सेयर बजारमा ५ अर्बको कारोबार, २ कम्पनीको मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २३ अंकले बढेर २७६३ बिन्दुमा पुगेको छ । आज १८२ कम्पनीको सेयर मूल्य बढ्दा ६८ कम्पनीको सेयर मूल्य घटेको छ । सोमबार ३१७ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ७५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार नेपाल रिइन्स्योरेन्स कम्पनीको भएको छ । नेपाल रिइन्स्योरेन्सको ७६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।  साथै, हिमालयन रिइन्स्योरेन्सको २३ करोड, हिमालयन डिस्टीलरीको २० करोड, राधी विद्युत कम्पनीको १७ करोड र छिमेकी लघसवित्तको १७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । उत्पादन तथा प्रशोधन समूह ०.०५ र म्युचुअफ फण्ड समूह ०.३४ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ ।  बैंकिङ ०.५८, विकास बैंक ०.९५, वित्त ०.२०, होटल तथा पर्यटन ०.४५, जलविद्युत् ०.३२, लगानी ०.३४, र जीवन बिमा समूह ०.५६ प्रतिशतले बढेको छ । त्यस्तै, लघुवित्त १.५०, निर्जीवन बिमा ०.३१, व्यापार ०.०५ र अन्य समूह २.७९ प्रतिशतले बढेको छ । आज २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । नारायणी डेभलपमेन्ट बैंक र विकास हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।  

२० प्रतिशत लाभांश बाँड्ने केबिएलको घोषणा

काठमाडौं । केबिएल सेक्यूरिटिजले लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको साउन २९ गते बसेको बैठकले २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश पारित गर्न कम्पनीले भदौ २० गते बिहान ११ बजे कुमारी बैंकको प्रमुख कार्यालय टंगाल काठमाडौंमा तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सभाले संचालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन पारित, लेखापरीक्षक नियुक्ति गर्ने र पारिश्रमिक तोक्ने र संचालक नियुक्ति गरि संचालक समिति चयन तथा मनोनयन गर्नेछ ।

२७ हजार ६२२ जना सेयरधनीले पाए एशियन लाइफको हकप्रद सेयर

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको हकप्रद सेयर बाँडफाँड गरिएको छ । असार २५ गतेदेखि साउन २० गतेसम्म बिक्री खुला गरेको हकप्रद सेयर भदौ ८ गतेका दिन बाँडफाँड गरिएको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले जनाएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजी ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार ३०७ रुपैयाँको ४२ प्रतिशत अर्थात् १० कित्ता सेयर बराबर नयाँ ४.२ कित्ता सेयर अनुपातमा हकप्रद सेयर जारी गरेको हो ।  कम्पनीले १ अर्ब ४२ करोड ७९ लाख ३१ हजार २४८ रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद सेयर जारी गरेको थियो ।  रितपूर्वक आवेदन दिएका २७ हजार ६२२ जना सेयरधनीलाई १ करोड ३९ लाख २० हजार ८०० कित्ता हकप्रद सेयर बाँडफाँड गरिएको कम्पनीले जनाएको छ । कम्पनीको ३ लाख ५८ हजार ५१२ कित्ता सेयर बिक्री हुन नसकेको कम्पनीले जनाएको छ ।  साथै हक भन्दा बढी माग गरी आवेदन दिएका सेयरधनीहरुको हकमा बाँडफाँडमा नपरेका हकप्रद सेयर बापतको रकम भदौ ११ गतेदेखि आईपीएस मार्फत सम्बन्धित आवेदकको बैंक खातामा रकमान्तर गरिने कम्पनीले जनाएको छ ।