संसदीय दलको नेता चयन गर्न कांग्रेस सक्रिय, आज सांसदहरूसँग निर्णायक छलफल
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि गठन गरिएको समितिले प्रतिनिधि सभाका सांसदहरूसँग शुक्रवार (आज) छलफल गर्ने भएको छ । समितिका संयोजक प्रकाश स्नेहीका अनुसार आज अपरान्ह ३ बजे सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा पार्टीका सबै सांसदहरूसँग छलफल तय गरिएको छ । संसदीय दलको नेता चयन प्रक्रियालाई अघि बढाउने उद्देश्यले उक्त बैठक आयोजना गरिएको सहमहामन्त्री समेत रहेका स्नेहीले जानकारी दिए । कांग्रेसले दलको नेता निर्वाचन गर्न नसक्दा संवैधानिक परिषदसमेत अपूर्ण रहेको छ ।
कोरियाबाट फर्किएकालाई ‘उद्यमी’ बनाउँदै कोइका, ५० लाखसम्म ऋण दिने
काठमाडौं । दक्षिण कोरियाबाट फर्केका नेपाली कामदारहरूलाई स्वदेशमै उद्यमशील बनाउन र उनीहरूको स्थायी व्यवस्थाका लागि कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) ले २.५ मिलियन अमेरिकी डलर (करिब ३७ करोड ३२ लाख रुपैयाँ) सहयोग उपलब्ध गराउने भएको छ । कोइका, कृषि विकास बैंक (एडीबीए) र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको रोहबरमा बिहीबार यससम्बन्धी रणनीतिक वित्तीय सहयोग कार्यक्रमको औपचारिक सुरुवात गरिएको छ । ‘नेपालमा कोरियाबाट फर्केका आप्रवासी कामदारहरूको स्थिर पुनर्मिलनका लागि चरणबद्ध सहयोग प्रणाली सुदृढीकरण’ परियोजना अन्तर्गत यो सम्झौता भएको हो । यस कार्यक्रमले कोरियाबाट फर्केर उद्यम गर्न चाहने र कोइकाको उद्यमी तालिम पूरा गरेका व्यक्तिहरूलाई लक्षित गरेको छ । परियोजनाको कुल बजेट ८ मिलियन (१.२ अर्ब नेपाली रुपैयाँ) अमेरिकी डलर रहेको छ । कोइकाले उपलब्ध गराउने २.५ मिलियन डलर रकम ऋणीहरूको ब्याज अनुदानका लागि मात्र प्रयोग गरिनेछ । कृषि विकास बैंकले ऋण लगानीका लागि करिब १.२ अर्ब नेपाली रुपैयाँ बराबरको पुँजी छुट्याएको छ । यसबाट करिब २०० देखि २५० जना उद्यमीले लाभ पाउने अपेक्षा गरिएको छ । प्रति व्यक्ति औसत ५० लाख रुपैयाँसम्म ऋण प्रवाह हुने प्रक्षेपण गरिएको कोइकाले जनाएको छ । कोइका नेपालका कन्ट्री डाइरेक्टर मुहुन कोङका अनुसार यो कार्यक्रम कोरियामा सिकेको सीप र अनुभवलाई नेपालको आर्थिक विकासमा जोड्न डिजाइन गरिएको हो । तालिम प्राप्त व्यक्तिहरूलाई मात्र ऋणमा पहुँच दिइने भएकाले व्यवसाय सफल हुने सुनिश्चितता रहने उनी बताउँछन् । त्यस्तै, श्रम मन्त्रालयका सहसचिव कृष्ण सापकोटाले यो परियोजनाले सीप विकास र वित्तीय साक्षरतामा सफलता पाएको उल्लेख गर्दै अबको वित्तीय पहुँचले कामदारहरूलाई वास्तविक अर्थमा उद्यमी बनाउने विश्वास व्यक्त गरे । कृषि विकास बैंकका नायब महाप्रबन्धक सुदीप दाहालले बैंक उद्यमशीलता विकास र युवा रोजगारी सिर्जनाका लागि पूर्ण प्रतिबद्ध रहेको र यो कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्ने बताए । कोरियाली सरकारको यो सहयोगले फर्किएका कामदारहरूलाई रोजगारी खोज्नेबाट ‘रोजगारी दिने’ का रूपमा रूपान्तरण गर्ने लक्ष्य राखेको छ । सन् १९९१ देखि नेपालको विकास साझेदार रहेको कोइकाले स्वास्थ्य, शिक्षा, कृषि, र सूचना प्रविधि लगायतका क्षेत्रमा सन् २०२५ सम्म २०० मिलियन डलरभन्दा बढी सहयोग गरिसकेको छ । हालसम्म करिब २ हजार ९२१ स्वयंसेवकले नेपालमा सेवा गरिसकेका छन् भने २ हजार २३० भन्दा बढी नेपाली सरकारी अधिकारीहरूले कोरियामा तालिम प्राप्त गरिसकेका छन् । यो नयाँ वित्तीय साझेदारीले दुई देशबीचको सम्बन्धलाई श्रम आप्रवासनबाट दिगो आर्थिक एकीकरणतर्फ थप उचाइमा पुर्याएको छ ।
कांग्रेसको उच्चस्तरीय रणनीतिक बैठक वैशाख ६ मा बस्ने
काठमाडौं । नेपाली कांग्रेसले सातै प्रदेशका संसदीय दलका नेता तथा पार्टीका तर्फबाट बनेका मुख्यमन्त्रीहरूको संयुक्त बैठक बोलाएको छ । पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार वैशाख ६ गतेका लागि बैठक तय गरिएको हो । यद्यपि बैठकको समय भने अझै निर्धारण हुन बाँकी रहेको उनले जानकारी दिए । बिहीबार बसेको कार्यसम्पादन समितिको बैठकले उपसभापति विश्वप्रकाश शर्मालाई प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिहरूबीच समन्वय गर्ने जिम्मेवारी पनि दिएको छ । कांग्रेसले केन्द्र, प्रदेश र स्थानीय तहबीचको समन्वयलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित उक्त जिम्मेवारी तोकेको जनाएको छ । पछिल्लो समय सुदूरपश्चिम र गण्डकी प्रदेशमा हालै गरिएको मन्त्रिपरिषद् हेरफेरको विषयमा समेत छलफल भएको थियो । सभापति गगन थापासँग समन्वय नगरी गरीएको उक्त पुनर्गठनलाई नेतृत्वले नोटिसमा राखेकोले सो विषयमा पनि छलफल गर्न उक्त बैठक बोलाइएको एक नेताले जानकारी दिए । प्रवक्ता चालिसेले सरकार पुनर्गठनको विषय मुख्यमन्त्रीहरूको क्षेत्राधिकार भएका बताए ।