सुशासन, रोजगारी र उद्यमशील नेपाल रास्वपाको प्राथमिकता हो : पूर्वमन्त्री खनाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवम् काठमाडौं क्षेत्र नं ६ का नवनिर्वाचित सांसद शिशिर खनालले सुशासन, रोजगारी सिर्जना र उद्यमशील नेपाल आफ्नो पार्टीको पहिलो प्राथमिकता भएको बताएका छन् । काठमाडौं क्षेत्र नं ६ अन्तर्गत तारकेश्वर नगरपालिका–९ मा सोमबार आयोजित ‘टोलटोलमा सांसद कार्यक्रम’मा बोल्दै उनले सुशासन, रोजगारी आफूहरूको प्राथमिकता भएको बताएका हुन् ।      पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रहेका नेता खनालले स्थानीय तहमा रास्वपाको सरकार नभएकाले स्थानीय तहसँग मिलेर जनताको समस्याको समाधानमा आफू निरन्तर खटिने बताए ।      काठमाडौं क्षेत्र नं ६ मा खानेपानीको समस्या रहेकाले यसलाई पूरा गर्ने आफ्नो प्रमुख प्राथमिकता भएको उल्लेख गरे । सार्वजनिक सरोकारका विषयलाई निरन्तर संसद्मा पुर्‍याउने उनको भनाइ छ ।      उनले आगामी पाँच वर्ष देश रूपान्तरण गर्नका लागि जनताले रास्वपालाई ठूलो आशा र भरोसा दिएको भन्दै देश रूपान्तरणको अभियानलाई खेर नफाल्ने स्पष्ट पारे । उनले काठमाडौं क्षेत्र नं ६ मा देखिएका समस्या समाधानका लागि आफू जनतासँग निरन्तर संवाद र सम्पर्कमा रहने बताए ।    

४ दलले कटाए समानुपातिकको थ्रेसहोल्ड, राप्रपा र श्रम संस्कृति संघर्ष गर्दै

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ चार राजनीतिक दलले थ्रेसहोल्ड कटाएका छन् । हालसम्म ८५ लाख २५ हजार ४६९ मत गणना भइसकेको निर्वाचन आयोगले जनाएको छ ।  निर्वाचन आयोगको पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीले आवश्यक मत प्राप्त गर्दै थ्रेसहोल्ड पार गरेका हुन् । आयोगले सार्वजनिक गरेको विवरणअनुसार रास्वपाले सबैभन्दा धेरै ४१ लाख १८ हजार १६४ मत प्राप्त गरेको छ । त्यस्तै, नेपाली कांग्रेसले १३ लाख २ हजार ६६ मत प्राप्त गरेको छ । नेकपा एमालेले ११ लाख ६५ हजार ५५८ मत समानुपातिकमा प्राप्त गरेको छ भने नेपाली कम्युनिष्ट पार्टीले ६ लाख ४ हजार  ९२ मत पाएको छ । हालसम्म प्रकाशित विवरणअनुसार रास्वपाले ४८ प्रतिशत लोकप्रिय मत प्राप्त गरेर पहिलो दल बनेको छ । नेपाली कांग्रेस १६ प्रतिशत मतसहित दोस्रो बन्दा एमाले १४ प्रतिशत मतसहित तेस्रो बनेको छ । नेपाली कम्युनिष्ट पार्टीले ७ प्रतिशत मत ल्याएर चौंथो दल बनेको छ । श्रम संस्कृति पार्टीले हालसम्म २ लाख ९७ हजार ६१७ मत प्राप्त गरेको छ । तर उक्त मत थ्रेसहोल्ड कटाउन आवश्यक मतभन्दा कम भएकाले समानुपातिकतर्फ प्रतिनिधित्व पाउने सम्भावना अझै कमजोर देखिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि २ लाख ४३ मत प्राप्त गरेको छ । निर्वाचन आयोग स्रोतका अनुसार विगतमा ३ देखि ४ लाख मत बदर भएको ट्रेण्ड हेर्दा र अहिले पनि सोही अनुपातमा मत बदर भइरहेकोले १ करोड ५ लाख मत सदर हुने सम्भावना रहेको छ । यदि त्यति मत सदर भए भने राष्ट्रिय दल बन्न न्यूनतम ३ लाख १० हजार मत प्राप्त गर्ने दल राष्ट्रिय दल बन्न सक्छ । राप्रपा र श्रम संस्कृति पार्टी अहिले राष्ट्रिय पार्टी बन्ने दौडमा रहेका छन् ।

४ मध्ये २ यातायात व्यवसायीले प्रतिनिधिसभा निर्वाचन जिते

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा होमिएका यातायात व्यवसायीमध्ये दुई जनाले मात्रै जित हासिल गरेका छन् ।  प्रत्यक्ष निर्वाचन प्रणालीमा होमिएका चार यातायात व्यवसायीमध्ये दुई जनाले मात्रै जित हासिल गरेका हुन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्षसमेत विजयबहादुर स्वाँरले कैलाली–२ बाट प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवारी दिएका थिए । तर उनी पराजित भएका छन् । उनको क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केपी खनालले १९ हजारभन्दा बढी मत ल्याएर विजयी भएका छन् । स्वाँरले ७ हजार २ सय मत ल्याएर चौथो स्थान हासिल गरेका छन् । अर्का पश्चिम यातायात व्यवसायी विष्णु खड्काले सुर्खेत–१ बाट उम्मेदवारी दिएका थिए । नेपाली कांग्रेसले खड्कालाई उम्मेदवार बनाएकोमा उनले २८ हजार ८ सय मत ल्याएर जित हासिल गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार ध्रुवकुमार शाहीले १८ हजार ८९० मत ल्याएका थिए । त्यस्तै, रास्वपाबाट उम्मेदवार बनेका कर्णाली यातायातका प्रमुख रमेश सापकोटाले सुर्खेत–२ बाट उम्मेदवारी दिएका थिए । उनले ३० हजार ८ सय मत ल्याएर जित हासिल गरेका छन् । सापकोटाका प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार नारायणकुमार खड्काले १६ हजार ३ सय मत ल्याएका थिए । अर्का यातायात व्यवसायी नेपाली कांग्रेसका उम्मेदवार भागवत मल्लले स्याङ्जा–२ बाट उम्मेदवारी दिएका थिए । तर उनले पराजय भोग्नुपरेको छ । सो क्षेत्रबाट रास्वपाका उम्मेदवार झविलाल डुम्रेले २५ हजारभन्दा बढी मत ल्याएर जित हासिल गरेका छन् । मल्लले २० हजार ८३० मत ल्याएर हार व्यहोर्नुपर्‍यो ।