसाधारण लगानीकर्तालाई प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १४ लाख ५२ हजार कित्ता सेयर बिक्री गर्नेछ । जसमध्ये पहिलो चरणमा १० प्रतिशत अर्थात् १ करोड ४५ लाख २० हजार रुपैयाँको १ लाख ४५ हजार २ सय कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गर्ने भएको हो ।  कम्पनीको आईपीओमा भदौ १ गतेसम्म आवेदन दिन सकिनेछ । यदि सो अवधिभित्र पूर्ण आवेदन नपरेमा भदौ ११ गतेसम्म लम्बिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले न्यूनतम् १० कित्तादेखि अधिकतम ७ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।  कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट सीआस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् । इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन सिङ्गल बी प्लस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको समयमा वित्तीय दायित्व पुरा गर्न सक्ने अवस्थामा उच्च जोखिम रहेको संकेत गर्दछ ।

स्थानीय बासिन्दाले बन्दीपुर केवलकारको सेयर खरिद गर्ने आज अन्तिम दिन

काठमाडौं । बन्दीपुर केवलकार एंव टुरिजमको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले आवेदन दिने आज साउन २० गते अन्तिम दिन रहेको छ । साउन ६ गतेदेखि कम्पनीले जारी पुँजी २ अर्ब ८३ करोड रुपैयाँको २०.७० प्रतिशत अर्थात् ५८ करोड ६० लाख रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ५८ लाख ६० हजार कित्ता सेयर बिक्री खुला गरेको हो । जसमध्ये २ प्रतिशत अर्थात् ५ करोड ६६ लाख रुपैयाँको ५ लाख ६६ हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्र तनहुँको बन्दीपुर गाउँपालिका र आँबुखैरेनी गाउँपालिकाका सबै वडा, भानु नगरपालिका वडा नं. १ र गोरखाको पालुङ्गटार नगरपालिका वढा नं. ७ का स्थानीय बासिन्दालाई छुट्याएको छ । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम २० हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ रहेको छ ।  कम्पनीको आईपीओमा बिक्री प्रबन्धकसँगै केवलकारको तल्लो स्टेसन, बन्दीपुर गाँउपालिका वडा नं. ४, आँबुखैरेनी गाँउपालिकाको कार्यालय, भानु नगरपालिका वडा नं. १ को कार्यालय र पालुङ्गटार नगरपालिका वडा नं. ७ को कार्यालयबाट आवेदन दिन सक्नेछन् । 

माछापुच्छ्रे बैंकको नाफा २ अर्बभन्दा बढी, लाभांश क्षमता ९.२३ प्रतिशत

काठमाडौं । माछापुच्छ्रे बैंकको गत आर्थिक वर्ष २०८१/८२ मा खुद नाफा ९२.४४ प्रतिशत बढेर २ अर्ब १ करोड १४ लाख ६१ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले १ अर्ब ४ करोड ५१ लाख ९९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  समीक्षा वर्षमा बैंकको खुद ब्याज आम्दानी १५.४० प्रतिशत ५ अर्ब ७५ करोड ६७ लाख १६ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले ४ अर्ब ९८ करोड ८१ लाख ९२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।  गत वर्ष बैंकको कुल सञ्चालन आम्दानी १६.५१ प्रतिशत बढेर ७ अर्ब ४४ करोड ६ लाख ७४ हजार रुपैयाँ, सञ्चालन नाफा ९९.९१ प्रतिशत बढेर ३ अर्ब ३३ करोड २ लाख ३८ हजार रुपैयाँ र खुद शुल्क तथा कमिसन आम्दानी १८.१६ प्रतिशत बढेर १ अर्ब २८ करोड ५१ लाख ७६ हजार रुपैयाँ गरेको छ ।  गत वर्ष बैंकको वितरणयोग्य नाफा १ अर्ब ७ करोड २९ लाख ३५ हजार रुपैयाँ रहेको छ । गत वर्षको वितरणयोग्य नाफाका आधारमा बैंकले ९.२३ प्रतिशत लाभांश वितरण गर्ने क्षमता राख्छ । अघिल्लो वर्ष बैंकको वितरणयोग्य नाफा ३५ करोड ९८ लाख रुपैयाँ ऋणात्मक थियो ।  गत वर्ष बैंकको चुक्ता पुँजी ११ अर्ब ६२ करोड १३ लाख ५७ हजार रुपैयाँ, सेयर प्रिमियम ३ करोड ८ लाख ८१ हजार रुपैयाँ र जगेडा कोष ६ अर्ब ३१ करोड १० हजार रुपैयाँ रहेको छ ।  गत वर्ष बैंकको निक्षेप संकलन १६.०९ प्रतिशत बढेर १ खर्ब ८४ अर्ब १७ करोड ६० लाख रुपैयाँ र कर्जा लगानी ११.७४ प्रतिशत १ खर्ब ४१ अर्ब ६३ करोड ६८ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकले १ खर्ब ५८ अर्ब ६४ करोड ६९ लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २६ अर्ब ७५ करोड ४१ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो । नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी ८.३२ रुपैयाँ बढेर १७.३१ रुपैयाँ पुगेको छ । बैंकको मूल्य आम्दानी अनुपात १४.९९ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १६३.८ रुपैयाँ रहेको छ । समीक्षा वर्षमा बैंकको खराब कर्जा पनि घटेको छ । अघिल्लो वर्ष ३.८६ प्रतिशत रहेको खराब कर्जा गत वर्ष घटेर ३.८३ प्रतिशतमा झरेको छ । बैंकका अनुसार अर्थतन्त्रमा देखिएको संरचनागत शिथिलता तथा केही नीतिगत कारणबाट आर्थिक क्रियाकलापमा देखिएको सुस्तताले व्यवसायीक वातावरण सकारात्मक बन्न सकेको छैन । व्यवसायीहरूको मनोबल न्यून रही कर्जाको माग तथा विस्तार उल्लेख्य रूपमा बढ्न नसकेको बैंकले जनाएको छ । साथै बैंकको ब्याज तथा कर्जाको साँवा असुलीलाई समेत नकारात्मक असर पर्न गएको जनाएको छ । यद्यपि बैंकमा रहेको तरलतालाई गुणस्तरीय लगानीमा लगाई बैंकको सूचकांकहरूलाई सुधार गरी अधिकतम प्रतिफल प्राप्त गर्न प्रयत्नरत रहेको बैंकको भनाइ छ ।  बैकको सञ्चालन खर्चमा हुँदै गएको वृद्धिलाई नियन्त्रण गर्दै दीर्घकालिन व्यावसायिक योजना अनुरूप आगामी अवधिमा पनि गुणस्तरीय कर्जा प्रवाह, कर्जाको साँवा तथा ब्याज असुलीलाई विशेष प्राथमिकता, आम्दानीमा वृद्धिका साथै स्मार्ट बैंक बन्ने मूल नारालाई आत्मासात गर्दै प्रभावकारी डिजिटल बैंकिङ्ग सेवा विस्तारलाई मुख्य प्राथमिकतामा राखेको छ ।  माछापुच्छ्रे क्यापिटलमा बैंकको ६९.८५ प्रतिशत र माछापुच्छ्रे सेक्युरिटिजमा सतप्रतिशत लगानी रहेको छ ।