एक जना दक्ष जनशक्ति खोज्न सरकारको ५ लाखभन्दा बढी खर्च
काठमाडौं । सरकारी जागिर अझै पनि धेरैको सपना हो । सरकारी जागिर खान पाए आफ्नो जीवन सहज हुने अपेक्षा धेरैको हुने गर्छ । तर, धेरै नेपालीले चाहने सरकारी जागिर दिदा सरकारको मोटो रकम खर्च हुने गरेको पाइएको छ । सरकारले एक जना कर्मचारी भर्ना गर्नको लागि मात्रै ५ लाख रुपैयाँभन्दा बढी खर्च गर्ने गरेको छ । सरकार तथा सरकारी निकायलाई चाहिने जनशक्तिको विज्ञापन गरी लिखित, प्रयोगात्मक र अन्तर्वार्ता समेत गर्ने गर्छ । यस्तो परीक्षा संचालन गर्दा लोकसेवाले एउटा कर्मचारी छनोटको लागि मात्रै ५ लाख १२ हजार रुपैयाँभन्दा बढी खर्च गर्ने गरेको पाइएको हो । लोकसेवाले आर्थिक वर्ष २०७५/७६ मा निजामती सेवातर्फ बढुवा, आन्तरिक, खुल्ला तथा महिला, आदिवासी÷जनजाति, मधेशी, दलित, अपांग, र पिछडिएको क्षेत्रका मावेशी प्रतियोगीतर्फ १ हजार १ सय ७४ पदका लागि २ सय ५७ विज्ञापन प्रकाशन गरी दरखास्त माग गरेको थियो । यसरी माग गरिएको विज्ञापनमा १ लाख ४४ हजार १ सय ७९ दरखास्त परेको थियो । सोही आर्थिक वर्षमा लोकसेवा आयोग र मातहत निकायले ६० करोड १७ लाख ६४ हजार रुपैयाँ खर्च गरेका थिए । आयोगले माग गरेको दरखास्तदेखि कर्मचारीको अन्तिम छनोट प्रक्रियासम्मको लागत हिसाव गर्दा दरखास्त परेको संख्याको आधारमा प्रतिव्यक्ति ४ हजार १ सय ७४ रुपैयाँ पदपूर्ति भएको संख्याको आधारमा प्रतिव्यक्ति ५ लाख १२ हजार ५ सय ७६ रुपैयाँ खर्च भएको छ । संगठित संस्थाबाट लिएको परीक्षा दस्तुर अर्कै खातामा लोक सेवा आयोगले निजामती कर्मचारी भर्ना प्रक्रियामा परीक्षार्थीबाट लिएको परीक्षा दस्तुर राजस्व खातामा जम्मा गर्ने र बजेटमार्फत खर्च गर्ने गर्छ । तर, नेपालको संविधान २०७२ ले निजामती बाहेकका संस्थान तथा अन्य सवै संगठित संस्थाहरुको कर्मचारी भर्नाको अधिकार पनि लोकसेवालाई दिइएको छ । निजामती बाहेकको सेवाको लागि लिइएको परीक्षाको हिसाव किताव भने शंकास्पद देखिएको छ । लोकसेवाले आर्थिक वर्ष २०७५/७६ मा ४ सुरक्षा निकाय र २४ संस्थाको लागि १ हजार १ सय ४४ विज्ञापनमार्फत २७ हजार ५ सय १८ पदमा पदपूर्तिको विज्ञापन प्रकाशित गर्ने सहमति प्रदान गरेको थियो । ती विज्ञापनका लागि लिइएको लिखित परीक्षामा १ लाख ९८ हजार ६ सय ८२ सहभागी भएका थिए भने ३६ हजार ३ सय ६४ जना अन्तरवार्ताको लागि छनौट भएका थिए । लोक सोवाले संगठित संस्थाहरुको पदपूर्तिका लागि लिखित परीक्षा संचालनको लागि विभिन्न संस्थाबाट रकम लिएको थियो । तर, यस्तो रकम आयोगको विविध खातामा राखी भएको खर्च बिल भरपाई सम्बन्धित संस्थामै पठाउने गरेको छ । संस्थानहरुको परीक्षा खर्च निजामती तर्फको जस्तै परीक्षा दस्तुर लिई राजस्वमा जम्मा गरेर बजेट मार्फत खर्च गर्नु उपयुक्त हुने अर्काे संबैधानिक निकाय महालेखा परीक्षकको कार्यालयले औल्याएको छ ।
प्रिमियर इन्स्योरेन्सको सञ्चालकमा ६ जना निर्वाचित
काठमाडौ । प्रिमियर इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिमा ६ जना निर्वाचित भएका छन् । इन्स्योरेन्सको २६औं वार्षिक साधारण सभाले सर्वसाधारण सेयरधनीको तर्फबाट २ जना र संस्थापक सेयरधनीको तर्फबाट ४ जनालाई सञ्चालक पदमा निर्विरोध निर्वाचित गरेको हो । इन्स्योरेन्सले सर्वसाधारणको तर्फबाट केदारनारायण मानन्धर र बलराम श्रेष्ठलाई नियुक्त गरेको छ । त्यस्तै, संस्थापक सेयरधनीको तर्फबाट सुरेश लाल श्रेष्ठ, प्रभु कृष्ण श्रेष्ठ, राजेश लाल श्रेष्ठ र राजन कृष्ण श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । कम्पनीले उनीहरुलाई आगामी चार वर्षको लागि हुने गरी संस्थाको सञ्चालक पदमा निर्वाचित गरेको हो ।
माछापुच्छ्रे बैंकको ब्रान्ड एम्बासडरमा अभिनेत्री स्वेता खड्का, बैंकलाई थप उचाईमा पुर्याउने
काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्नो ब्रान्ड एम्बासडरमा चर्चित अभिनेत्री एवं समाजसेवी स्वेता खड्कालाई नियुक्त गरेको छ । बैंकले आफ्नो व्यवसाय प्रवद्र्धनको लागि खड्कालाई एम्बासडरमा नियुक्त गरेको हो । बिहीबार माछापुच्छ्रे बैंक लाजिम्पाटमा आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला तथा नायिका स्वेता खड्काले सझौतापत्रमा हस्ताक्षर गरेका हुन् । चर्चित अभिनेत्री, समाजसेवी, युवा व्यवसायी एंव अन्य थुपै क्षेत्रमा राम्रो छवि बनाउन सफल खड्काको माध्यमबाट समाजका हरेक तह र तप्कासम्म बैंकको पहुँच पुग्ने विश्वास बैंकले लिएको छ । २० बर्ष लामो इतिहास बोकेको माछापुच्छ्रे बैंकसँग ब्रान्ड एम्बासडरको रुपमा आवद्ध हुन पाउदाँ आफुलाई खुसी लागेको बताउँदै नायिका खड्काले आगामी दिनमा बैंकलाई थप उचाईमा पुर्याउन आफ्नो तर्फबाट आवश्यक भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।