काठमाडौं । सेयर ‘कर्नरिङ’ तथा मिलेमतोमा सेयर कारोबार गरेको आरोप लागेका प्रतिवादी शेखर गोल्छाले आफूले कुनै कसुर नगरेको दाबी गर्दै आरोप अस्वीकार गरेका छन् ।
मंगलबार (आज) बयानका लागि इजलाससमक्ष उपस्थित गोल्छाले अनुसन्धान अधिकारी र अदालतलाई दिएको बयानमा हिमालयन रि–इन्स्योरेन्सको अध्यक्षका रूपमा आफूले कुनै कार्यकारी अधिकार प्रयोग नगरेको बताएका छन् ।
कम्पनीको तर्फबाट व्यावसायिक प्रयोजनका लागि कति रकम कहाँ परिचालन भयो भन्ने विषय कार्यकारी तहको जानकारीको विषय भएको उनले बयानका क्रममा उल्लेख गरेका छन् ।
गोल्छाले आफ्नो भूमिका कार्यकारी प्रकृतिको नभएको स्पष्ट पार्दै आफूलाई सेयर ‘कर्नरिङ’ गरेको तथा दीपक भट्टलगायतका प्रतिवादीसँग मिलेमतो गरेको आरोपमा कुनै सत्यता नरहेको दाबी गरेका छन् ।
उनले आफूले कुनै सेयर खरिद–बिक्रीसमेत नगरेको बयान दिएका छन् । ब्रोकर नम्बर ५५ लाई पठाइएको ५२ करोड ५० लाख रुपैयाँ भने प्रतिवादी सुलभ अग्रवालको विश्वासमा परेर बैंकिङ माध्यमबाट पठाएको उनको दाबी छ ।
बजारको अवस्था अनुकूल नभएको र थप जोखिम हुनसक्ने महसुस भएपछि आफूले सेयर कारोबार नगर्ने मनसाय बनाएर उक्त रकम फिर्ता मागेको गोल्छाले बयानमा उल्लेख गरेका छन् ।
अरू व्यक्तिले कति सेयर खरिद गरे वा नगरेको विषयमा आफूलाई कुनै जानकारी नभएको पनि उनले बताएका छन् ।
सुलभ अग्रवालसँग सेयर कारोबार गर्ने विषयमा कुनै कम्पनीको सेयर ‘कर्नरिङ’ गर्ने वा मिलेमतोमा कारोबार गर्ने आफ्नो मनसाय नरहेको उनको जिकिर छ ।
आफूमाथि लगाइएको आरोप पुष्टि हुने कुनै आधार नरहेको दाबी गर्दै गोल्छाले अभियोगपत्रबमोजिम आफूलाई सजाय दिनुपर्ने अवस्था नरहेको बताएका छन् ।
आफ्नो कुनै सेयर जफतसमेत गर्नुपर्ने अवस्था नरहेको भन्दै उनले अदालतसमक्ष आरोपदाबीबाट सफाइ माग गरेका हुन् ।
गोल्छाले बयानका क्रममा आफूले अभियोगमा उल्लेख गरिएका कसुर नगरेको भन्दै आरोपदाबी पूर्ण रूपमा इन्कार गरेका छन् ।