कृषि विकास बैंकको अध्यक्षमा लक्ष्मीप्रपन्न निरौला, आजै लिए सपथ ग्रहण
काठमाडौं । कृषि विकास बैंकको अध्यक्षमा लक्ष्मीप्रपन्न निरौला नियुक्त भएका छन् । नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक निरौलालाई बुधबार बिहान बसेको बैंक सञ्चालक समितिको बैठकले अध्यक्ष पदमा नियुक्त गरेको हो । नियुक्त भएकै दिन उनले नेपाल राष्ट्र बैंकको केन्द्रिय कार्यालय बालुवाटारमा गर्भनर डा. चिरिञ्जीवी नेपालबाट कृषि विकास बैंकको अध्यक्षको पद तथा गोपनियताको सपथ लिएका छन् । उनलाई फागुन २१ गते बिहान बैंकको सञ्चालक समितिमा नियुक्त गरिएको थियो । त्यसपछि बसेको बैंक सञ्चालक समितिको बैठकले उनलाई अध्यक्ष पदमा चयन गरेको हो । नवनियुक्त अध्यक्ष निरौलाले नेपाल राष्ट्र बैंकमा लामो समयसम्म सेवामा रहि कार्यकारी निर्देशक पदबाट अवकास प्राप्त गरेका थिए । साथै, यसअघि विभिन्न बैंक तथा वित्तीय संस्थाको उच्चतहमा रही काम गरेका उनीसँग बैंकिङ्ग क्षेत्रको लामो अनुभव रहेको छ । पद तथा गोपनियताको सपथ कार्यक्रममा नेपाल राष्ट्र बैंकका डिपुटी गर्भनर चिन्तामणी शर्मा र शिवराज श्रेष्ठ, बैंक नियमन विभागका निर्देशक मिना पाण्डे र कृषि विकास बैंकका संचालक समिति सदस्यहरु संजिव पौडेल, हरिप्रसाद पराजुली, बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय, कम्पनी सचिव हिमलाल पौडेल समेतको उपस्थिती थियो ।
पाटा नेपाल च्याप्टरका सिइओ सुरेशले पाए ‘पाटा फेस अफ द एयर’ अवार्ड
काठमाडौं । प्यासिफिक एशिया ट्राभल एशोसिएशन (पाटा) ले पाटा नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत सुरेश सिंह बुडाललाई पाटा फेस ‘अफ द एअर २०२०’ अवार्डबाट सम्मान दिने भएकाे छ । पाटा अन्तरराष्ट्रियद्वारा प्रदान गरिने सो अवार्ड प्रशान्त एशिया क्षेत्रमा आबद्ध युवा पर्यटन व्यक्तिव बुडाललाई दिने निर्णय भएकाे हाे । पाटा अन्तरराष्ट्रियका प्रमुख कार्यकारी अधिकृत हार्डीले उक्त अवार्ड विजेताको रुपमा बुडाललाई बधाई ज्ञापन गर्दै नेपाली पर्यटन क्षेत्रमा पाटाको उद्देश्य र भावना अनुरुप दिगो तथा जिम्मेवार पर्यटन विकास र प्रर्वद्धनमा प्रशंसनीय काम गरेको बताए । हार्डीले पर्यटन शिक्षणमा समेत आबद्ध रहेका बुडाललाई मानव जनशक्ति विकास र युवा पुस्ताको शसक्तिकरणको महत्वबारे राम्रो बुझाई भएको र पाटाको दक्ष जनशक्ति निर्माण अभियान अन्तर्गत नेपालमा विविध कार्यक्रमहरु आयोजना गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरे । पाटा नेपाल च्याप्टरका सिइओ बुडालले दिगो पर्यटन विकासका लागि कटिवद्ध एक अद्धितीय संस्था भएको बताउदै यस्तो संस्थामा काम गर्नु आफ्नो लागि पनि गौरवको विषय भएको बताए । पर्यटन व्यवस्थापनमा काठमाडौं एकेडेमी अफ टुरिजम एण्ड हस्पिटालिटीबाट स्नातकोत्तर गरेका बुडाल सन् २०१३ देखि पाटा नेपाल च्याप्टरमा कार्यरत छन । कार्यकारी अधिृकतको रुपमा पाटामा प्रवेश गरेका बुडालले आफ्नो बहुमुखी सीप तथा दक्षता प्रस्तुत गर्दै पाटाको युवा पुस्तासंगको आबद्धता, मानव संशाधन विकास देशको पर्यटन प्रर्वद्धन सदस्य संस्थाहरुको व्यापार तथा नेटवर्क प्रबद्र्धन गर्ने अभियानमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएका छन ।
खतिवडा पुनः अर्थमन्त्रीमा नियुक्त (विज्ञप्तीसहित)
काठमाडौं । डा. युवराज खतिवडा अर्थमन्त्रीमा पुनः नियुक्त भएका छन् । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले खतिवडालाई अर्थमन्त्रीमा नियुक्त गरेका हुन् । ‘आज मिति २०७६ साल फागुन २१ गते बुधबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सम्माननीय प्रधानमन्त्री श्री के. पी. शर्मा ओलीज्यूको नेतृत्वमा मिति २०७४/११/३ गते गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा ७८ को उपधारा (१) बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा डा. युवराज खतिवडाज्यूलाई मन्त्री पदमा नियुक्त गरी हाल सम्माननीय प्रधानमन्त्री श्री के. पी. शर्मा ओलीज्यूले सम्हाली आउनुभएको अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोक्नु भएको छ,’ विज्ञप्तीमा उल्लेख गरिएकाे छ । खतिवडाले अपरान्ह ४ बजे राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको सपथग्रहण गर्ने कार्यक्रम रहेको छ । राष्ट्रियसभाको आफ्नो कार्यकाल सकिएलगत्तै खतिवडाले मंगलबार मात्रै अर्थमन्त्रीबाट राजीनामा दिएका थिए ।