मधेस प्रदेशसभामा राप्रपाबाट सरिता ठाकुर सिफारिस

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले मधेस प्रदेशसभामा रिक्त रहेको समानुपातिक सदस्य पदका लागि महोत्तरीको सरिताकुमारी ठाकुरलाई सिफारिस गरेको छ । पार्टीले यसअघि प्रदेशसभा सदस्य रहेकी कञ्चन बिच्छालाई पार्टी अनुशासन उल्लङ्घन गरेको आरोप लगाउँदै सांसद पदबाट फिर्ता बोलाएको थियो । त्यससम्बन्धी विवादमा परेको रिट निवेदन अदालतले खारेज गरेपछि बिच्छा पदमुक्त भएकी थिइन् । बिच्छा पदमुक्त भएपछि रिक्त रहेको समानुपातिकतर्फको सदस्य पदपूर्तिका लागि निर्वाचन आयोगबाट पत्र प्राप्त भएको र सोही ‘क्लस्टर’अन्तर्गतको समानुपातिक सूचीमा दोस्रो नम्बरमा रहेकी ठाकुरलाई सिफारिस गरिएको पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । राप्रपाले प्रदेशसभा सदस्य पद रिक्त भएको संवैधानिक तथा कानुनी प्रक्रियाअनुसार नयाँ नाम सिफारिस गरिएको जनाएको छ ।

ढुङ्गा लागेर वडा सदस्यको मृत्यु

काठमाडौं । बाजुराको बूढीगङ्गा नगरपालिकामा भिरबाट खसेको ढुङ्गा लागेर वडा सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका-३ ताँप्राकी ३७ वर्षीया कल्पनादेवी थापा रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी निरीक्षक नरेशबहादुर शाहीले जानकारी दिए ।  आज (मंगलबार) दिउँसो फालासैनबाट घर फर्किने क्रममा गुइगाड खोलाको पुल नजिकै भिरबाट खसेको ढुङ्गा लागेर उहाँको घटनास्थलमा नै मृत्यु भएको हो ।  स्थानीयले खबर गरेपछि बार्जुगाड प्रहरी चौकीबाट खटिएको टोलीले थापालाई मृतावस्थामा फेला पारेको प्रवक्ता शाहीले बताए ।  थापा विसं २०७९ को स्थानीय तह निर्वाचनमा नेकपा ९एमाले०बाट निर्वाचित भएका थिए । 

‘यो नेपाली शिर उचाली: सिजन-२’ बुधबारदेखि प्रसारण हुँदै

काठमाडौं । राजेश हमाल प्रस्तोता रहेको टेलिभिजन शो ‘यो नेपाली शिर उचाली : सिजन-२’ (बुधबार) भोलिदेखि प्रसारण हुने भएको छ । कार्यक्रम प्रत्येक साता साँझ ८ः३० बजे हिमालय टेलिभिजन मा प्रसारण हुनेछ । साथै, दर्शकले कार्यक्रम ‘यो नेपाली शिर उचाली’ युट्युब च्यानलमार्फत पनि हेर्न सक्नेछन् । कार्यक्रममा हमालले विदेशी भूमिमा संघर्ष गर्दै उल्लेखनीय सफलता हासिल गरेका नेपालीहरूसँग उनीहरूको कर्मथलोमै पुगेर संवाद गर्नेछन् । दोस्रो सिजन अष्ट्रेलिया केन्द्रित रहने जनाइएको छ । अष्ट्रेलियाका विभिन्न सहरमा विविध क्षेत्रमा सफलता हासिल गरेका नेपालीहरूको जीवनकथा कार्यक्रममा समेटिनेछ । मुभ मिडिया प्रालिले निर्माण गरेको कार्यक्रम अष्ट्रेलियामा एसजिटी प्रोडक्सनको सहकार्यमा छायांकन गरिएको हो । कार्यक्रमका कार्यकारी निर्माता विवेक रेग्मीले पहिलो सिजनझैं दोस्रो सिजन पनि १३ भागको हुने जानकारी दिएका छन् । उनका अनुसार कार्यक्रममा प्रस्तुत गरिएका कथाहरू विश्वभर रहेका नेपालीका लागि प्रेरणादायी बन्नेछन् । विदेशमा रहेका नेपालीको ज्ञान, सीप र अनुभवलाई स्वदेशसँग कसरी जोड्न सकिन्छ भन्ने विषयमा कार्यक्रमले सकारात्मक बहसको सुरुआत गर्ने विश्वास उनले व्यक्त गरे । ‘यो नेपाली शिर उचाली’ को पहिलो सिजन गत वर्ष युरोपबाट सुरु गरिएको थियो । निर्माता रेग्मीका अनुसार आगामी दिनमा कार्यक्रममार्फत विश्वभर छरिएका नेपालीहरूको संघर्ष र सफलताका कथाहरू क्रमशः प्रस्तुत गरिँदै जानेछ ।