६३ अंकले घट्यो नेप्से, १३ अर्बको कारोबार
काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६३ अंकले घटेर २८५८ बिन्दुमा झरेको छ । आज १६ कम्पनीको सेयर मूल्य बढ्दा २३३ कम्पनीको मूल्य घटेको छ । आइतबार ३१९ कम्पनीको ३ करोड २२ लाख कित्ता सेयर किनबेच हुँदा १३ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार नेपाल रिइन्स्योरेन्स कम्पनीको भएको छ । नेपाल रिइन्स्योरेन्सको ७५ करोड रुपैयाँको कारोबार भएको छ । साथै, हिमालयन रिइन्स्योरेन्सको ७१ करोड, हिमालयन डिस्टीलरीको ५८ करोड, शिवभ् सिमेन्टको ५५ करोड र न्यादी गुप्रको ४२ करोड रुपैयाँ बढीको कारोबार भएको छ । आजको कारोबारमा सबै समूहका सूचक घटेका छन् । अन्य समूह सबैभन्दा धेरै ३.४८ प्रतिशतले घटेका छन् । बैंकिङ २.२७, विकास बैंक १.६६, फाइनान्स १.६६, होटल तथा पर्यटन १.१७, हाइड्रोपावर १.३०, लगानी २.१९, जीवन बीमा २.१६, उत्पादन तथा प्रशोधन २.४४, माइक्रोफाइनान्स ३.०५, निर्जीवन बीमा १.७३ तथा व्यापार १.४३ प्रतिशतले घटेका छन् । आइतबार २ कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । ट्रेड टावर र शिभा श्री हाइड्रोको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
सिवाईसी नेपाल लघुवित्तको नाफा २०८.४४ प्रतिशतले बढ्यो
काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । लघुवित्तले आइतबार सार्वजनिक गरेको विवरण अनुसार लघुवित्तको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढाएको हो । गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले ११ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २०८.४४ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ३ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै लघुवित्तको खुद नाफा उल्लेख्य बढ्न पुगेको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ४१.३० प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी १६.१५ प्रतिशत घटेको छ । त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा २९.४८ प्रतिशत र सञ्चालन मुनाफा २५०.५३ प्रतिशत बढेको छ । समीक्षा अवधिमा लघुवित्तको वितरणयोग्य मुनाफा २ करोड ९७ लाख रुपैयाँबाट बढेर ९ करोड १० लाख रुपैयाँ पुगेको छ । नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि उल्लेख्य बढेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी २९ रुपेयाँ ८० पैसा बढेर ४४ रुपैयाँ ९ पैसा पुगेको छ । असार मसान्तसम्ममा लघुवित्तको वितरणयोग्य प्रतिसेयर आम्दानी ३४ रुपैयाँ १७ पैसा, प्रतिशेयर नेटवर्थ २७७ रुपयाँ १७ पैसा र मूल्य आम्दानी अनुपात ४०.२८ गुणा रहेको छ । प्रति सेयर कूल सम्पत्तिको मुल्य २७६ रुपैंया ८४ पैसा रहेको छ । २६ करोड ६४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ४७ करोड २० लाख रुपैयाँ सञ्चित छ । पछिल्लो १ वर्षमा लघुवित्तको निक्षेप तथा सापटी १०.४९ प्रतिशत र कर्जा ४.९६ प्रतिशत बढेको छ । यसले गर्दा लघुवित्तको वित्तिय सचांकहरु समग्र अवस्था सन्तोष जनक रहेको छ ।
एनआईसी एशिया क्यापिटलले ५० प्रतिशत नगद लाभांश वितरण गर्ने
काठमाडौं । एनआईसी एशिया क्यापिटलले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सेयरधनीहरूलाई ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले नवौं वार्षिक साधारण सभा आगामी भदौ १८ गते बुधबार बिहान ९ बजे थापाथलीस्थित कार्यालयमा आयोजना गर्ने निर्णय गरेको हो । वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने तथा सञ्चालक समितिले प्रस्ताव गरे अनुसार चुक्ता पूँजीको ५० प्रतिशत (कर सहित) नगद लाभांश वितरणको प्रस्ताव स्वीकृतिका लागि प्रस्तुत गरिने कम्पनीले जानकारी दिएको छ । क्यापिटलका अनुसार छोटो समयमा नै ग्राहकहरूमाझ लोकप्रियता हासिल गरिरहेको कम्पनीले हालसम्म सातवटा साधारण सभामार्फत २४० प्रतिशत नगद लाभांश वितरण गरिसकेको छ । नवौं वार्षिक साधारण सभामा प्रस्तावित ५० प्रतिशत लाभांश पारित भएसँगै कुल २९० प्रतिशत नगद लाभांश वितरण गर्ने उपलब्धिमा कम्पनी पुग्नेछ । एनआईसी एशिया क्यापिटलले पूँजी बजारमा लगानीकर्ताको विश्वास बढाउन तथा सेयरधनीलाई दीर्घकालीन प्रतिफल प्रदान गर्ने लक्ष्यसहित सेवा विस्तार र वित्तीय पारदर्शितामा जोड दिँदै आएको जनाएको छ ।