स्थानीय तह थप्न नहुने निवाचन आयोगको जवाफले मधेसी दल रुष्ट

काठमाडौं ।  आगामी जेठ ३१ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि स्थानीय तहको संख्या थपघट र मतपत्र हेरफेर नहुने भएको छ। मधेसकेन्द्रित दलको मागअनुसार सरकारले स्थानीय तहको संख्या बढाउने तयारी बढाए पनि अब स्थानीय तहको संख्या हेरफेर गर्दा जेठ ३१ मा निर्वाचन गर्न नसकिने भन्दै निर्वाचन आयोगले त्यसलाई अस्वीकार गरेको हो । निर्वाचन आयुक्त नरेन्द्र दाहालले दोस्रो चरणको निर्वाचनको तयारी अघि बढिसकेकाले अब संख्या थप्न र मतपत्र हेरफेर गर्न नसकिने बताए । ७ सय ४४ स्थानीय तहमध्ये प्रदेश नं ३,४ र ६ का ३४ जिल्लाका २ सय ८३ स्थानीय तहमा वैशाख ३१ गते निर्वाचन सम्पन्न भइसकेको छ । अब प्रदेश नं १, २, ५ र ७ का ४१ जिल्लाका तीन सय ६१ स्थानीय तहमा जेठ ३१ गते दोस्रो चरणको स्थानीय तह निर्वाचन हुने कार्यक्रम छ। सरकारले दोस्रो चरणमा स्थानीय निर्वाचन हुने स्थानमा संख्या बढाउन उपप्रधान तथा संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारको संयोजकत्वमा कार्यदल गठन गरेको छ। नागरिक दैनिकबाट ।

स्थानीय तहमा आपूर्ति व्यवस्थापन गर्न २ अर्ब बजेट प्रस्ताव, बजार अनुगमन जिम्मा स्थानीय तहलाई नै

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७४/७५ का लागि ७४४ वटा स्थानीय तहमा उपभोक्ता अधिकार संरक्षण तथा आपूर्ति व्यवस्थापन सहज पार्न छुट्टै बजेट विनियोजनको प्रस्ताव गरेको छ । स्थानीय निर्वाचनपछि मुलुक संघिय संरचनामा जाने भएकाले मन्त्रालयले आगामी कार्यक्रम स्थानीय तह केन्द्रीत बनाएको हो । आपूर्ति मन्त्रालयका अनुसार आगामी आर्थिक वर्षका लागि राष्ट्रिय योजन आयोगबाट १ अर्ब १ करोड १० लाख रुपैयाँ सिलिङ प्राप्त भएको छ । आपूर्ति मन्त्रालयले बजेटका लागि १ अर्ब ८७ करोड २९ लाख रुपैयाँ विनियोजन प्रस्ताव गरेको छ, जसमध्ये ७४४ वटा स्थानीय तहका लागि १ अर्ब ८२ करोड १९ लाख रुपैयाँ प्रस्ताव भएको छ । विभागका महानिर्देशक गोकुल धितालले यसपाली मन्त्रालयले प्रत्येक स्थानीय तहमा आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण शाखा कार्यालयको स्थापना गरिने बताए । उनले भने, ‘हाल विभागबाट सञ्चालित अनुगमन तथा उपभोक्ता हित संरक्षण सम्बन्धित विभिन्न कार्यक्रम स्थानीय तहबाट नै सञ्चालनमा ल्याउन हामीले आगामी आर्थिक बजेटमा कार्यक्रमहरु प्रस्ताव गरेका छौं । हाल विभाग तथा सिडिओबाट हुँदै आएको अनुगमन पनि ७४४ वटै स्थानिय तहमा शाखा कार्यलय स्थानपना गरी सञ्चालनमा ल्याउने तयारी छ ।’ हाल मन्त्रालय अन्तर्गतको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले एकमुष्ट पाउने बजेट पाउने गरेको भएपनि यसपाली स्थानीय सरकारबाट सो रकम सम्बन्धीत कार्यालयमा पुग्ने व्यवस्था गर्न लागेको स्रोतले जानकारी दिएको छ । स्थानीय तहका लागि बजेट मन्त्रालयले आगामी आर्थिक बजेटमा सम्पूर्ण स्थानीय तहका लागि एक अर्ब ८२ करोड १९ लाख रुपैयाँ विनियोजनको प्रस्ताव गरेको छ । चारवटा महानगरपालिकाका लागि २ करोड पाँच लाख रुपैयाँ, १३ उपमहानगरपालिकाका लागि ५ करोड ३३ लाख रुपैयाँ, २४६ नगरपालिकाका लागि ७३ करोड ८० लाख रुपैयाँ र ४८१ वटा गाँउपालिकाका लागि १ अर्ब १ करोड एक सय रुपैयाँको प्रस्ताव गरेको छ । स्थानीय सरकारबाटै बजार अनुगमन मन्त्रालय स्रोत अनुसार सरकारले आगामी बजेटमा स्थानीय बजार नियमित अनुगमनाका लागि २९ लाख ७५ हजार रुपैयाँ विनियोजनका लागि प्रस्ताव गरेको छ । हालसम्म जिल्लामा अनुगमन गर्न निरीक्षकको अभाव छ । अहिलेसम्म १२ जिल्लामा बजार संरक्षण अधिकृतको दरबन्दी कायम गरिएको छ । देश स्थानीय तह संरचनामा गइसकेपछि स्थानीय तहबाट नै अनुगमनका लागि कर्मचारी खटाइने र सम्बन्धीत कार्यालयबाट सञ्चालनमा आउने विभागका महानिर्देशक धितालले बताए । मन्त्रालयले महानगरपालिकाहरुमा अनुगमनका लागि ११ लाख २५ हजार रुपैयाँ, उपमहानगरपालिकाका लागि १० लाख ५० हजार रुपैयाँ, नगरपालिकाका लागि सात लाख ५० हजार रुपैयाँ र गाँउपालिकाका लागि ५० हजार रुपैयाँ बजेट प्रस्ताव गरेको छ । कार्यालय निर्माण तथा संगठनात्मक सुधारका कार्यक्रम सरकारले आगामी बजेटमा स्थानीय तहमा उपभोक्ता हक अधिकार संरक्षण तथा आपूर्ति व्यवस्थापन शाखा/इकाई निर्माणका लागि विनियोजन प्रस्ताव गरेको छ । मन्त्रालयले महानगरपालिकामा उपभोक्ता हक अधिकार तथा आपूर्ति व्यवस्थापन शाखा निर्माणका लागि दस लाख रुपैयाँ बजेट विनियोजनको प्रस्ताव गरेको छ । त्यस्तै उपमहानगरपालिकामा उपभोक्ता हक अधिकार संरक्षण तथा आपूर्ति व्यवस्थापन शाखा/इकाई निर्माणका लागि ६ लाख रुपैयाँ, नगरपालिकाका लागि ६ लाख रुपैयाँ र गाँउपालिकाका लागि ६ लाख रुपैयाँको प्रस्ताव गरिएको मन्त्रालयले जानकारी दिएको छ ।

स्थानीय चुनावका ९ नयाँ रेकर्ड, तालमेलमा जालझेलदेखि एकलाैटी किल्लासम्म

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले गत आइतबार सम्पन्न स्थानीय तहको चुनावमा भरतपुर महानगरको ४ नम्बर वडाबाट मत हाले । त्यही वडामा माओवादी केन्द्र होइन, एमालेका हरि आचार्यले वडाध्यक्ष जिते । एमाले अध्यक्ष केपी ओलीले भक्तपुरको सूर्यविनायक नगरपालिकाको वडा नम्बर २ बाट मत हाले । त्यही वडाको नतिजा भने एमालेको पक्षमा आएन । कांग्रेसका कमलराज आचार्यले वडाध्यक्ष जिते । स्थानीय तहको चुनावी नतिजा सार्वजनिक भइरहँदा यस्तै केही रोचक रेकर्ड बनेका छन् । अधिकांश स्थानमा मतगणना सकिँदा कतै उम्मेदवार त, कतै मतका रेकर्ड बनेका छन् । एकलौटी किल्ला भत्किए यो चुनावमा प्रमुख तीन दलकै पकड मानिएको किल्ला भत्किएका छन् । विगतका चुनावमा उनीहरूले पटकपटक वर्चस्व स्थापित गरेका स्थान गुमाउनुपरेको छ । नवलपरासीको गैंडाकोटलाई कांग्रेसको निकै ठूलो पकड रहेको क्षेत्र मानिन्थ्यो । कांग्रेसका महामन्त्री शंशाक कोइरालाको निर्वाचन क्षेत्रसमेत हो । तर गैंडाकोटको त्यो किल्ला यसपटक एमालेले तोडेको छ । मेयरमा एमालेका छत्र पौडेलले २ सय २४ मत अन्तरमा कांग्रेसका गजेन्द्र आलेलाई हराए । काभ्रेको बनेपालाई पनि कांग्रेसकै किल्ला मानिन्थ्यो । त्यहाँ पनि एमालेले मेयर जितेको छ । यो जितलाई ऐतिहासिक मान्दै एमाले अध्यक्ष केपी ओली शुक्रबार बनेपाको विजयसभामा आफैं सहभागी हुन गए । स्याङ्जालाई त कांग्रेसको पकड भएको जिल्ला नै ठानिन्छ । तर त्यहाँका ११ वटा स्थानीय तहमध्ये ७ वटामा एमालेले जितेको छ भने कांग्रेसले चारवटामा चित्त बुझाउनुपरेको छ । पुतलीबजार र गल्याङ नगरमा एमालेले किल्ला गाडेको छ । उता तनहुँमा एमालेको पकड मानिएको शुक्लगण्डकी नगरमा भने यसपटक कांग्रेसले जितेको छ । काभ्रेको पाँचखालमा पनि एमालेको गढ भत्काउँदै कांग्रेस विजयी भएको छ । कांग्रेसले यसअघिका दुई चुनावमा भत्किएका आफने किल्ला गोरखामा फिर्ता ल्याएको छ । सधैं जित्दै आएको गोरखामा विगतका दुइटा संविधानसभाका चुनावमा माओवादीले जितेको थियो । तर माओवादीमा आएको विभाजन र बाबुराम भट्टराईको नयाँ शक्ति पार्टी बनेको फाइदा यसपटक कांग्रेसलाई भयो । गोरखाका ११ वटा स्थानीय तहमध्ये दुई नगरपालिकासहित नौवटामा कांग्रेसले विजयी झन्डा फहराएको छ । माओवादीले दुई सिटमा चित्त बुझाउनुपरेको छ । त्यस्तै नयाँ शक्तिका भट्टराई आफ्नै गृहनगर पालुङटारमा तेस्रो भएका छन् । उनले आफ्नो पकड जोगाउन सकेनन् । बाग्लुङलाई राष्ट्रिय जनमोर्चाको गढ मानिथ्यो । त्यहाँको एउटा गाउँपालिकाबाहेक अन्यमा जनमोर्चाले आफ्नो उपस्थिति देखाउन सकेन । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीकै गृहनगर गल्कोटमा राजमोलाई कांग्रेसले हरायो । त्यहाँ मेयरमा केसीकै भाइ टंक केसी उठे पनि विरासत जोगाउन सकेनन् । बाग्लुङको एउटा बरेङ गाउँपालिकामा मात्र जनमोर्चाले जित हासिल गर्‍यो । यो चुनावमा राप्रपाले जसरी जित्ने अनुमान थियो, त्यो पनि सत्य सावित भएन । धादिङको रुविभ्यालीमा मात्र राप्रपाले आफ्नो इज्जत जोगायो । कमल थापाको गृह जिल्ला हेटौंडा, सांसद विक्रम पाण्डेको चितवन जिल्लामा उसले राम्रो मत ल्याउन सकेन । विगतका चुनावमा जितेका धेरे स्थानमा यसपटक हारे पनि माओवादीले रुकुममा भने सबै स्थानमा जित हासिल गरेको छ । अन्य स्थानमा भने माओवादीका पनि धेरै किल्ला तोडिए । तालमेलमा जालझेल यो चुनावमा दलहरूले तालमेल गरेका थिए । तर तालमेलअनुसार परिणाम भने हासिल भएन । बरु तालमेलका नाममा एकअर्कालाई जालझेल नै गरेको जस्तो परिणाम बाहिर आइरहेको छ । मतगणना भइरहेको स्थानको मतको शैली हेर्दा पनि त्यो स्पष्ट हुन्छ । बाग्लुङको बाग्लुङ नगरपालिकामा मात्र तालमेलअनुसारको परिणाम आयो । त्यहाँ एमाले, राप्रपा र राष्ट्रिय जनमोर्चाको तालमेल थियो । त्यही तालमेलअनुसार एमालेले मेयर, राप्रपाले उपमेयर र वडा अध्यक्षहरूमा राष्ट्रिय जनमोर्चाले जिते । बाग्लुङको जैमिनी र गल्कोटमा तालमेल थियो । तर सफल भएन, कांग्रेसले जित्यो । अन्य स्थानमा तालमेल सफल भएको छैन । अहिलेसम्म चारवटा महानगरपालिकाको प्रारम्भिक मत परिणाम हेर्दा त्यहाँ पनि सफल नहुने हो कि भन्ने आशंका देखिएको छ । लमजुङ र तनहुँमा एमाले र माओवादीको तालमेल पनि सफल भएन । काठमाडौं र ललितपुर महानगरपालिकामा एमाले र राप्रपाको मेयर र उपमेयरमा तालमेल छ । तर उम्मेदवार नै नभएको एमालेको चुनाव चिहन सूर्यमा राप्रपाका उम्मेवारको भन्दा बढी मत आइरहेको छ । त्यस्तै पोखराको महानगरमा मेयरको उम्मेदवार नै नभएको माओवादीको चिहन र चितवनमा उम्मेदवार नभएको कांग्रेसको चुनाव चिहन रूखमा धेरै मत आइरहेको प्रारम्भिक रिपोर्ट छ । भक्तपुरको मध्यपुर ठिमीमा एमाले र नेमकिपाबीच तालमेल भएको थियो । तर प्रमुखमा एमालेले अग्रता लिइरहँदा उपप्रमुखमा नेमकिपाका उम्मेदवार धेरै मत अन्तरले दोस्रो पोजिसनमा छन् । पार्टी होइन, उम्मेदवार स्थानीय चुनावमा प्रमुख र उपप्रमुख पद क्रस गरेर जित्ने पनि भएको छ । एउटा पार्टीले प्रमुख जिते अर्को पार्टीको उम्मेदवार उपप्रमुख जित्ने गरेको देखिएको छ । एमालेले प्रमुखमा १ सय १ स्थान जित्दा उपमेयरमा भने १ सय १५ स्थानमा जित हासिल गरिसकेको छ । प्रमुखभन्दा उपप्रमुख पद बढी जितेको छ । कांग्रेसले भने प्रमुखमा ९७ पद जित्दा उपप्रमुखमा ७६ सिटमात्र छ । कांग्रेसले प्रमुखभन्दा उपप्रमुख पद कम जितेको छ । माओवादीले भने प्रमुख र उपप्रमुख करिब बराबरी जितेको छ । प्रमुखमा ४५ वटा सिट जित्दा उपप्रमुखमा ४६ सिट जितेको रेकर्ड छ । राप्रपाले एक प्रमुख जित्दा ५ जना उपप्रमुख जितेको छ । यस्तो जितको अर्थ हो पार्टीभन्दा व्यक्ति छानेर मतदान गरेको तथ्य यसबाट देख्न सकिन्छ । फराकिलो अन्तर डोल्पाको काइके गाउँपालिकामा जित्ने एमालेका अंगद रानाले ९२० मत ल्याएका छन् भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसका हीराबहादुर रोकायले ८० मत ल्याएका छन् । जित्नेले निकटतम प्रतिद्वन्द्वीले भन्दा अत्यधिक फराकिलो अन्तरमा विजयी भएका हुन् । झिनो मतान्तर डोल्पाका मुडेचुला गाउँपालिका प्रमुखमा दुई मत अन्तरले जितहार भयो । माओवादी केन्द्रका दत्तबहादुर शाहीले ९ सय ३३ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका लंकबहादुर रोकायले ९ सय ३१ मत ल्याए । यी दुईबीचको मतान्तर जम्मा दुई मात्र हो । जुम्लाको हिमा गाउँपालिकामा माओवादी केन्द्रका रजबहादुर शाहीले एमाले प्रत्याशी भैरबहादुर रोकायभन्दा तीन मत बढी ल्याएर अध्यक्ष जिते । उनले १ हजार ३ सय १७ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी एमालेका रोकायले १ हजार ३ सय १४ मतमा चित्त बुझाउनुपर्‍यो । एक सयभन्दा कम मतको अन्तरमा धेरै स्थानमा हारजित भएको छ । नवलपरासीको बुङदिकालिकामा कांग्रेसका दुर्गाबहादुर रानाले एमालेका श्याम श्रेष्ठलाई जम्मा ९२ मतले हराए । नवलपरासीकै देवचुली नगरपालिकामा ६९ मतको अन्तरमा कांग्रेसका पूर्णकुमार श्रेष्ठले एमालेका हरि न्यौपानेलाई मेयरमा हराए । स्याङ्जाको अर्जुनपौचारीमा उपाध्यक्ष पदमा एमालेकी टिममाया गुरुङले कांग्रेसकी माया केसीलाई २६ मतले हराइन् । यही गाउँपालिकाको प्रमुखमा कांग्रेसका दीर्घनारायण अर्यालले ७८ मतको अन्तरमा एमालेका मोहन केसीलाई पछि पारे । सबभन्दा कम मतको विजय मनाङको चामेमा भने सबभन्दा कम मतले जित्ने रेकर्ड बनेको छ । चामे गाँउपालिकामा एमालेका लोकेन्द्रबहादुर घलेले जम्मा २ सय १४ मत ल्याएर प्रमुखमा निर्वाचित भए । उनका निकटतम प्रतिद्वन्द्वी अनिता लामाले १ सय ७३ मत पाइन् । जम्मा ५ सय ११ मतदाता रहेकाले यहाँ विजयी हुन थोरै मत नै काफी थियो । उपाध्यक्षमा कांग्रेसका मनिन्द्रजंग गुरुङले त १ सय ६९ मतमै चुनाव चिते । उनले ९ मतको अन्तरमा एमालेकी टिकनीदेवी गुरुङलाई हराएका हुन् । निर्विरोध विजय त्यसो त सबभन्दा कम मतदाता भएको गाउँपालिका मनाङको नार्फु हो । त्यहाँ कुल मतदाता ३ सय ६२ थिए । त्यस्तै डोल्पाको शेफोक्सुन्डोमा कुल मतदाता १ हजार ४ सय ६६ थिए । तर त्यहाँका मतदाताले मतदानै गर्नुपरेन । नार्फु र शेफोक्सुन्डोमा गाउँपालिका प्रमुख निर्विरोध चयन भए । डोल्पाको डोल्पोबुद्धमा एमालेकी मलमचसी गुरुङले पनि निर्विरोध जितिन् । स्वतन्त्रले मारे बाजी चुनावमा राजनीतिक दलहरूलाई जितेर व्यक्ति जित्नु निकै जटिल काम हो । तर यो चुनावमा पनि स्वतन्त्र उम्मेदवारहरूले पनि प्रमुख पद जितेका छन् । डोल्पाको डोल्पोबुद्धमा पेम्बा गुरुङ, छार्का ताङसोङमा सोनाम गुरुङ र मुस्ताङको दालोमेमा राजु विष्टले स्वतन्त्र ढंगले चुनाव जितेका छन् । सोनामले २४ मतको अन्तरमा एमालेका तोता गुरुङलाई हराएका हुन् । वृद्ध वडाध्यक्ष राजनीतिमा थकाइ भन्ने शब्द हुँदैन । सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकामा कांग्रेसका ८० वर्षीय कर्णबहादुर खडकाले यही चरितार्थ गरे । उनी वडा अध्यक्षमा निर्वाचित भए । त्यस्तै ललितपुर महानगरको वडा १० मा ७७ वर्षे नरसिंह व्यञ्जनकारले स्वतन्त्र ढंगबाट वडा अध्यक्ष जिते । पञ्चायतकालदेखि नै हरेकपटक वडा अध्यक्ष जित्दै आएका उनले यसपटक पनि बाजी मारे । त्यस्तै सल्यानको ढोरचौर ४ मा कांग्रेस र एमालेका वडा अध्यक्षको मत बराबरी भयो । दुवैले बराबर मत ३ सय २१ प्राप्त गरेपछि छिनोफानो गर्न गोलाप्रथा गर्नुपर्‍यो । गोलाप्रथाबाट कांग्रेसका दिनेश बीएमले जिते भने एमालेका देवेन्द्र रोकाले हारे । कान्तिपुर दैनिकबाट ।