प्रभु बैंकबाट एकैपटक ११ जना संस्थापक बाहिरिदैँ

काठमाडौं । प्रभु बैंकबाट एकैपटक ११ जना संस्थापक सेयरधनी बाहिरिने भएका छन् । बैंकमा रहेको आफ्नो स्वामित्वको सेयर बिक्री गरेर ११ जना संस्थपक सेयरधनी बाहिरिन लागेका हुन् ।  बैंकका अनुसार खिम बहादुर गुरुङले आफ्नो नाममा रहेको १० हजार २५६ कित्ता, निमानन्द खनालले ४५ हजार ६५९ कित्ता, इन्दिरा ढकालले ४७ हजार ८६ कित्ता, कृष्ण प्रसाद नेपाल उपाध्यायले १२ हजार कित्ता, किरण भक्ता श्रेष्ठले १ लाख ६० हजार ३७० कित्ता, अनिल भक्ता श्रेष्ठले १ लाख ७१ हजार ३७८ कित्ता सेयर बिक्रीमा राखेका हुन् । यस्तै, सुनिल भक्त श्रेष्ठले २ लाख ६२ हजार २०६ कित्ता, दिनेश भक्त श्रेष्ठले लाख ५९ हजार १८१ कित्ता, सन्ध्या थापा क्षेत्रीले १६ हजार ८८ कित्ता, चांद शमशेर जबराले ९१ हजार २४७ कित्ता र किशोर कुमार महर्जनले २ लाख ५९ हजार ५९७ कित्ता सेयर बिक्रीमा राखेका हुन् ।  बैंकको उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन पाउने छन् । यदि ३५ दिनभित्र खरिद नगरेमा अन्य सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ । 

मुक्तिनाथ म्युचुअल फण्ड-१ को ३.८० प्रतिशत लाभांश घोषणा

काठमाडौं । मुक्तिनाथ क्यापिटलले मुक्तिनाथ म्युचुअल फण्डको लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको साउन २० गते बसेको बैठकले मुक्तिनाथ म्युचुअल फण्ड–१ का इकाईधनीहरुलाई प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।  कम्पनीका अनुसार गत आर्थिक वर्ष २०८१÷८२ को नाफाबाट मुक्तिनाथ म्युचुअल फण्ड–१ का इकाईधनीहरुलाई ३.८० प्रतिशत लाभांश घोषणा गरेको हो ।  साथै सो बैठकले लाभांश वितरण प्रयोजनार्थ साउन ३० गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय पनि गरेको छ । त्यसैले साउन २९ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम इकाईधनीहरुले सो लाभांश प्राप्त गर्न सक्नेछन् ।  उक्त म्युचुअल फण्डकाृ कोष प्रवद्र्धक मुक्तिनाथ विकास बैंक हो भने योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटल हो ।  

साउन २९ गतेदेखि एनआईसी एशिया इक्वीटी लिङ्कड इन्भेष्टमेन्ट स्किम बिक्री गर्ने

काठमाडौं । एनआईसी एशिया क्यापिटलले साउन २९ गतेदेखि म्युचुअल फण्ड निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले एनआईसी एशिया म्युचुअल फण्ड अन्तर्गत सञ्चालित हुने एनआईसी एशिया इक्वीटी लिङ्कड इन्भेष्टमेन्ट स्किम बिक्री गर्ने भएको हो ।  कम्पनीले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्य दरका १० करोड इकाई बिक्री गर्नेछ । जसमध्ये १५ प्रतिशत अर्थात् १ करोड ५० लाख इकाई कोष प्रवद्र्धक एनआईसी एशिया बैंकलाई सुरक्षित राखेको छ । बाँकी रहेको ८ करोड ५० लाख इकाईमध्ये पहिलो चरणमा ५ करोड इकाई सर्वसाधरण लगानीकर्तालाई बिक्री गरिनेछ । कम्पनीको म्युचुअल फण्डमा लगानीकर्ताहरूले न्यूनतम १०० इकाईदेखि १ करोड इकाईसम्म आवेदन दिन सक्नेछन् । फण्डको इकाईमा छिटोमा भदौ २ गतेसम्म आवेदन दिन सकिनेछ । यदि उक्त समयमा सबै इकाई बिक्री नभए भदौ १२ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । कम्पनीको म्युचुअल फण्ड निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ । लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सिडिएस एण्ड क्लियरिङ्गले सञ्चालनमा ल्याएको मेरो सेयरमार्फत् फण्डमा आवेदन दिन सक्नेछन् ।