गीतकार शुभ मुकारुङको गीतीसंग्रह ‘यतै अल्मलिएँ’ बिमोचन
काठमाडौं । वरिष्ठ गीतकार शुभ मुकारुङको दोस्रो गीतीसंग्रह पुस्तक ‘यतै अल्मलिएँ’ सार्वजनिक भएको छ । काठमाडौंको पुतलीसडकमा रहेको ग्रीन लिफ फूड होटलमा गीतकार संघ नेपालको आयोजनामा कार्यक्रमबीच उनको पुस्तक लोकार्पण भएको हो । यो भन्दा अगाडि उनको पुस्तक ‘पुग्नु कहाँ थियो’सार्वजनिक भैसकेको छ । कार्यक्रममा गीतकार पुर्वमन्त्री एसपि कोइराला, गीतकार गीतकार संघ पुर्व अध्यक्ष चुडामणिा देवकोटा, गीतकार अमर बान्तु, सास्कृतिक विद भक्त राई, हेमराज राई, गीतकार श्रवण मुकारुङ, गायक दिलेन्द्र मुकारुङ, गीतकार शितल कादम्बिनी, चर्चित कवि गीतकार चन्द्र रानाहोङछा, चर्चित गीतकार बिपिन किरण लगायतका अतिथिहरुको उपस्थिती रहेको थियो । करिब साढे तीन दशकको साहित्यिक यात्राको क्रममा गीतकार संघ पुर्व अध्यक्ष समेत रहेका वरिष्ठ गीतकार मुकारुङले ल्याएको यो गीति संग्रह जीवन यापन, लोक सन्दर्भमा रहेको छ। कार्यक्रमको अध्यक्षता गीतकार संघ नेपाल अध्यक्ष गीतकार वसन्त बित्यासी थापाले गरेका थिए भने गीतकार संघ उपाध्यक्ष वरिष्ठ गीतकार रमेश कोइरालाले उद्घोषण गरेका थिए । कार्यक्रममा विभिन्न गीतकार, संगीतकार, सन्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।
कथा सकिने डरले चलचित्र निर्देशक बनेका गायक सपूत
काठमाडौं । गायक प्रकाश सपूतको परिचय संगीतकार, गीतकार, अभिनेता र निर्देशकका रूपमा स्थापित छ । गीत र श्रव्य दृश्यमार्फत आफ्नो कथालाई व्यक्त गरिरहेका गायक सपूतले चलचित्र निर्माण गरेका छन् । चलचित्रमा पनि माथि उल्लेखित भूमिकामै उनलाई पाउन सकिन्छ । एकै व्यक्तिले यति धेरै भूमिका निर्वाह गर्न कठिनाइ हुँदैन त ? यस जिज्ञासामा गायक सपूतले आउँदा दिनमा एक विधामा मात्र केन्द्रित हुने प्रतिक्रिया दिए । उनी निर्देशित पहिलो चलचित्र ‘वसन्त’मा समावेश पहिलो गीत ‘साँझ पर्यो झमक्कै’ को गीत र श्रव्य दृश्य सार्वजनिक गर्न शनिबार साँझ दरबारमार्गमा रहेको एक चलचित्र भवनमा आयोजना गरिएको पत्रकार सम्मेलनमा गायक सपूतले आफ्नो समूहका कारण यस पटक सफल भए पनि आउँदा दिनमा एक विधाबाहेक अरूको जिम्मेवारी नलिने बताए । उनले भने, ‘आफैँले सबै काम गर्दा गाह्रो नै हुने रहेछ । विशेषतः निर्देशन र अभिनय एकै पटक गर्दा दुवैमा ऊर्जा बाँडिएको महसुस भयो । त्यसैले आउँदो चलचित्रमा म निर्देशक भएमा आफ्नो दृश्यलाई निकै कम राख्छु, नत्र सुनिल विकलाई निर्देशनको जिम्मेवारी दिन्छु र म अभिनयमा मात्र केन्द्रित हुन्छु । किनकि मेरै पछिल्ला कामभन्दा कमजोर नहोस् भन्ने मेरो प्रयास रहन्छ ।’ यस विषयमा अभिनय र निर्देशनसँगै गरिरहेका निश्चल बस्नेत, अर्पण थापा लगायतसँग छलफल गरेको गायक सपूतले बताए । उनले गायनमै व्यस्त हुँदा चलचित्र निर्देशनमा आउनु कथालाई धेरै दर्शकसम्म पुर्याउने चाहना भएको बताए । ‘भोगाइ, देखाइसहितका आफ्ना कथा गीतमार्फत व्यक्त गरिरहेको थिएँ । मलाई ती कथा गीतमै सकाउँछु कि भन्ने लाग्यो । त्यही भएर चलचित्र बनाउने योजनालाई मूर्तरूप दिएको हुँ । यो मजस्ता धेरै मध्यम वर्गीय युवाको कथा हो’, उनले भने । यो चलचित्रको कथामा आफ्नो बालापन र भोगाइ भए पनि आफ्नै जीवनी भने नरहेको गायक सपूतले स्पष्ट पारे । अभिनेत्री स्वस्तिमा खड्काले गायक सपूतले एउटा परिपक्व चलचित्रकर्मी भएर काम गरेको बताइन् । उनले भनिन्, ‘गायक सपूतलाई मैले नयाँजस्तो कहीँकतै पाइनँ । उहाँको काममा परिपक्वता थियो, जसलाई दर्शकले छिट्टै पर्दामा महसुस गर्नुहुनेछ । यो चलचित्रमा जोडिएर शान्ति नामक पात्र बाँच्न पाउँदा आफूलाई भाग्यमानी ठानेकी छु । यो मलाई वर्षौँसम्म सम्झिने पात्र बन्ने छ ।’ सार्वजनिक गरिएको ‘साँझ पर्यो झमक्कै’ गीतमा शब्द, संगीत र स्वर सपूतकै रहेको छ भने गायनमा शान्तिश्री परियारले साथ दिएकी छन्। चलचित्रमा प्रभात पाल ठकुरी, अनुप बराल, कमलमणि नेपाल, प्रकाश घिमिरेलगायत कलाकारले अभिनय गरेका छन् । आर्थिक रूपमा विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षलाई चलचित्रको विषय बनाइएको निर्माण पक्षले जनाएको छ । यो चलचित्र आगामी चैत २२ गतेदेखि प्रदर्शनमा आउने बताइएको छ । रासस
बजारभन्दा बढी लागत, कुल बजेटको ५० प्रतिशत कलाकारको पारिश्रमिक
काठमाडौं । अहिले चलचित्र निर्माण, छायाङ्कनदेखि प्रदर्शनसम्म डिजिटल प्रविधिबाट हुने गरेको छ । डिजिटल प्रविधि भित्रिएपछि चलचित्र निर्माण सहज, व्यवस्थित भएको छ । यसले प्रिन्ट लिएर चलचित्र भवन पुग्नुपर्ने प्रावधान हटाएर एउटै समयमा देशभर चलचित्र प्रदर्शन गर्न सक्ने स्थिति बनायो । पछिल्लो समय प्रविधिकै सहायताले नेपालमात्र नभई विश्वभर एकसाथ चलचित्र प्रदर्शन हुन थालेको छ । प्राविधिक रूपमा सहजता बढेसँगै पुराना चलचित्रकर्मीको उपस्थिति कम देखिएको छ । निर्देशक तुलसी घिमिरे, दयाराम दाहाल, दीपक श्रेष्ठ, नरेश पौड्याल, प्रदीप श्रेष्ठलगायत प्रसिद्ध निर्देशकले कामलाई निरन्तरता दिन सकेका छैनन् । डिजिटल प्रविधिमा चलचित्रको निर्माण सुरु भएपछि उनीहरूको काम सङ्ख्यात्मक हिसाबमा कम भएको पाइन्छ । गत वर्ष २०८० साल पुसमा दर्शकमाझ चलचित्र ‘पर्खी बसेँ तिमीलाई’ ल्याएका निर्देशक दीपक श्रेष्ठले केही समय विविध कारणले विश्राम भएको बताएका थिए । यद्यपि, उनले चलचित्र निर्देशनलाई निरन्तरता दिन सकेका छैनन् । ‘अहिले चलचित्र बनाउनभन्दा दर्शकसम्म पुर्याउन कठिनाइ भएको पाइन्छ,’ उनले भने । निर्देशक ज्ञानेन्द्र देउजाले निर्देशन गरेको पछिल्लो चलचित्र ‘उपहार’ हो । उनले पछिल्लो समय केही नयाँ चलचित्रको काम गरिरहेको बताए । ‘अहिलेको प्रविधिअनुसार चलचित्र निर्माण गर्नुका साथै दर्शक सुहाउँदो प्रस्तुति चाहिन्छ । हामीले दशक आगाडिको शैलीमै काम गर्याैं भने अहिले दर्शकले बेवास्ता गर्नुहुन्छ । म अन्य चलचित्रकर्मीलाई पनि आफूलाई रूपान्तरण गरेर नयाँ सोचका साथ चलचित्रकर्ममा फर्किन आग्रह गर्छु,’ निर्देशक देउजाले भने । उनले विसं २०७९ मा ‘झिङ्गेदाउँ’ मार्फत निर्देशनमा पुनरागमन गरेका थिए । त्यसपछि उनी चलचित्रको कामलाई निरन्तरता दिने बताउँछन् । तर, उनका समकक्षी चलचित्रकर्मीको सक्रियता घटिरहेको छ । ‘अजम्बरी नाता’, ‘डर’, ‘दुई पल’लगायत चलचित्र निर्देशन गरेका निर्देशक प्रदीप श्रेष्ठले नयाँ चलचित्रको तयारी गरे तापनि त्यसलाई पूर्णता दिन सकेका छैनन् । ‘अहिले चलचित्रको लागत बढेको छ । बजारभन्दा बढी लागत गरेर चलचित्र निर्माण गर्न सहज छैन । सोही कारण पनि पुराना चलचित्रकर्मीले निनान्तरता दिन सहज नभएको हो,’ निर्देशक श्रेष्ठले भने, ‘अहिले कलाकारको पारिश्रमिक नै कुल बजेटको ५० प्रतिशतभन्दा बढी हुन्छ । मैले केही वर्षदेखि तयारी गरिरहेको छु, तर काम सुरु गर्न विविध कारणले ढिलाइ भइरहेको छ ।’ डिजिटल प्रविधिसँगै प्राप्त सहजतासँगै प्रचारप्रसारमा परिवर्तन भएको शैली, नयाँ पुस्ताका कलाकारले गर्ने अविश्वास, बढ्दो लागतलगायत समस्याले अहिले लगानी असुरक्षित हुने गरेको पुराना चलचित्रकर्मीहरूको निष्कर्ष थियो । यद्यपि, चलचित्र निर्माण गर्ने तयारी भने उनीहरूले छाडेका छैनन् ।