‘मलमास’ र ‘महँगो इन्धन’ले रोकियो बुद्ध एयरको नेपालगञ्ज-पोखरा उडान

नेपालगञ्ज । करिब पाँच वर्षदेखि सञ्चालन हुँदै आएको बुद्ध एयरको नेपालगञ्ज पोखरा–सिधा उडान केही समयका लागि स्थगित भएको छ । भारतबाट आउने धार्मिक पर्यटकको सङ्ख्या न्यून भएको र इन्धन खर्च बढी भएका कारण पोखरा नेपालगञ्ज सिधा उडान एक महिनाका लागि स्थगन भएको बुद्ध एयर, नेपालगञ्ज स्टेसनका प्रमुख विनितविक्रम शाहले जानकारी दिए ।      एक महिना लामो मलमास परेकाले भारतबाट आउने भारतीय पर्यटक नआएका कारण र इन्धन मूल्य पनि महँगो भएका कारण नेपालगञ्ज पोखरा उडान केही महिनाका लागि स्थगित भएको उनको भनाइ छ । पर्यटन प्रवर्द्धन र भारतीय यात्रुलाई सहजता हुने उद्देश्यले विसं २०७८ साउन १७ गतेदेखि सातामा तीन दिन नेपालगञ्ज पोखरा उडान हुने गरेको थियो । सो उडान मंगलबारदेखि स्थगित भएको हो ।       नेपालगञ्ज–पोखरा सिधा हवाई उडान स्थगित भएपछि पश्चिम नेपालका यात्रु, पर्यटन व्यवसायी र सर्वसाधारण निराश देखिएका छन् । उडान रोकिएपछि अब यात्रुले फेरि सडकमार्गबाट कम्तीमा १४ घण्टा लामो यात्रा गर्नुपर्ने बाध्यता देखिएको छ । एशोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) नेपालगञ्जको पहलमा सो सेवा सञ्चालनमा आएको थियो ।       नाट्टा नेपालगञ्जका संस्थापक अध्यक्ष श्रीराम सिग्देलले बुद्ध एयरले नियमित तालिका अनुसारको उडान रोकेको आधिकारिक जानकारी भएको उल्लेख गर्दै  उडान अनिश्चित बनेको जिकिर गरे । सरकारले गर्नुपर्ने काम निजी क्षेत्रको अग्रसरतामा भएको थियो तर सरकारले पहल लिन नसकेका कारण नै बन्द हुने अवस्थामा पुग्यो उनको भनाइ छ । पैंतिस मिनेटमै पोखरा पुग्न सकिने सिधा उडान स्थगनभएसँगै यात्रु फेरि लामो र सकसपूर्ण सडक यात्रामा निर्भर हुन बाध्य भएका छन् । बुद्ध एयरले १८ सिट क्षमताका बीच क्राफ्ट १९०० डी सिरिज जहाजमार्फत सेवा दिँदै आएको थियो ।      उडान सञ्चालनमा आउँदा पर्यटन क्षेत्रमा उल्लेखनीय उत्साह देखिएको थियो । पोखराबाट नेपालगञ्ज हुँदै बर्दिया राष्ट्रिय निकुञ्ज, कर्णाली चिसापानी र राराजस्ता पर्यटकीय गन्तव्य पुग्न सहज भएको थियो भने भारतको लखनउ, कानपुर र दिल्लीबाट आउने पर्यटकलाई पोखरा आवतजावत गर्न सहज भएको थियो । उडान सुरु हुँदा न्यूनतम भाडा रु चार हजार ९३५ देखि अधिकतम सात हजार ६३५ रुपैयाँसम्म निर्धारण गरिएको थियो । यात्रुको चाप बढ्दै गए दैनिक उडानसम्म विस्तार गर्ने योजना बनाइएको थियो । इन्धनको मूल्यवृद्धिले परेको भाडादर हेरफेरपछि यात्रुको चाप घटेकाले उडान स्थगित गर्नुपरेको बुद्धएयर नेपालगञ्जले जनाएको छ । रासस  

मल आपूर्तिका लागि सरकारको २८ अर्ब ८२ करोड बजेट, झन्डै ५ लाख टनको टेन्डर स्वीकृत

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को साउन १ गतेदेखि २०८३ वैशाख ३० गतेसम्ममा १ लाख ४४ हजार मेट्रिक टन मल मौज्दात रहेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सो बराबरको मल मौज्दात रहेको जनाएको छ । मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को लागि ६ लाख मेट्रिक टन रासायनिक मल आपूर्ति गर्ने वार्षिक लक्ष्य निर्धारण गरिएको छ । यसका लागि लागि मन्त्रालयले कुल २८ अर्ब ८२ करोड १४ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । जसमध्ये हालसम्म ४ लाख ९१ हजार ३ सय मेट्रिक टन मलको टेन्डर स्वीकृत भइसकेको छ । यस अवधिसम्ममा गत आर्थिक वर्षको मार्गस्थ परिमाणसमेत जोडेर कुल ५ लाख ५४ हजार ७४१ दशमलव ३ मेट्रिक टन रासायनिक मल आपूर्ति भएको छ ।  कृषि सामग्री कम्पनीले २ लाख ६१ हजार ५४३ दशमलव ९ मेट्रिक टन युरिया, १ लाख १८ हजार ४०२ दशमलव ५५ मेट्रिक टन डीएपी र १७ हजार ७४४ दशमलव ०५ मेट्रिक टन पोटास आपूर्ति गरेको छ । त्यस्तै, साल्ट ट्रेडिङ कर्पोरेसनले ६६ हजार ८९६ दशमलव १ मेट्रिक टन युरिया, ८२ हजार ४२९ दशमलव ६ मेट्रिक टन डीएपी र ७ हजार ७२५ दशमलव १ मेट्रिक टन पोटास आपूर्ति गरेको छ । मन्त्रालयको तथ्यांक अनुसार यस अवधिमा कुल ३ लाख २८ हजार ४४० मेट्रिक टन युरिया, २ लाख ८३२ दशमलव १५ मेट्रिक टन डीएपी र २५ हजार ४६९ दशमलव १५ मेट्रिक टन पोटास मल मुलुकभित्र भित्रिएको छ । बिक्री वितरणतर्फ आर्थिक वर्ष २०८१/८२ को बाँकी मौज्दातसमेत समावेश गरी हालसम्म कुल ४ लाख ५८ हजार २२३ दशमलव ६ मेट्रिक टन मल किसानहरूलाई बिक्री गरिएको छ । जसमा कृषि सामग्री कम्पनीले २ लाख १४ हजार ७४३ दशमलव ७५ मेट्रिक टन युरिया, १ लाख ११ हजार ५०८ दशमलव ६ मेट्रिक टन डीएपी र ८ हजार ८४१ दशमलव ५ मेट्रिक टन पोटास बिक्री गरेको छ । अर्कोतर्फ साल्ट ट्रेडिङले ५७ हजार ७५८ दशमलव ४ मेट्रिक टन युरिया, ५९ हजार २४१ दशमलव ७५ मेट्रिक टन डीएपी र ६ हजार १२९ दशमलव ६ मेट्रिक टन पोटास बिक्री गरेको छ । समग्रमा देशभर २ लाख ७२ हजार ५०२ दशमलव १५ मेट्रिक टन युरिया, १ लाख ७० हजार ७५० दशमलव ३५ मेट्रिक टन डीएपी र १४ हजार ९७१ दशमलव १ मेट्रिक टन पोटास मल खपत भइसकेको छ । हाल सरकारी गोदामहरूमा कुल १ लाख ४४ हजार ८०८ दशमलव ३ मेट्रिक टन रासायनिक मल मौज्दात अवस्थामा सुरक्षित रहेको मन्त्रालयले जनाएको छ। गोदामहरूमा युरिया ८३ हजार २३ दशमलव १ मेट्रिक टन, डीएपी ४४ हजार ५१ दशमलव ९५ मेट्रिक टन र पोटास १७ हजार ७३३ दशमलव २५ मेट्रिक टन उपलब्ध  छ । यस मौज्दातमा कृषि सामग्री कम्पनीको हिस्सा १ लाख २ हजार ३०३ दशमलव ८५ मेट्रिक टन छ भने साल्ट ट्रेडिङको हिस्सा ४२ हजार ४९९ दशमलव ४ मेट्रिक टन रहेको छ । यसका अतिरिक्त, नेपाल भित्रिने क्रममा बाटोमा रहेको (मार्गस्थ) कुल मलको परिमाण ४ हजार ५८५ दशमलव १५ मेट्रिक टन छ, जसमा कृषि सामग्री कम्पनीको १ हजार ७३८ दशमलव ७५ मेट्रिक टन युरिया र २ हजार ८४६ दशमलव ४ मेट्रिक टन डीएपी समावेश छ। सरकारले कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडमार्फत देशैभर युरिया, डीएपी र पोटास मलको व्यवस्थापन गर्दै आएको छ ।

अवैध लागुऔषधसहित १७ जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १७ जनालाई पक्राउ गरेको छ ।      केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार झापाबाट चार, सिरहा र कैलालीबाट तीन र तीन, मकवानपुर र ललितपुरबाट दुई र दुई तथा उदयपुर, कपिलवस्तु र पर्साबाट एक र एक जना पक्राउ परेका छन् ।        लागुऔषध ब्युरोको टोलीले उनीहरुका साथबाट लागुऔषध खैरो हेरोइन र गाँजा तथा चिकित्सको सिफारिसमा मात्रै खरिद गर्न पाइने ट्रामाडोल र स्पास्मो बरामद गरेको हो ।