पहिलो स्याउ मेला असाेज १७ गतेदेखि सुरु, यस्ता छन् परिकार (तस्बिरहरू)

काठमाडौं । काठमाडौंमा स्याउ मेलाको आयोजना गरिने भएकाे छ । मंगलबार ठमेलको होटल मनाङमा गरिएकाे पत्रकार सम्मेलनमा असाेज १७ गतेदेखि स्याउ मेलाकाे आयाेजना हुने जानकारी दिइयाे । होटल मनाङकाे सहकार्यमा किसान भेन्चरले स्याउ मेलाकाे आयाेजना गर्न लागेकाे हाे । आयोजकका अनुसार याे नेपालको पहिलो स्याउ मेला हो । मेला तीन दिन चल्नेछ । नेपाल किसान भेन्चरकी अपरेसन मेनेजर मेलीना राईले नेपाली स्याउलाई प्रवर्द्धन गर्न मेलाकाे आयाेजना गरेको बताइन् । उनले भनिन्,  ‘कतिपय हामी नेपाली जनतालाई नै थाहा छैन- नेपालमा कस्तो स्याउ फल्छ भनेर । नेपालमै राम्रो स्याउ फल्दाफल्दै पनि विदेशबाट आयात भइरहेको छ । नेपाली स्याउकाे प्रवर्द्धन गर्न स्याउ मेलाकाे आयाेजना गरेका हाैं । ‘ स्थानीय किसानसँग स्याउ खरिद गरेर उपभाेक्ता, आपूर्तिकर्ता र उद्याेग विशेषज्ञसँग सिधा सम्पर्क बनाउनू यस मेलाकाे मुख्य उद्देश्य रहेकाे राईले जानकारी दिइन् । मेलामा स्याउ उत्पादनदेखि बजारसम्म पुर्‍याउन कृषकले भाेग्नुपरेका चुनाैतीहरू पनि उजागर गरिने उनले बताइन् । स्याउ मेलाकाे मुख्य नारा ‘याे दशैं स्याउसँग मनाऊँ’, खुसी बाँडाैं, स्वस्थ खानेकुरा खाऔं’ रहेकाे छ । मेलामा जुम्ला, हुम्ला, बाजुरा, मनाङ, मुस्ताङ, जाजरकाेटसहित विभिन्न जिल्लाबाट ल्याइएका ५० मेट्रिक टन स्याउ प्रदर्शनीमा राखी बिक्री गरिने आयाेजकले जनाएकाे छ । मेलामा एप्पल क्रीस्पी, एप्पल पाई, एप्पल ब्रेड, पियोर एप्पल जुस र एप्पल खम्बुच्चा लगायतका परिकारहरू पनि प्रस्तुत गरिनेछ । गत असारमा किसान भेन्चरले प्रथम आँप मेलाकाे आयाेजना गरेकाे थियाे । यी हुन् स्याउ मेलामा प्रस्तुत गरिने परिकारहरू:

खुल्यो धरहरा, दैनिक ६ सयले चढ्न पाउने

धरहरा । तस्बिर : साैगात पुडासैनी/विकासन्यूज काठमाडौं । धरहरा खुलेको छ । नौ वर्षपछि सर्वसाधारणका लागि धरहरा खुलेको हाे । ०७२ को महाभूकम्पमा धरहरा ढलेपछि छेउमा अर्काे धरहरा बनाइएकाे हाे । साेही धरहरा सर्वसाधारणका लागि खुलेको हाे । संविधान दिवसकाे अवसर पारी धरहरा खुला पारिएकाे हाे । सहरी विकास तथा भवन निर्माण विभागले सर्वसाधारणले धरहरा नि:शुल्क रूपमा चढ्न पाउने जनाएकाे छ । प्रत्येक दिन ६ सयजनाले धरहरा चढ्न पाउने जनाइएकाे छ । यसैगरी, प्रत्येक घण्टा एक सयजनालाई धरहरा चढ्न टिकट दिइनेछ । ०७५ को कात्तिकमा धरहरा पुन:निर्माण सुरु भएकाे भएपनि पूर्णरूपमा अझै बनिसकेकाे छैन । तत्कालीन प्रधानमन्त्री केपी ओलीले ०७८ काे वैशाखमा धरहरा नबन्दै सर्वसाधारणका लागि खुला गरेको घोषणा गरेका थिए । धरहरा २ वर्षमै निर्माण सम्पन्न हुनेगरी पुन: निर्माण सुरु भएको थियो । नवनिर्मित धरहरा अहिले ४२ रोपनीमा फैलिएकाे छ । पहिला धरहरा पाँच रोपनी क्षेत्रफलमा फैलिएको थियाे । धरहराबाट खिचिएका तस्बिर   

देशभर संविधान दिवस मनाइँदै (फोटो फिचर)

काठमाडौं । संविधान दिवसको अवसरमा देशभर विभिन्न कार्यक्रम गरेर मनाइएको छ । बुधबार बिहान टुँडिखेलमा भव्य समारोहका बीच सरकारले संविधान दिवस मनाएको हो । समारोहमा नेपाली सेनाको टोलीले शान्तिको प्रतिक परेवा उडाएका छन् । त्यस्तै हेलिकप्टरबाट पुष्पवृष्टि, सुरक्षा निकायका विभिन्न समूहहरूले कवाज र विभिन्न सांस्कृतिक समूहले झाँकी प्रदर्शन गरेका छन् । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधनमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीहरू, सांसद, कर्मचारी, सुरक्षा अंगका प्रमुखलगायत सहभागी छन् । संविधान सभाबाट नयाँ संविधान जारी भएको आज ९ वर्ष पूरा भएको छ । सार्वभौम संविधान सभाबाट २०७२ असोज ३ गते संविधान संघीयतासहितको संविधान जारी भएको थियो । त्यसैले हरेक वर्ष असोज ३ गतेलाई राष्ट्रिय दिवसको रुपमा मनाइन्छ ।