आजदेखि देशभर आर्थिक गणना, ५ हजार जनशक्ति परिचालन

काठमाडौं । आजदेखि देशभर दोस्रो आर्थिक गणना हुँदैछ । त्यसका लागि देशभर नै गणक तथा आवश्यक सुपरीवेक्षक सम्बन्धित क्षेत्रमा पुगिसकेका राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ । कार्यतालिका अनुसार स्थलगत तथ्याङ्क सङ्कलनको काम आगामी असारको पहिलो साताभित्र सम्पन्न हुनेछ । गणनाका लागि करिब ५ हजार जनशक्ति परिचालन गरिएका छन् । अर्थ मन्त्रालयले मुलुकको समग्र औद्योगिक एवं आर्थिक क्षेत्रसँग जोडिएको तथ्याङ्क सङ्कलन गरिने भएकाले यस कार्यमा योगदानका लागि सबैलाई आग्रह गरेको छ । गणनामा उद्योग, व्यवसाय, सेवा क्षेत्र, सहकारी तथा निजी क्षेत्र, सार्वजनिक संस्थाको सङ्ख्या, प्रकार, लगानी, रोजगारी, उत्पादन र सेवा प्रवाहलगायत आर्थिक क्षेत्रका १८ वटा क्षेत्रको आधारभूत विवरण सङ्कलन गरिने छ । त्यसक्रममा देशभर दर्ता भए/नभएका ठूला साना व्यापार प्रतिष्ठान, रोजगारीका हिसाबले धेरै रोजगारी दिएका वा स्वरोजगार भएका प्रतिष्ठान, अन्य उद्योग, कलकारखाना, व्यापार र व्यवसाय, गैरसरकारी सङ्घसंस्था, सरकारी संस्थान, सरकारी वा निजी विद्यालय, अस्पताल लगायतको गणना गरिने छ । आर्थिक गणना तयारीको पूर्वचरणका काम गत फागुन मसान्तमा सम्पन्न भइसकेका छन् । चैतको सुरुआतमा ७७ जिल्ला र थप ७ गरी ८४ कार्यालय स्थापना गरिएका छन् । ती कार्यालय आगामी असार मसान्तसम्म सञ्चालन हुनेछ । यसअघि वि.सं २०७५ मा राष्ट्रिय आर्थिक गणना गरिएको थियो । गणनामा देशभर ९ लाख २३ हजार ३५६ प्रतिष्ठान एवं व्यवसाय सञ्चालनमा रहेको विवरण सार्वजनिक भएको थियो । 

मर्न लागेको भनेर श्रीमानलाई फोन गरेपछि...

काठमाडौं । ललितपुर महानगरपालिका-२७ बस्ने एक जना महिलाले श्रीमान्लाई सामाजिक सञ्जालमा ‘भिडियोकल’ गरी आफू मर्न लागेको भनेर बताएकी छिन् । श्रीमान्ले हस्याङ्फस्याङ गर्दै उक्त कुरा जिल्ला प्रहरी परिसर ललितपुरको प्रहरी कन्ट्रोल नम्बर १०० मा फोन गरेर जानकारी गराए ।  परिसरले तत्कालै प्रहरी वृत्त चापागाउँबाट प्रहरी नायब उपरीक्षक शिला थापाको कमान्डमा टोली खटायो । खोजतलास गर्दा ती महिला सुनाकोठी जङ्गलमा भेटिइन् र उद्धार भयो । सुन्दा एउटा चलचित्रको कहानी जस्तै लाग्ने यो घटना सोमबार साँझको हो ।  समयमा सूचना प्राप्त हुँदा महिलाको अकालमा मृत्यु हुनबाट जोगिएको छ । ती महिलाले मर्न लागेको भनेर परिवारमा भिडियोकल गरेपछि प्रहरीको सक्रियतामा सकुशल उद्धार गरिएको ललितपुर प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक होविन्द्र बोगटीले भने, ‘क्विक रेस्पोन्स ९छिटो प्रतिक्रिया० हुँदा महिलाको सकुशल उद्धार सफल भएको हो, हाम्रो टोलीले भेट्टा उनी डोरी बोकेर जङ्गल जाँदै थिइन्, मोबाइल लोकेसन पच्छ्याउँदै जाँदा फेला परिन् । ’ उनले पारिवारिक कलहका कारण उक्त घटना भएको बताए ।  परिसरले आज एक सूचना जारी गरी भनेको छ,  ‘ललितपुर महानगरपालिका-२७ सुनाकोठी बस्ने ४३ वर्षीया महिलाले आफ्नो श्रीमान्लाई सामाजिक सञ्जालमा भिडियोकल गरी आफू मर्न लागेको जानकारी गराएको भनी निजको श्रीमान्ले जिल्ला प्रहरी परिसरको प्रहरी कन्ट्रोल १०० मा फोनमार्फत जानकारी गराएकामा खबर प्राप्त हुनसाथ तत्काल प्रहरी वृत्त चापागाउँ ललितपुरबाट प्रनाउ थापाको कमान्डमा खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा महिलालाई सुनाकोठीको जङ्गलबाट सकुशल उद्धार गरी निजको अफन्तको जिम्मा लगाएको छ । ’

प्रधानमन्त्री बालेन र समानुपातिक सांसदहरूबीच बुधबार सिंहदरवारमा अन्तरक्रिया हुँदै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका समानुपातिक सांसदहरूसँग बैशाख २ गते बुधबार विशेष अन्तरक्रिया गर्ने भएका छन् ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवारमा मध्याह्न १२ बजेका लागि तय गरिएको उक्त कार्यक्रममा विभिन्न क्लस्टर (वर्ग/क्षेत्र) बाट प्रतिनिधित्व गर्ने सांसदहरू सहभागी हुनेछन् ।  अन्तरक्रियामा सांसदहरूले आ-आफ्नो क्लस्टरका विशिष्ट समस्या, विद्यमान चुनौती र समाधानका लागि चाल्नुपर्ने कदमहरूबारे प्रधानमन्त्रीसमक्ष प्रत्यक्ष रूपमा धारणा राख्नेछन् ।  यसको मुख्य उद्देश्य जनप्रतिनिधि र कार्यपालिकाबीचको दूरी कम गरी सिधा संवाद स्थापित गर्ने, सांसदहरूका सुझावका आधारमा नीति निर्माण र कार्यान्वयन प्रक्रियालाई थप वस्तुपरक बनाउने तथा शासन प्रणालीलाई जनमुखी, उत्तरदायी र पारदर्शी बनाउन मद्दत पुर्‍याउने रहेको बताइएको छ ।  प्रधानमन्त्रीको यो कदमलाई सुशासन र संसदीय उत्तरदायित्व सुदृढ गर्ने एक महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।