लुम्बिनी जनरल इन्स्योरेन्सको सञ्चालकमा रेग्मी र बैकल्पिक सञ्चालकमा ढकाल नियुक्त
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको सञ्चालकमा लुम्बिनी विकास बैंकका नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी नियुक्त भएका छन् । त्यस्तै, बैंकको नायव प्रमुख कार्यकारी अधिकृत पवन ढकाल इन्स्योरेन्सको बैकल्पिक सञ्चालकमा नियुक्त भएका छन् । यसअघि कम्पनीको संस्थापक सेयरधनीहरुको समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व रहेको लुम्बिनी विकास बैंकको तर्फबाट गणेश राज रेग्मीले प्रतिनिधित्व गर्दै आएका थिए । उनको सट्टामा इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले लुम्बिनी विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृत रेग्मी र वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत ढकाललाई बैकल्पिक सञ्चालकमा नियुक्त गरेको हो ।
लगानी बोर्डकाे सीईओमा भेट्ररनहरुबीच प्रतिस्पर्धा हुँदै
काठमाडौं । लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आकांक्षीहरुको दाैडधुप चलेको छ । बोर्डले असार २० गतेभित्र आवेदन माग गरेको छ । मान्यता प्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, व्यवस्थापन, वाणिज्यशास्त्र, कानून, इन्जिनियरिङ्ग, वा विकास सम्बन्धी विषयमा कम्तिमा स्नातकोत्तर उत्तीर्ण गरेको व्यक्तिले बोर्डको प्रमुख कार्यकारी अधिकृतमा आवदेन गर्न सक्ने छ । त्यस्तै, परियोजना विकास, सार्वजनिक खरिद, लगानी प्रवद्र्धक, विकास प्रशासन, बैकिङ्ग, वित्तीय क्षेत्र, औद्योगिक व्यवस्थापन क्षेत्रमा कम्तिमा १० वर्ष काम गरेको अनुभव हुनुपर्नेछ । उक्त पदका लागि झण्डै एक दर्जन मानिसहरु अहिले सक्रिय भएका छन् । त्यसमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी पुनर्निमाण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली लगायत छन् । गभर्नर पदको दौडमा हार खाएपछि डेपुटी गभर्नर शिवाकोटी लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा आकांक्षी देखिएका छन् । पहिला पनि डेपुटी गभर्नरबाट अवकाश पाएका अधिकारी सीईओ भएको उदाहरण छ । शिवाकोटी प्रधानमन्त्रीसँग सिधै पहुँच भएका प्रत्यासी हुन् । डेपुटी गभर्नरमा उनको कार्यकाल करिव ६ महिना बाँकी रहेकोले चार वर्षे कार्यकाल भएको लगानी बोर्डको सीईओ उनले ताकेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा पुर्ननिर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत भएका सुशील ज्ञवालीको कार्यकाल पनि केही महिना मात्र बाँकी छ । त्यसैले उनी प्राधिकरण छोडेर लगानी बोर्डमा फड्कन चाहेको जानकारहरु बताउँछन् । आइक्यानका अध्यक्ष तथा कर्मचारी संचय कोषका पूर्व प्रशासक कृष्ण आचार्य, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा मिनबहादुर श्रेष्ठ, लगानी बोर्डमै परामर्श सेवामा कार्यरत रामकृष्ण खतिवडा लगायत अरु पनि प्रतिस्पर्धामा छन् । डा श्रेष्ठलाई प्रमुख कार्यकारी अधिकृत बनाउन नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले जोड दिएका छन् । तर प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच धेरै विषयमा मतभेद रहेकोले श्रेष्ठलाई बोर्डमा नियुक्ती हुनेमा आशंका गरिएको छ । आचार्यलाई बोर्डको प्रमुख कार्यकारी अधिकृत बनाउन नेकपा कै बरिष्ठ नेता माधव कुमार नेपाल सक्रिय भएको स्रोतको दावी छ । चार्टर्ड एकाउन्टेन्ट आचार्य कुशल प्रशासकको रुपमा स्थापित छन् । खतिवडालाई बोर्डको प्रमुख कार्यकारी अधिकृत बनाउन निजी क्षेत्रका लगानीकर्ताहरुले लविङ शुरु गरेका छन् । त्यस्तै, योजना आयोगका सदस्य सुशील भट्ट पनि बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा इच्छुक रहेको जानकारहरु बताउँछन् । ६ अर्ब रुपैयाँ भन्दा बढी लगानी हुने परियोजनाको स्वीकृत दिने लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पद धेरैको लागि आकर्षणको केन्द्र बनेको छ जहाँ विभिन्न क्षेत्रमा स्थापित भेट्ररन (लामाे अनुभव हासिल गरेका) व्यक्तिहरुबीच प्रतिस्पर्धा हुने निश्चित छ । राष्ट्रिय याेजना आयाेगका उपाध्यक्षकाे संयाेजकत्वमा रहेकाे सिफारिस समितिले तीन जनाकाे नाम मन्त्रिपरिषद्मा पठाउने र मन्त्रिपरषद्ले तीन मध्ये एक जना लगानी बाेर्डकाे प्रमुख कार्यकारी अधिकृत पदमा चार वर्षकाे लागि नियुक्त गर्ने कानुनी व्यवस्था रहेकाे छ । प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत महाप्रसाद अधिकारी नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त भएपछि उक्त पद विगत ३ महिनादेखि खाली भएको थियो ।
प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक खनालद्वारा पदभार
काठमाडाैं । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा राजन खनालले पदभार ग्रहण गरेका छन् । साेमबार प्रतिष्ठानमा आयोजित कार्यक्रममा उनले पदभार ग्रहण गरेका हुन् । कार्यकारी निर्देशक डा खनालले प्रतिष्ठानको भौतिक र दक्ष जनशक्तिको क्षमता विकास गरी कर्मचारीलाई गुणस्तरीय तालिम प्रदान गरिने बताए । उनले प्रतिष्ठानप्रति सरकारको ठूलो आशा रहेकाले शैक्षिक कार्यक्रम सञ्चालन गर्ने दिशातिर लैजाने प्रयास गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा प्रतिष्ठानका अध्ययन निर्देशक वसन्तराज सिग्देलले नयाँ नेतृत्व, नयाँ विचार र नयाँ कार्यशैलीका साथ अघि बढ्नुपर्ने भन्दै प्रतिष्ठानले सरकारको ‘थिंक ट्याङ्क’का रूपमा निर्माण गर्दै जानुपर्ने आवश्यकता रहेको बताए । प्रतिष्ठानका वरिष्ठ अध्ययन निर्देशक विष्णुप्रसाद लम्सालले प्रतिष्ठानलाई अझै नयाँ उचाइमा लैजानुपर्ने बताए । सरकारको सचिव पदबाट सेवानिवृत्त भएका डा खनाललाई केही दिनअघि मात्र मन्त्रिपरिषद् बैठकले प्रतिष्ठानको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । प्रतिष्ठानका कार्यकारी निर्देशकमा पुण्यप्रसाद न्यौपानेको कार्यकाल सकिएपछि डा. खनाल नियुक्त भएका हुन् । रासस