पार्टी त्यागेपछि एमालेले गुमायो ८ वटा वडा अध्यक्ष

काठमाडौं । दल त्याग गरेपछि ८ जना वडा अध्यक्षको पद रिक्त भएको छ । निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी- एमाले) बाट निर्वाचित ८ जना वडा अध्यक्षले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश गरेपछि उनीहरूको पद स्वतः रिक्त भएको जनाएको छ । आयोगले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ तथा राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम एमालेको केन्द्रीय समितिबाट प्राप्त निर्णयका आधारमा सम्बन्धित जनप्रतिनिधिहरूको पद रिक्त भएको जनाएको हो ।  आयोगका अनुसार जेठ २६ गते बसेको बैठकले ओखलढुङ्गाको मोलुङ गाउँपालिका-१ का वडा अध्यक्ष कमल बहादुर बानियाँ, मोलुङ-६ का वडा अध्यक्ष कमल तामाङ, चम्पादेवी गाउँपालिका-७ का वडा अध्यक्ष सुरेश कुमार थापा, पाल्पाको माथागढी गाउँपालिका-१ का वडा अध्यक्ष राजकुमार पन्थी, ललितपुरको बागमती गाउँपालिका-७ का वडा अध्यक्ष होमप्रसाद बजगाई, मोरङको लेटाङ नगरपालिका-४ का वडा अध्यक्ष रामकुमार श्रेष्ठ, रंगेली नगरपालिका-१ का वडा अध्यक्ष महेश कुमार खनाल तथा दाङको घोराही उपमहानगरपालिका वडा अध्यक्ष मधुसुदन शर्माको पद स्वतः रिक्त भएको निर्णय गरेको हो ।  राजनीतिक दलसम्बन्धी कानुनी व्यवस्थाअनुसार निर्वाचित जनप्रतिनिधिले दल त्याग गरी अर्को दलमा प्रवेश गरेको अवस्थामा सम्बन्धित पद स्वतः रिक्त हुने व्यवस्था रहेको छ ।

सार्वजनिक जग्गाको बोधिचित्त वृक्षको दाना बिक्रीमा, मूल्य १५ लाख रुपैयाँ

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाले बोधिचित्त वृक्षमा फलेका दाना बिक्री गर्ने भएको छ । कागेश्वरी मनोहरा नगरपालिका–६ स्थित सार्वजनिक जग्गामा रहेको बोधिचित्त वृक्षमा फलेका दाना बिक्री गर्न लागिएको जनाएको छ । नगर कार्यपालिकाको कार्यालयका अनुसार ग्रिनहिल सिटीको मुख्य प्रवेशद्वारको दक्षिणतर्फ प्रहरी चौकी नजिक रमाइलो समाज क्षेत्रमा रहेको सार्वजनिक जग्गाको बोधिचित्त वृक्षमा फलेका दाना बोलपत्र प्रक्रियामार्फत बिक्री गर्न लागिएको हो । नगरपालिकाले बोधिचित्त दाना बिक्रीका लागि न्यूनतम मूल्य १५ लाख ३५० रुपैयाँ तोकेको छ । खरिदकर्ताले वृक्षमा रहेको दाना हालको अवस्थामै सकार्नुपर्नेछ भने आफ्नै संरक्षणमा वृक्षबाट टिपेर लैजानुपर्नेछ । उक्त कार्य कागेश्वरी मनोहरा नगरपालिकाको सार्वजनिक खरिद नियमावली, २०७६ अन्तर्गत आय ठेक्का बन्दोबस्त सम्बन्धी व्यवस्थाअनुसार गरिनेछ ।

कोशीदेखि सुदूरपश्चिमसम्म वर्षा हुने, तराईमा गर्मी कायम रहने

काठमाडौं । आज देशका विभिन्न भू-भागमा आंशिक बदलीदेखि वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ भने तराई भू-भागमा आंशिक बादल लाग्नेछ । यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा मधेस प्रदेशलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानका साथै सुदूरपश्चिम प्रदेशको तराई भू-भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ । आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका थोरै स्थानमा तातो दिन हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति देशभर साधारणतया बादल लाग्नेछ । मधेस प्रदेशलगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भागका केही स्थान तथा कर्णाली प्रदेशलगायत सबै प्रदेशका हिमाली भू-भागका साथै सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै र तराई भू-भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ ।