काठमाडौं रेडक्रस शाखाले काठमाडौं महानगरमा प्राथमिक उपचारको तालिम सञ्चालन गर्ने
काठमाडौं । नेपाल रेडक्रस सोसाइटी काठमाडौं शाखाले काठमाडौं महानगरपालिकाको सहकार्यमा महानगरका सबै वडामा आधारभूत प्राथमिक उपचार तालिम सञ्चालन गर्ने भएको छ । काठमाडौं महानगर पालिका कार्यवाहक उपप्रमुख सुनिता डंगोलले महानगरका तर्फबाट स्वास्थ्य विभागका निर्देशक दिपक केसी र नेरेसो काठमाडौं जिल्ला शाखाका तर्फबाट सभापति श्यामकाजी डोटेलले हस्ताक्षर गरेका थिए । कार्यक्रममा महानगरका विशिष्ट कर्मचारी वर्ग र नेरेसो काठमाडौंका उपस्थिति रहेको थियो ।
अस्पतालजन्य हानिकारक फोहर व्यवस्थापन गर्न २ करोड रुपैयाँ अनुदान
काठमाडौं । काठमाडौं महानगरपालिकाले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा हानिकारक अस्पतालजन्य फोहर व्यवस्थापन प्लान्ट स्थापना गर्न २ करोड रुपैयाँ अनुदान प्रदान गर्ने भएको छ । यसका लागि कामपाले आज प्रसूति तथा स्त्रीरोग अस्पतालबीच सहकार्य सम्झौता गरेको छ । कार्यवाहक प्रमुख सुनिता डङ्गोल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँको रोहबरमा कापमा स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसी र अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीबीच अनुदान सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौता बमोजिम अस्पतालबाट उत्पादित हानिकारक फोहरसँगै महानगरपालिकाले सञ्चालन गरेका स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट उत्पादित हानिकारक फोहरको पनि यही प्लान्टबाट व्यवस्थापन हुनेछ । सम्झौताअनुसार कामपाले प्रदान गर्ने अनुदान रकम अस्पतालले उपकरण खरिद र फोहर व्यवस्थापन स्थलमा ट्रस निर्माणकार्यका लागि खर्च गर्न पाउने बताइएको छ । उक्त सम्झौता चालु आर्थिक वर्षको असार १५ गतेसम्म मान्य हुनेछ । सम्झौतापछि कार्यवाहक प्रमुख डङ्गोलले, काठमाडौंमा हानिकारक फोहर व्यवस्थापन प्लान्ट सञ्चालन गर्ने स्थान अभाव रहेको उल्लेख गर्दै उपलब्ध स्थानमा मापदण्ड बमोजिमका प्रशोधन प्लान्ट सञ्चालन गरेर समस्यामा निकास दिनुपर्ने अवस्था रहेको बताइन् । यो सम्झौताबाट अस्पताल र महानगरपालिका दुवैलाई लाभ उनको भनाइ छ ।
९ करोड २ लाखमा बन्यो फलेवास नगरपालिकाको भवन
काठमाडौं । संघीय सरकारको ५० प्रतिशत अनुदान र ५० प्रतिशत नगरपालिकाको बजेटसहित ९ करोड २ लाख रुपैयाँमा नगरपालिकाको ४२ कोठे भवन निर्माण भएको छ । नगरपालिकाका इन्जिनियर प्रवीण गौतमका अनुसार फलेवास-५ झकलकमा स्थानीयले निःशुल्क उपलब्ध गराएको ६० रोपनी आठ आना जग्गामा चारतले भवन निर्माण भएको हो । रङरोगन, झ्याल-ढोका जडान र साजसज्जाको काम सकेर विद्युत् ‘वाइरिङ’ जारी रहेको नगरप्रमुख गङ्गाधर तिवारीले जानकारी दिँदै यथाशीघ्र नयाँ भवनबाट सेवा प्रवाह गर्ने तयारी भएको बताए ।