कर्मचारी सञ्चय कोषको अध्यक्षमा रामशरण पुडासैनी

काठमाडौं । कर्मचारी सञ्चय कोषको अध्यक्ष पदमा रामशरण पुडासैनी नियुक्त भएका छन् । अर्थमन्त्रालयका राजश्व सचिव रहेका पुडासैनीले अर्थमन्त्री डा. युवराज खतिवडाबाट कोषको अध्यक्ष पद शपद गरेको कोषका प्रवक्ता ओमकृष्ण श्रेष्ठले बताएका छन् । यसअघि कोषको सो पदमा शिशिरकुमार ढुंगाना रहेका थिए । हाल अर्थसचिवको पदमा सरुवा भएसँगै अर्थमन्त्री डा. खतिवडाले पुडासैनीलाई गत चैत ९ गतेको बैंठकमा अध्यक्षको रुपमा नियुक्त गरेका थिए ।

माछापुच्छ्रे बैंकको सीईओमा सन्तोष कोइराला

काठमाडौं । माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा सन्तोष कोइराला नियुक्त भएका छन् । चैत १० गते बसेको बैंक सञ्चालक समितिको बैठकले रिक्त रहेको सीईओ पदमा कोइरालालाई नियुक्त गरेको हो । यससँगै नवनियुक्त सीईओ कोइरालाले आगामी ४ (चार) वर्षसम्म बैंकको कार्यकारी अधिकृत पदको कार्यभार सम्हाल्ने छन् । विगत ७ वर्षदेखि माछापुच्छ्रे बैंकमा कार्यरत रहेका कोइराला हाल यस बैंकमा कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत छन् । उनीसँग समग्र बैकिङ क्षेत्रको २१ वर्षको अनुभव रहेको छ । उनले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका छन् भने नेदरल्याण्डको इरासमस युनिभर्सिटीबाट ‘एड्भान्स म्यानेजमेन्ट एण्ड लिडरसिप प्रोग्राम’ मा डिप्लोमा गरेका छन् ।

नेपाल लाइफ इन्स्योरेन्सको प्रवक्ताको जिम्मेवारी डीसीईओ प्रसाईंले सम्हाल्ने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी (एनएलआईसी) काे प्रवक्ताको जिम्मेवारी नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) सन्तोष प्रसाईँले सम्हाल्ने भएका छन् । कम्पनीकाे संचालन समितिको बैठकले डीसीईओ प्रसाईँलाई प्रवक्तामा नियुक्त गरी उक्त पदको जिम्मेवारी दिएको हो । डीसीईओ प्रसाईँले अबका दिनमा नियमित कामका साथै कम्पनीको प्रवक्ताको जिम्मेवारी बहन गर्ने कम्पनीले जनाएको छ । यस कम्पनीको चुक्तापुँजी ५ अर्ब ५० करोड रुपैयाँ रहेको छ भने लगानी ८६ अर्ब २६ करोड रुपैयाँ रहेको छ । त्यस्तै, कम्पनीको जीवन बीमा कोष ७७ अर्ब ५९ करोड रुपैयाँ र शेयरधनी कोष ८ अर्ब ५९ करोडभन्दा बढी रहेको छ । कम्पनीले यस आर्थिक वर्षको फागुन मसान्तसम्ममा जम्मा १७ अर्ब ९५ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । १ लाख ५२ हजार ४ सय १२ प्रशिक्षित अभिकर्ता रहेको यस कम्पनीले आफ्ना सेवाग्राहीहरू तथा ग्राहकहरूका लागि हालसम्म देशभर फैलिएका २ सय शाखा तथा उप शाखा कार्यालयहरु मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । ।