छठमा सजिएको काठमाडौं (फोटो फिचर)
काठमाडौं । छठ पर्वको मुख्य दिन बिहीबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइ पूजा आराधना गरिन्छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्व भगवान सूर्यको पूजा आराधना गरी मनाइने गरिन्छ । छठका लागि काठमाडौं उपत्यकाका गौरीघाट, थापाथली, कमल पोखरी लगायतका घाटहरू सिंगारिएको छ । सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्परा सुरु भएको मानिन्छ । छठ पर्वको रौनक र सिंघारिएका छठ घाटसम्बन्धी कैद गरेको केही तस्बिरहरु आजको फोटो फिचरमा ।
तस्बिरमा भीआईपीहरूको भाइटीका (फोटोफिचर)
काठमाडौं । तिहारको अन्तिम दिन आइतबार देशका भीआईपीहरूले पनि भाइटीका लगाएका छन्। दिदीबहिनीले आफ्ना दाजुभाइको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै परम्पराअनुसार सप्तरंगी वा पञ्चरंगी टीका लगाएर भाइटीका मनाउने गरिन्छ। यमपञ्चकको अन्तिम दिन आज दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई टीका लगाउने प्रचलन छ । नेपाल पञ्चाङ्ग विकास निर्णायक समितिले आज भाइटीकाको उत्तम साइत ११ बजेर ३७ मिनेटमा रहेको जनाएको थियो । यद्यपि समितिले दिनभर नै टीका लगाउन सकिने पनि जनाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाबाट ११ बजेर ३७ मिनेटको शुभसाइतमा विधिपूर्वक तिहारको टीका लगाएका छन् । राष्ट्रपति पौडेललाई उनीहरूले राष्ट्रपति भवनमा टीका लगाइदिएका हुन् । उनीहरूले स्नेहपूर्वक राष्ट्रपतिलाई ओखर,बदामसहितका सौगात प्रदान गर्नुभयो भने राष्ट्रपतिले पनि बहिनीहरूलाई आत्मीयताका साथ टीका लगाएर दक्षिणा दिएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले बहिनीहरु विष्णुमाया ढकाल, कौशिला कोइराला र विष्णु ओलीको हातबाट शुभसाइतमा टीका लगाएका छन् ।प्रधानमन्त्री ओलीले आज वालुवाटारस्थित सरकारी निवासमा बहिनीहरुबाट भाइटीका लगाएको प्रधानमन्त्री ओलीको स्वकीय सचिवालयले जनाएको छ । यस्तै, नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले बहिनी सुशीला खड्काबाट भाइटीका लगाएका छन् । सभापति देउवाले बूढानीलकण्ठस्थित आफ्नै निवासमा टीका लगाएको उनको स्वकीय सचिवालयले जनाएको छ । यस्तै, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज शुभ साइतमा बहिनीहरुबाट भाइटीका लगाएका छन् । झापा गौरदह–३ स्थित निज निवासमा बहिनी सुशीला कार्की र पार्वता थापाको हातबाट दाजु दिपक कार्कीसँगै उनले टीका लगाएको मुख्यमन्त्री कार्कीका प्रेस सल्लाहकार विक्रम लुँइटेलले जानकारी दिए । मुख्यमन्त्री कार्कीका पाँच जना दिदीबहिनी छिन् । टीका लगाउसँगै उनले नेपालीहरुको मौलिक पर्वले एक आपसमा भावनात्मक एकता बढाउने बताए । उनले नेपालीहरुको संस्कृति, परम्परा र चाडपर्वको संरक्षण गर्नु सबैको दायित्व भएको बताए ।
तिहार बिदाको मौकामा महानगरले पद्मोदय मोडका सटर भत्कायो (फोटोफिचर)
काठमाडौं । काठमाडौं महानगरपालिकाले रामशाह पथमा रहेको पद्मोदय माध्यमिक विद्यालयल परिसरका सटर भत्काएको छ । पद्मोदय माध्यमिक विद्यालयले भाडामा दिएका सटरमा महानगरले डोजर लगाएको हो । यसअघि महानगरले ती सटरमा ताला लगाएको थियो । विद्यालयले भाडामा लगाएका सटर भत्काएपछि सामुदायिक विद्यालयका सिकाइ कक्ष फराकिला र व्यवस्थित बनाउने महानगरको योजना छ । कक्षाकोठा र खेलमैदानअभाव हुँदाहुँदै सामुदायिक विद्यालयले सटर निर्माण गरी भाडामा लगाएको भन्दै काठमाडौं महानगरपालिकाले फागुन ०८० देखि सटर खाली गराउने अभियान थालेको थियो । सोही अभियानपछि सामुदायिक विद्यालयले सटर भत्काएर सिकाइ कक्ष विस्तार गरेका हुन् ।