ललितपुर २ मा रास्वपाको फराकिलो अग्रता
ललितपुर । पछिल्लो मत परिणामअनुसार ललितपुर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) फराकिलो मतले अगाडि देखिएको छ । रास्वपाका उम्मेदवार जगदिश खरेलले नेपाली कांग्रेसका प्रेमकृष्ण महर्जनले भन्दा ६ गुणा बढी मत ल्याएका छन् । खरेलले ३ हजार १९९ मत ल्याउँदा महर्जनले ४९३ मत प्राप्त गरेका हुन् । त्यस्तै, नेकपा एमालेका प्रेम बहादुर महर्जनले ४०७ मत पाएका छन् ।
सुनसरी-१ मा अझै मतगणना हुन सकेन
काठमाडौं । सुनसरी-१ मा अझै मतगणना सुरु हुन सकेको छैन । सर्वदलीय बैठक सम्पन्न बसेर भर्खरै सकिएकाले केही समयमा मतगणना सुरु हुने निर्वाचन अधिकृत दीव्यराज घिमिरेले बताए । उनका अनुसार बैठक सम्पन्न भएकाले प्रतिनिधिको नाम आउन बाँकी छ । ‘मतगणनास्थलमा बस्ने प्रतिनिधिको नाम आएपछि मतगणना सुरु हुन्छ,’ उनले भने,’ १२ बजेदेखि मतगणना सुरु हुन सक्छ ।‘ सुनसरी १ मा कुल मतदाता सङ्ख्या १५०३९३ रहेकोमा कुल ८७८६५ मतदान भएको छ । निर्वाचन कार्यालय अनुसार सुनसरी जिल्लाको ४ निर्वाचन क्षेत्रमा खसेको कुल मतको आधारमा जिल्लामा ६४ प्रतिशत मतदान भएको छ । निर्वाचन कार्यालयद्वारा जारी तथ्याङ्क अनुसार प्रतिशतको हिसाबले निर्वाचन क्षेत्र २ मा ६४ प्रतिशत मतदान भएको छ । त्यहाँ कुल मतदाता १५८९१० रहेकोमा १०१००४ मतदान भएको छ । सुनसरी क्षेत्र ३ मा सबै भन्दा बढी कुल ७१ प्रतिशत मतदान भएको छ । त्यहाँ कुल मतदाता १३४३०२ रहेकोमा कुल ९५१८५ मतदान भएको छ । सुनसरी ४ मा ६२ प्रतिशत मतदान भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । त्यहाँ कुल मतदाता सङ्ख्या १३७३४० रहेकोमा कुल ८५५४६ मतदान भएको जनाइएको छ ।
उपत्यकामा कांग्रेसलाई उदय शमशेरको आशा, करिब दोब्बर मतले अगाडि
ललितपुर । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत ललितपुर क्षेत्र नं. १ मा नेपाली कांग्रेसका उम्मेदवार उदय शम्शेर राणाले आफ्नो अग्रतालाई निकै बलियो बनाएका छन्। बागमती गाउँपालिकाको मतगणना जारी रहँदा राणाले नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारलाई निकै फराकिलो मतान्तरले पछि पारेका हुन् । पछिल्लो प्राप्त विवरण अनुसार राणाको मत परिणाम उनका निकटतम प्रतिद्वन्द्वीको तुलनामा झन्डै दोब्बर देखिएको छ । राणाले ३ हजार १४४ मत प्राप्त गरेका छन् भने एमालेका चेतनाथ सञ्जेलले १ हजार ७५३ मत प्राप्त गरेका छन् । त्यस्तै, रास्वपाका बुद्धरत्न महर्जनले १ हजार ६५२ मत पाएका छन् ।