देशका विभिन्न क्षेत्रमा वर्षा हुने, तराईमा तापक्रम बढ्ने
काठमाडौं । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसको असरका कारण कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा सामान्यदेखि आंशिक बदली रहनेछ । मधेस प्रदेशसहित अन्य प्रदेशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली रहने तथा बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ । महाशाखाले कोशी प्रदेशका हिमाली र पहाडी भू-भागका केही स्थानमा तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ । साथै मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्र तथा अन्य पहाडी र हिमाली भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तापक्रम बढ्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । आज राति पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा सामान्य बदली रहनेछ भने अन्य क्षेत्रमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ । महाशाखाका अनुसार रातिको समयमा पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
पटक-पटक बन्द गर्न निर्देशन दिए पनि अटेर, अब कारबाही गर्ने
काठमाडौं । जिल्ला प्रशासन कार्यालय जुम्लाले नदी क्षेत्रमा अवैध रूपमा गिट्टी, बालुवा तथा ढुङ्गा उत्खनन गर्नेहरूलाई कानुनी कारबाही गर्ने चेतावनी दिएको छ। प्रशासनद्वारा सोमबार आयोजित मनसुन पूर्वतयारी तथा विपद् प्रतिकार्य योजना सम्बन्धी कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले विशेषगरी तिला र हिमा नदीमा अवैध रूपमा नदीजन्य तथा खानीजन्य पदार्थ उत्खनन भइरहेको जानकारी दिए। उनले जिल्लामा सञ्चालनमा रहेका अवैध क्रसर उद्योगलाई पटक-पटक बन्द गर्न निर्देशन दिइए पनि अटेर भइरहेको बताए। विना दर्ता तथा अनुमतिबिना सञ्चालन भएका क्रसर उद्योग तत्काल बन्द गरिने र अटेर गरे कानुनबमोजिम कारबाही गरिने उनले स्पष्ट पारे। नागरिक समाज जुम्लाका संयोजक रामबहादुर महतका अनुसार केही विकास निर्माण आयोजनाले काम सम्पन्न भएपछि पनि क्रसर उद्योग सञ्चालन गरी गिट्टी-बालुवा बिक्री गर्दै आएका छन् । जिल्ला समन्वय समितिका समन्वय अधिकारी रोमबहादुर महतले नदी तथा खोलानालाबाट जथाभावी ढुङ्गा, गिट्टी र बालुवा उत्खनन गरिँदा भविष्यमा ठूलो विपद् निम्तिन सक्ने चेतावनी दिए। चन्दननाथ नगरपालिकाका प्रमुख राजुसिंह कठायतले स्थानीय तहको आन्तरिक राजस्व बढाउने नाममा भइरहेको अव्यवस्थित उत्खननलाई कानुनी दायरामा ल्याइने बताए । तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईंले विपद्का समयमा प्रभावकारी व्यवस्थापनका लागि समयमै प्रतिकार्य योजना तयार गर्न आवश्यक रहेको उल्लेख गरे । कार्यक्रमका सहभागीहरूले क्रसर उद्योगको मापदण्ड कडाइका साथ लागू गर्दै नदीजन्य पदार्थ उत्खननलाई व्यवस्थित गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार नदी किनार क्षेत्रमा अधिकांश उद्योग अवैध रूपमा सञ्चालन भइरहेको भन्दै व्यापक जनगुनासो आउने गरेको छ ।
काँकडभिट्टाबाट सुन र विदेशी मुद्रासहित भारतीय नागरिक पक्राउ
काठमाडौं । झापाको पूर्वी नाका काँकडभिट्टाबाट सशस्त्र प्रहरी र भन्सार कार्यालयको संयुक्त टोलीले सुन र विदेशी मुद्रासहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । मेचीनगर नगरपालिका-६ स्थित सीमा इलाकाबाट जेठ ४ गते उनी पक्राउ परेका हुन् । भारतबाट सिटी सफारी चढेर नेपालतर्फ आउँदै गरेका भारतका अन्दाजी ३९ वर्षीय परम पाठकलाई विशेष सूचनाको आधारमा नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म काँकडभिट्टा र मेची भन्सार कार्यालयको संयुक्त टोलीले शंका लागेर जाँच गर्दा पाठकको साथबाट ५ सय ७० ग्राम सुन बरामद भएको हो । यसका साथै उनको साथबाट २० हजार अमेरिकी डलर, ८५ हजार ४ सय १० भारतीय रुपैयाँ, एक थान भारतीय आधार कार्ड, विभिन्न ब्रान्डका दुई थान मोबाइल, एउटा हार्ड डिस्क, एउटा बैंक चेक र ७ वटा सिमकार्ड समेत बरामद गरिएको छ । पक्राउ परेका भारतीय नागरिक पाठक कुन प्रयोजनका लागि उक्त सुन र विदेशी मुद्रासहित नेपाल प्रवेश गरेका हुन् भन्ने कुरा अझै खुलिसकेको छैन । नियन्त्रणमा लिइएका पाठकलाई बरामद गरिएको सुन, विदेशी मुद्रा र अन्य सामग्रीसहित आवश्यक कानुनी कारबाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टा, झापामा बुझाइएको छ । भन्सार र सुरक्षा निकायले यस विषयमा थप अनुसन्धान अघि बढाएका छन् ।