धमाधम विज्ञापन सामग्री हटाउँदै काठमाडौं महानगर
काठमाडौं । सम्झौताअनुरूप समय सकिँदा पनि सम्बद्ध अधिकारी सम्पर्कमा नआएपछि काठमाडौं महानगरपालिकाले विज्ञापन सामग्री हटाउन थालेको छ । सार्वजनिक निजी साझेदारी अवधारणाअन्तर्गत त्रिलोक संरचना प्रालिले ३९ वटा बस बिसौनीमा विज्ञापन राखेकामा सम्झौता सकिएपछि २५ वटा बस बिसौनीमा सोलारसहित राखिएका विज्ञापन सामग्री हटाउन सुरु गरेको हो । महानगरले विसं २०६९ भदौ १४ मा प्रालिसँग पहिलोपटक सम्झौता गरेकामा विसं २०७१ चैत २६ मा पहिलोपटक र २०७८ साल साउन २५ मा दोस्रोपटक सम्झौता नवीकरण गरिएको महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीले जानकारी दिए । ‘सम्झौताबमोजिम नभएपछि विज्ञापन बोर्ड हटाउन तथा राख्न नदिने व्यवस्थाका लागि राजस्व विभागबाट पत्र प्राप्त भएपछि हामीले हटाउन थालेका हौं,’ उनले भने, ‘विज्ञापन हटाउने क्रमलाई निरन्तरता दिइनेछ ।’ पछिल्लो सम्झौताबमोजिम महानगरले वृद्धि गरेको विज्ञापन करको दरमा वार्षिक बुझाउनुपर्ने रकम वृद्धि भएको अनुपातमा थप गरेर विज्ञापन कर बुझाउनुपर्नेमा निर्माण पक्षले कर नबुझाएको वरिष्ठ राजस्व अधिकृत प्रदीप कोइरालाले जानकारी दिए। ‘विसं २०८२ वैशाख ११ गते वृद्धि भएको रकम बुझाउन पत्राचार गरिए पनि अहिलेसम्म बुझाएको छैन । हालसम्मको १६ लाख १३ हजार २२४ बुझाउन बाँकी रहेको छ,’ उनले भने, ‘आर्थिक वर्ष २०७८/७९ मा विज्ञापनको दर प्रतिस्क्वायर फिट ७०० र आव २०८०/८१ मा प्रतिस्क्वायर फिट एक हजार पुगेको थियो ।’ कोइरालाका अनुसार विज्ञापन कर १५ लाख ८३ हजार ९३९ र नपुग रोयल्टी २९ हजार २८५ दाखिला हुन बाँकी छ ।
सभापतिबाट राजीनामा नदिन थापालाई ललितपुरका जनप्रतिनिधिको आग्रह
काठमाडौं । ललितपुर जिल्लाबाट स्थानीय तहमा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले सभापति गगनकुमार थापालाई सभापतिबाट राजीनामा नदिन आग्रह गरेका छन् । ललितपुरमा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले बिहीबार संयुक्त प्रेस विज्ञप्ति जारी गरी वर्तमान जटिल राजनीतिक अवस्थामा थापाको नेतृत्व र अभिभावकत्व पार्टीका लागि अपरिहार्य रहेको बताएका हुन् । नेपाली कांग्रेसको गरिमामय इतिहास, वर्तमान राजनीतिक चुनौती, राष्ट्रियता र लोकतन्त्रको संरक्षणका साथै समसामयिक राजनीतिमा निर्वाह गर्नुपर्ने प्रभावकारी भूमिकाका लागि थापा योग्य व्यक्तित्व भएको विज्ञप्तिमा उल्लेख छ । जनप्रतिनिधिहरूले पछिल्लो समय चर्चामा आएको सभापतिको राजीनामाको विषयलाई पूर्णतः नकार्दै पार्टीको सुदृढीकरणका लागि नेतृत्वको निरन्तरताको खाँचो औंल्याएका छन् । ऐक्यबद्धता जनाउनेमा ललितपुर जिल्ला समन्वय समिति प्रमुख ऋषिदेव फुँयालले, ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जन, गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जन र बागमती गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनलगायत छन् ।
६ टन मकैको बीउ बाँड्दै पोखरा महानगर, किसान उत्साहित
गण्डकी । पोखरा महानगरपालिकाले महानगरभित्रका किसानलाई ६ टन बढी मकैको बीउ अनुदानमा वितरण गरेको छ । महानगरभित्र मकैखेतीप्रति किसानलाई आकर्षित गर्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा मकैको बीउ वितरण गरिएको महानगरपालिकाका कृषि विकास शाखा प्रमुख मनहर कडरियाले जानकारी दिए । उनका अनुसार किसानलाई ‘रामपुर कम्पोजिट’ जातको बीउ एक हजार १०० किलो, अरुण–२ जातको बीउ तीन हजार १०० किलो र मनकामना–३ जातको बीउ दुई हजार १० किलो वितरण गरिएको छ । प्रतिकिलो रु ११० पर्ने मकैको बीउ ५० प्रतिशत अनुदानमा वितरण गरिएको हो । अनुदानमा बीउ वितरणका लागि महानगरपालिकाले सार्वजनिक सूचना जारी गरेकामा निवेदन दिएका ५०० भन्दा बढी किसानलाई बीउ उपलब्ध गराइएको उनले जानकारी दिए । महानगर क्षेत्रमा करिब छ हजार हेक्टरमा मकैखेती हुने गरेको उनले बताए ।