गोल्छालाई १ करोड धरौटीमा छाड्न आदेश
काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी शेखर गोल्छालाई १ करोड धरौटीमा छाड्न आदेश दिएको छ । मंगलबार (आज) विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य र सदस्यद्वय हेमन्त रावल र विदुर कोइरालाको इजलासले गोल्छालाई १ करोड धरौटीमा छाड्न आदेश दिएको हो । गोल्छा अहिले अदालतमै रही बैंक ग्यारेन्टी प्रक्रियामा लागिरहेको अदालतका सूचना अधिकारी पार्वती हितानले जानकारी दिइन् । धरौटी बुझाएसँगै गोल्छा रिहा हुनेछन् । आजै उनले विशेष अदालतमा उपस्थित भई बयान दिएका थिए । गोल्छा जोडिएको यस मुद्दामा दीपक भट्ट, सुलभ अग्रवालसहित ३४ जना र पाँच कम्पनीलाई प्रतिवादी बनाइएको छ । सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ अन्तर्गत दायर यो मुद्दामा गोल्छाविरुद्ध ५२ करोड ५० लाख रुपैयाँबराबरको बिगो दाबी गरिएको छ । त्यसैगरी, भट्टविरुद्ध २६ अर्ब ६३ करोड २७ लाख ७१ हजार ५९ रुपैयाँ ६८ पैसा बराबरको बिगो दाबी गरिएको छ। त्यस्तै, अग्रवालविरुद्ध २५ अर्ब ५९ करोड २० लाख ६ हजार १२४ रुपैयाँ ३१ पैसा बराबरको बिगो मागदाबी छ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षसमेत रहेका गोल्छालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गत बैशाखको १० गते पक्राउ गरेको थियो । नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदनसमेतका आधारमा पक्राउ गरिएको सीआईबीले जनाएको थियो ।
यी हुन् मन्त्रिपरिषद बैठकका निर्णयहरू
काठमाडौं । मंगलबार (आज) बसेको मन्त्रिपरिषद बैठकले विभिन्न निर्णय गरेको छ । सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले बैठकले ५ निर्णय गरेको जानकारी दिए । यी हुन् मन्त्रिपरिषद बैठकका निर्णयहरू : १. नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालन हुने एम्बुलेन्स र शव वाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क र मूल्य अभिवृद्धि करमा पूर्ण रूपमा छुट प्रदान गर्ने । २. सुनसरी/सिराहा जिल्लामा भएको प्रदर्शनको क्रममा मृत्यु भएका मृतक व्यक्तिहरू सुनसरी जिल्लाका ओमप्रकाश मेहता, जयप्रकाश मेहता, रविन्द्रकुमार मेहता र सिराहा जिल्लाका गनेशकुमार यादवलाई सहिद घोषणा गर्ने । ३. पोर्चुगल सरकारलाई काठमाडौंमा कन्सुलर कार्यालय (कन्सुलर अफिस) खोल्न सहमति दिने । ४. वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक पदमा बाराका निर्मलकुमार उप्रेतीलाई नियुक्ति गर्ने । ५. पूर्वमहालेखापरीक्षक टंकमणि शर्मा दङ्गालको संयोजकत्वमा गठित एनसेलको सेयर खरिद बिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन, २०८० सार्वजनिक गर्ने ।
सुनसरी र सिरहाका ४ जनालाई सहिद घोषणा गर्ने मन्त्रिपरिषद्को निर्णय
काठमाडौं । सरकारले सुनसरी र सिरहा जिल्लामा घटेको घटनामा ज्यान गुमाउने ४ जनालाई सहिद घोषणा गर्ने भएको छ । मंगलबार (आज) बसेको मन्त्रिपरिषद् बैठकले ४ जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको हो । सुनसरीमा ज्यान गुमाएका ओमप्रकाश मेहता, जयप्रकाश मेहता र रवीन्द्र मेहता र त्यस्तै, सिरहामा ज्यान गुमाएका गणेश यादवलाई सहिद घोषणा गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।