काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले भोटेकोशी बाढी प्रभावितको राहत तथा उद्धारका लागि सरकारलाई ४० लाख रुपैयाँ सहयोग गरेको छ ।
स्वावलम्बन लघुवित्तका अध्यक्ष प्रा.डा. कुसुम शाक्यले सोमबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई ४० लाख रुपैयाँको चेक हस्तान्तरण गरिन् ।
संस्थाले नेपाल सरकारको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा संस्थागततर्फ २५ लाख रुपैयाँ, सञ्चालकहरूका तर्फबाट ३० हजार ६ सय रुपैयाँ तथा कर्मचारीहरूका तर्फबाट १४ लाख ६९ हजार ४ सय रुपैयाँ गरी कुल ४० लाख रुपैयाँ योगदान गरेको हो ।
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङ, चितवनलगायत जिल्लामा ठूलो जनधनको क्षति भएको भन्दै संस्थाले विपद्को कठिन घडीमा सरकारको राहत तथा उद्धार अभियानमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरेको जनाएको छ ।
स्वावलम्बन लघुवित्तले बाढीमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ । साथै बाढीमा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
संस्थाले आफ्नो वेत्रावती–रसुवा शाखामा कार्यरत कर्मचारीद्वय किरण थापा र राजकुमार दर्जीसहित सम्पर्कविहीन भएका नागरिकको सकुशल खोज तथा उद्धारका लागि समेत नेपाल सरकारसँग अनुरोध गरेको छ।