तुइनखोलामा सुक्खा पहिरो, नारायणगढ-मुग्लिन सडक अवरुद्ध
काठमाडौं । सुक्खा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ । उक्त सडकअन्तर्गत इच्छाकामना गाउँपालिका-५ तुइनखोलामा सुक्खा पहिरो खसेपछि आज बिहानदेखि सडक अवरुद्ध भएको हो । मुग्लिनस्थित इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार पहिरोले सडक पूर्ण रूपमा बन्द भएको छ । सडक डिभिजन कार्यालयसँगको समन्वयमा पहिरो पन्छाउन प्रहरी टोली परिचालन भएको छ ।
मध्यपूर्व युद्धका कारण करिब १ हजार ५०० पानीजहाज अलपत्र
काठमाडौं । मध्यपूर्व युद्धका कारण करिब १ हजार ५०० पानीजहाज अलपत्र परेको संयुक्त राष्ट्र सङ्घको अन्तर्राष्ट्रिय सामुद्रिकमामिला हेर्ने सङ्गठनले जनाएको छ । सङ्गठनका महासचिवले बिहीबार पनामामा भने, ‘इरानले गरेको नाकाबन्दीका कारण करिब एक हजार ५०० जहाज र तिनका चालक दलका सदस्यहरू खाडीमा फसेका छन् ।’ इजरायल र संयुक्त राज्य अमेरिकाले फेब्रुअरी २८ मा इरानविरुद्ध सुरु गरेको मध्यपूर्वमा भएको युद्धमा तेहरानबाट प्रतिक्रिया (प्रतिशोध) लाई उक्सायो र एक महत्त्वपूर्ण विश्वव्यापी व्यापार मार्ग हर्मुजमा पानीजहाजको स्वतन्त्र आवागमनमा प्रतिवन्ध लगाइएको छ । ‘अहिले हामीसँग लगभग २० हजार चालक दल र लगभग एक हजार ५०० जहाजहरू फसेका छन्,’ आर्सेनियो डोमिन्क्वेजले अमेरिकाको समुद्री सम्मेलनमा सम्बोधनका क्रममा भने ।
जलवायु न्यायका लागि पर्वतीय राष्ट्रहरूबीच सहकार्य आवश्यक: मन्त्री गीता चौधरी
काठमाडौं । वन तथा वातावरण मन्त्री गीता चौधरीले जलवायु परिवर्तनको जोखिम न्यूनीकरण र पर्वतीय राष्ट्रहरूको साझा एजेन्डालाई विश्वव्यापी मञ्चमा सशक्त बनाउन क्षेत्रीय सहकार्यमा जोड दिएकी छन् । ३० औं जलवायु सम्मेलनको अध्यक्ष राष्ट्र ब्राजिलले दक्षिण एशियाका लागि विशेष दूतका रूपमा नियुक्त गरेका डा. अरुणाभ घोषसँगको भेटवार्तामा मन्त्री चौधरीले उक्त कुरा बताएका हुन् । भेटका क्रममा मन्त्री चौधरीले नेपाल न्यून कार्बन उत्सर्जन गर्ने देश भए तापनि जलवायु परिवर्तनको उच्च जोखिममा रहेको उल्लेख गरिन् । ‘हिमाल पग्लिने क्रम तीव्र हुँदा तल्लो तटीय क्षेत्रका समुदायहरू प्रत्यक्ष प्रभावित भइरहेका छन्,’ उनले भने, ‘जलवायु परिवर्तन एक साझा विश्वव्यापी चुनौती भएकाले यसको समाधान सामूहिक प्रयासबाट मात्र सम्भव छ ।’ नेपालले जलवायु संकट सामना गर्न राष्ट्रिय जलवायु नीति, राष्ट्रिय अनुकूलन योजना र उच्च लक्ष्यसहितको एनडीसी ३.० कार्यान्वयनमा ल्याइसकेको जानकारी समेत उनले गराइन् । मन्त्री चौधरीले नेपालले ४६ प्रतिशत वन क्षेत्र संरक्षण गरी कार्बन सञ्चिति र स्वच्छ पानीमार्फत क्षेत्रीय स्तरमा पु¥याएको योगदानको चर्चा गर्दै पर्वतीय राष्ट्रहरूको आवाज बुलन्द गर्न ‘सगरमाथा संवाद’ जस्ता पहलहरू सुरु गरिएको बताइन् । आगामी COP31 लगायतका अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालले भारत लगायत छिमेकी र समान सोच भएका पर्वतीय राष्ट्रहरूसँग सहकार्य गर्दै जलवायु न्यायको एजेन्डालाई अघि बढाउने प्रतिबद्धता समेत व्यक्त गरिन् । भेटमा डा. घोषले जलवायु परिवर्तनका क्षेत्रमा नेपालले गरेका प्रयासहरूको प्रशंसा गर्दै आगामी सम्मेलनहरूमा पर्वतीय मुद्दालाई प्राथमिकतामा राख्ने विषयमा छलफल गरेका थिए ।