नेपाल उद्योग परिसंघको महानिर्देशकमा पौड्याल र वरिष्ठ सल्लाहकारमा न्यौपाने नियुक्त
काठमाडौं । नेपाल उद्योग परिसंघको महानिर्देशकमा यादव प्रसाद पौड्याल नियुक्त भएका छन् । यसभन्दा अघि उनी नेपाल व्यवस्थापन संघमा आवद्ध थिए । परिसंघमा यसअघि कार्यरत महानिर्देशक मेघनाथ न्यौपाने परिसंघको वरिष्ठ सल्लाहकारमा नियुक्त भएका छन् । परिसंघका अध्यक्ष सतिश कुमार मोरले परिसंघमा आयोजित एक कार्यक्रममा नवनियुक्त महानिर्देशक र वरिष्ठ सल्लाहकारलाई स्वागत गरेका छन् । साथै, उनले परिसंघलाई थप प्रभावकारी बनाउन नवनियुक्त महानिर्देशक एवं वरिष्ठ सल्लाहकारको सक्रिय सहयोग हुने विश्वास व्यक्त गरे ।
नेप्सेको स्वतन्त्र सञ्चालकमा महर्जन नियुक्त
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को स्वतन्त्र सञ्चालकमा लक्ष्मीप्रसाद महर्जन नियुक्त भएका छन् । नेपाल सरकार तथा अर्थ मन्त्रालय मन्त्रीस्तरको निर्णयबाट महर्जनलाई नेप्सेको उक्त पदमा नियुक्त गरिएको हो । नेप्सेको सञ्चालक समितिका अध्यक्ष लक्ष्मण न्यौपानेले नवनियुक्त सञ्चालक महर्जनलाई माघ २९ गते पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् । नियुक्त भएसँगै महर्जनले आगामी चार वर्षसम्म नेप्सेमा स्वतन्त्र सञ्चालकको पदको जिम्मेवार सम्हाल्ने छन् ।
हिमालयन बैंकको अध्यक्षमा गौतम
काठमाडौं । हिमालयन बैंकको अध्यक्षमा तुलसीप्रसाद गौतम चयन भएका छन् । बुधबार सम्पन्न बैंकको २७औं वार्षिक साधारणसभापछि बसेको सञ्चालक समितिको बैठकले गौतमलाई सर्वसम्मत रूपमा सञ्चालक समितिको अध्यक्ष पदमा चयन गरेको हाे । बैंकलाई प्रतिस्पर्धी बनाउन आफूले सक्दो प्रयास गर्ने अध्यक्ष गौतमले बताए । ‘बैंकलाई राम्रो बनाउने मेरो पहिलो प्राथमिकता हो, ठूलो बैंक बनाउने भन्दा पनि प्रतिस्पर्धी र अब्बल बैंक बनाउन सक्दो प्रयास गर्छु’, अध्यक्ष गौतमले विकासन्युजसँग भने । बैंकमा सर्वसाधारणको १५ प्रतिशत मात्रै सेयर स्वामित्व छ । नेपाल राष्ट्र बैंकले सर्वसाधारणकाे सेयर हिस्सा कम्तिमा ३० प्रतिशत बनाउन निर्देशन दिईसकेको छ । बैंकले प्रमोटर सेयर साधारणमा परिणत गरेर साधारण सेयरको हिस्सा बढाउने रणनीति लिएको छ । त्यस्तै, सभाले संस्थापक सेयरधनीको तर्फबाट ५ जनालाई सञ्चालकमा निर्विरोध निर्वाचित गरेको छ । सभाले आगामी कार्यकालको लागि आशिष शर्मा, प्रचण्डबहादुर श्रेष्ठ, सुनिलबहादुर थापा, फैसल लालानी र तुलसी प्रसाद गौतमलाई संस्थापक सञ्चालकमा चयन गरेको हो । सञ्चालक पदको निर्वाचनको लागि यी ५ जनाको मात्रै उमेदवारी परेकाले सभाले निर्विरोध निर्वाचित गरेको हो ।