दुध उत्पादक किसानलाई प्रतिलिटर ४ रूपैयाँ अनुदान दिएका छाैं–अध्यक्ष एकराज उप्रेती
‘मनहरी गाउँपालिका’ बागमती प्रदेश अन्तर्गतको मकवानपुर जिल्लामा पर्ने एउटा सुन्दर गाँउपालिका हो । यो गाउँपालिका कृषि उत्पादन तथा पर्यटकिय गन्तव्यको रुपमा निक्कै चर्चित छ । ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं प्राकृतिकरुपले फरक विशेषता बोक्न समेत सफल यस गाउँपालिकाको क्षेत्रफल १ सय ९९ दसमलव ५ वर्ग कि. मि. रहेको छ । वि. सं. २०६८ को जनगणना अनुसार यो पालिकामा ३८ हजार ३ सय ९९ जनसंख्या रहेको छ भने गाउँपालिकामा ९ ओटा वडाहरु रहेका छन् । यस गाउँपालिकाको सिमाना पूर्वमा हेटौंडा उपमहानगरपालिका, पश्चिममा राप्ती नगरपालिका, उत्तरमा राक्सिराङ्ग गाउँपालिका र दक्षिणमा भने पर्सा जिल्लामा पर्ने पर्सा राष्ट्रिय निकुञ्ज रहेको छ । गाउँपालिकाका ठूला योजना तथा परियोजनाहरु केके हुन्, जनप्रतिनिधि निर्वाचित हुनु अघि र निर्वाचित भैसकेपछि गाउँपालिकामा कस्ता खाले परिर्वतन आएका छन्, रोजगारी सृजना गर्नमा गाउँपालिकाले कस्तो भूमिका खेलेको छ भन्ने लगायतका विषयमा केन्द्रित हुँदा सो गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीसँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन् । तपाईं निर्वाचित हुनुभन्दा अघि र निर्वाचित भईसकेपछि गाउँपालिकामा कस्ता खाले परिर्वतन आएका छन् ? म निर्वाचित भएर आईसकेपछि गाउँपालिकामा धेरै परिर्वतन आएको छ । सडकको विकास भएको छ । गाउँपालिकाको सबै ठाउँमा यातायात बाट सजिलै पुग्न सक्ने अवस्था भएको छ । ग्राबेल पनि नभएका सडहरु धमाधम पिच हुन थालेको छ । पक्की पुलको निर्माण भएको छ । गाउँपालिका भित्रको सबै ठाउँमा बिजुली पुगेको छ । खानेपनीको राम्रो व्यवस्था भएको छ । विद्यालय भवनको निर्माण भएको छ । गुणस्तरीय शिक्षा सिकाई प्रक्रिया अगाडि बढेको छ । तपाईंको कार्यकालमा गाउँपालिकालाई कस्तो बनाउने योजना रहेको छ ? ५ वर्षको कार्यकालमा एकदमै धेरै परिर्वतन त नहुन सक्छ । तरपनि विगतको तुलनामा गाउँपालिकामा भएको परिर्वतनलाई उल्लेख्य नै मान्नुपर्छ । हामीले गाउँपालिका भित्र टोल सुधार समितिको गठन गरेका छौं । डम्पीङ साइटको व्यवस्थापन मिलाएका छौं । विद्यालय भवनको निर्माण भइरहेको छ । यति हुँदाहुँदै पनि मेरो कार्यकालमा गाउँपालिका अझ संबृध बनोस् भन्ने चाहेको छु । धेरै विकास निर्माण गर्ने, स्वास्थ्य तथा शिक्षाका क्षेत्रमा सुधार गर्ने, सबै वडामा सडक पुर्याउने लगायतका योजान मैले बनाएको छु । गाउँपालिकामा रहेका ठूला योजना तथा परियोजनाहरु के–के हुन् ? गाउँपालिका भित्र ५ ओटा पुलको निर्माण भइरहेको छ । ५३ करोड रुपैयाँ बराबरको टेन्डर प्रक्रियाबाट ठेक्का लगाएका छौं । यो ५ ओटा पुल निर्माण हुँदा गाउँपालिकाको ४ ओटा वडाका नागरिकले ठुलो लाभ प्रप्त गर्नेछन् । पुल निर्माण नहुँदा पानी परेको समयमा विद्यार्थीहरु विद्यालयमा बस्नु पर्ने अवस्था थियो । यातायात सञ्चालन हुन पनि कठिन अवस्था थियोे । नेपालको ४ सय ६० गाउँपालिका मध्ये आफ्नै स्रोतबाट ५ वटा पुल एकैपटक ठेक्का लगाउने एक मात्र गाउँपालिकाका मनहरी नै हो भनेर चिनिन्छ । खानेपानीको योजना पनि हाम्रो गाउँपालिकामा रहेको छ । पालिका भित्र ८ करोड रुपैयाँ सम्मका खानेपानी योजनाहरु चलिरहेको छ । ४ हजार घरधुरीका नागरिकले शुद्ध खानेपनी पाउने छन् । यो सेवा लिनको लागि नगरिकले सामान्य विद्युत र मिटरको पैसा तिर्नुपर्ने हुन्छ । गाउँपालिकामा धेरै सडकहरु कालोपत्रे हुन थालेका छन् । सडक विकासको सवालमा हाम्रो गाउँपालिका निकै अगाडि बढेको छ । प्राथमिक स्वास्थ्य केन्द्र सबै वडामा सञ्चालन भएको छ भने गाउँपालिकामा ५३ जना स्वास्थ्यकर्मी रहेका छन् । १५ सय बेडको अस्पातल निर्माणको लागि टेन्डर प्रक्रिया अगाडि बढिरहेको छ । अस्पताल निर्माणको लागि १५ करोड रुपैयाँ बजेट रहेको छ । विद्यायलको भवन निर्माण गर्ने काम पनि भइरहेका छ । ५४ करोड रुपैयाँ बराबरको मदन भण्डारी स्मृती खेल मैदान निर्माण गर्ने भनेर २० बिघा जमीनलाई संरक्षण गरिरहेका छौं । यसमा प्रदेश र केन्द्रको सहयोग रहेको छ । तपाईंको पालिकामा सबैभन्दा ठूलो उद्योग वा व्यापारीक कम्पनी कुन हो ? हाम्रो गाउँपालिकामा पानी र जुस उत्पादन गर्ने उद्योग रहेको छ । फलाम उद्योग रहेको छ । औद्योगिक क्षेत्र बनाउने भनेर जमीन पनि छुट्याएका छौं । कागज कारखाना विकास गर्ने हाम्रो योजना रहेको छ । सानासाना उद्योग विकास गर्नतर्फ पनि हामी लागिपरेका छौं । सबैभन्दा धेरै कर तिर्ने कम्पनी चाहिँ कुन हो नि ? सबैभन्दा बढि कर तिर्ने भनेको क्रसर उद्योगले हो । गत साल ५२ लाख रुपैयाँ बराबरको कर तिरेको थियो । यस कम्पनीले बढि कर तिरेको भएर गाउँपालिकाको तर्फबाट सम्मान पनि पाएको छ । तपाईंले आफ्नो पालिकामा ‘एक गाउँ एक उत्पादन’ लाई जोड दिनुपर्याे भने कुन उत्पादनलाई जोड दिनुहुन्छ ? ‘एक गाउँ एक उत्पादन’ लाई जोड दिनुपर्याे भने म कृषिलाई नै बढि जोड दिन्छु । गाउँपालिकाले कृषि विकासका लागि के–कसरी काम गर्दै आएको छ ? गाउँपालिका भित्र कृषि विकासको लागि धेरै काम हुँदै आएको छ । हाम्रो गाउँपालिका कृषिमै आत्मनिर्भर बन्दै गएको छ । गाउँपालिका भित्रका ९ ओटा वडालाई पकेट क्षेत्रका रुपमा छुट्याएका छौं । वडा अनुसार बाख्रा, माछा, फलफुल, तरकारी, धान लगायतका पकेट क्षेत्रको घोषणा गरेका छौं । विशेष गरेर विषादी रहित तरकारी खेतीको उत्पादन पालिका भित्र सुरु भएको छ । यसको लागि आवश्यक पर्ने पूर्वधार तयारी गर्दै आएका छौं । समय अनुसारको तरकारी तथा धानको विउ खरीद गरेर हामीले ७५ प्रतिशत अनुदानमा किसानलाई उपलब्ध गराउने काम पनि गरेका छौं । हामीले ‘मुल विउ’ भन्नाले विउ उत्पादन गर्ने र ‘उन्नत विउ’ भन्नाले चाहिँ बढि उत्पादन गर्नेको निम्ति गत साल २० टन धानको विउ किसानलाई वितरण गरेका थियौं । त्यतिखेर नेपालमा लकडाउन भएको अवस्था थियो । जसको कारणले किसानले उत्पादन गरेको तरकारी बेच्ने ठाउँ समेत थिएन । यस्ता समस्या आई परेको बेला हामीले किसानलाई पनि सहयोग गर्यौं । बाख्रा पालन कार्यक्रम पनि सञ्चालनमा रहेको छ । गाई प्रवद्र्धन कार्यक्रमको बिज्ञापन निकालेका छौं । दूधलाई डेरीमा लगेर जस्ले बिक्रि गर्छन् त्यस्ता किसानलाई प्रति लिटर २ रुपैयाँ अनुदान उपलब्ध गराउने कार्यक्रम पनि रहेको छ । प्रदेश सरकारले पनि २ रुपैयाँ दिएको छ । सहकारीमा दूध बेच्ने किसानले ४ रुपैयाँसम्म सरकारी कमिसन पाउँछन् । गाईवस्तु पाल्ने किसानलाई घाँस काट्ने मेशिन पनि बितरण गरेका छौं । गाई वस्तुलाई गरिने कृतिम गर्वाधान पालिकाले निःशुल्क रुपमै गर्दै आएको छ । गाउँपालिकामा कति नागरिकहरु कृषि पेशामा आवद्ध रहेका छन् ? हाम्रो पालिकामा करिव ९० प्रतिशत नागरिकहरु कृषि पेशामा आवद्ध रहेका छन् । राम्रो कृषि उत्पादन गर्ने कृषकलाई गाउँपालिकाले पुरस्कारको व्यावस्था मिलाएको छ कि छैन ? राम्रो कृषि उत्पादन गर्र्ने कृषकलाई सामान्य पुरस्कारको व्यवस्था मिलाएका छौं । गाउँपालिकामा धेरैजसो कृषि उत्पादन राम्रो हुने गरेको छ । कसको राम्रो भनेर छुट्याउन समस्या हुने गरेको छ । हाते ट्रयाक्टर तथा कृषि औजार हामीले ५० प्रतिशत अनुदानमा किसानलाई वितरण गरेका छौं । आफ्नो गाउँपालिका भित्रका पर्यटकिय क्षेत्रको प्रचार प्रसार कसरी गरिरहनु भएको छ ? हामीले गाउँपालिका भित्रको पर्यटन क्षेत्रको प्रचार प्रसार गरिरहेका छौं । पर्यटन क्षेत्रको लागि प्रचुर सम्भावना बोकेको हाम्रो गाउँपालिकामा सम्झन लायक धेरै कुरा छन् । पर्यटन क्षेत्रको लागि हामीले समितिको गठन गरेका छौं । पर्सा राष्ट्रिय निकुञ्ज र चितवन राष्ट्रिय निकुञ्ज हाम्रो गाउँपालिका भित्र रहेको छ । मनहरी पिस पार्कको पनि निर्माण गरेका छौं । आमा घरको निर्माण भएको छ । बुद्ध गुम्बा पर्यटक क्षेत्र भित्र पारेर ६५ फिट अग्लो बुद्ध मुर्ती निर्माण गर्ने काम गरिरहेका छौं । धार्मिक पर्यटकिय क्षेत्रलाई पनि ध्यान दिएर सार्वजानिक सम्पतिहरुलाई घेरबार गरेका छौं । पर्यटकहरुका लागि होमस्टोको पनि व्यवस्था मिलाएका छौं । हाम्रो गाउँपालिका भित्र मठ, मन्दिरहरु पनि रहेका हुनाले आन्तरीक पर्यटकहरुको पनि बाक्लो उपस्थिति हुने गरेको छ । गाउँपालिकाले युवाहरुलाई रोजगारीको सिर्जना कसरी गरिरहेको छ ? युवा रोजगारको लागि भन्दै लघुउद्यम कार्यक्रम सञ्चालन गरेका छौंं । धेरै युवाहरु कृषि पेशामा आवध रहेका छन् । कृषि गरेका युवाहरुलाई अनुदानमा प्लास्टीक टनेल वितरण गरेका छौं । युवा लक्षित गर्दै कृषि र पशुपालनका विभिन्न कार्यक्रम ल्याएका छौं । तालिम अनुसारको युवालाई उत्पादनसँग पनि जोड दिएर तरकारीहरुलाई बजारीकरण गर्ने गरी यो बर्ष ५० जना दक्ष कृषक उत्पादन गर्ने भनेका छौं । गाउँपालिकाले सहकारीलाई अनुदानमा दिने छ भने सहकारी मार्फत युवाले विउ ५ प्रतिशत व्याजदरमा ऋण प्रप्त गर्नसक्ने छन् । प्रदेश सरकारको तर्फबाट साना किसान विकास बैंक मार्फत ३ प्रतिशत व्याजदरमा गाउँकै कृषि सहकारी मार्फत १० लाख रुपैयाँसम्म ऋण पनि पाउँछन् । कृषि विकास बैंक मार्फत् २० लाख रुपैयाँ सम्म उद्योग गर्नको लागि युवाले ऋण लिन सक्छन् । गाउँपालिकामा गरिएका विकास निर्माणका कामहरु कत्तिको प्रभावकारी भएका छन् ? म जनप्रतिनिधिको रुपमा गाउँपालिकामा आईसकेपछि गरेका विकास निमार्णको कामहरु सबै नै प्रभावकारी छन् । जनताको जीवनमा ठुलो परिर्वतन हुने काम भई रहेको छ । विकास राम्रो भएकाले जनताहरु मसँग खुसी नै छन् जस्तो लाग्छ । स्थानीय तह र प्रदेश सरकारबीचको समन्वय कसरी गरिरहनु भएको छ ? स्थानीय सरकार र प्रदेश सरकारबीच हाम्रो समन्वय भएको छ । हाम्रो गाउँपालिका प्रदेश सरकारको नजिकै रहेको छ । प्रदेशबाट गाउँपालिकामा योजनाहरु पनि आउने गरेको छ । प्रदेश सरकारसँग समन्वय गरेर नै विकास निर्माणको कामहरु पनि गरिरहेका छौं । गाउँपालिकाले सोचे अनुसारको नै बजेट तथा योजनाहरु आइरहेको छ । स्थानीय तहमा काम गर्दा मुख्य समस्याहरु के–के आई पर्छन् नि ? स्थानीय तहमा काम गर्दा सबै भन्दा बढि कानुनी समस्या छ । साना साना कानुनी अड्चनले विकास निर्माणमा समस्या आउने गर्छ । माननीय भन्नाले विधान, कानुन बनाउने हो । कानुनले कहाँ–कहाँ समस्या प¥यो भनेर माननीयहरुले हामीलाई कहिल्यै पनि सोधेनन् । विकास गर्ने मात्र भनेको छ तर विकास गर्नको लागि कानुनी अवरोध कहाँ छ भन्ने कुराको पहिचान नै भएको छैन । यस्ता कुरालाई चाँडै समाधान गर्नुपर्छ जस्तो मलाई लाग्छ । केन्द्र सरकारबाट कत्तिको सहयोग मिलेको छ नि ? केन्द्र सरकारले हामीलाई सहयोग मिलेको छ । मूल बजेटनै केन्द्र सरकारले बाट आउने गरेको छ । हामीलाई विभिन्न क्षेत्रको विकास गर्नको लागि भनेर केन्द्र सरकारले ३० करोड रुपैयाँको वार्षिक बजेट पठाउने गरेको छ । गाउँपालिका भित्रको स्थानीय स्रोत ३० करोड रुपैयाँ बराबरको हुने गरेका छ ।
गाउँपालिकालाई जिल्लाकै सबैभन्दा विकसित बनाएका छौं – अध्यक्ष सुनुवार
‘गोकुलगंगा गाउँपालिका’ प्रदेश नं. ३ अन्तर्गत रामेछाप जिल्लाको उत्तर पूर्वी पहाडी भेगमा अवस्थित प्राकृतिक रुपमा सुन्दर एवं हराभरायूक्त गाउँपालिका हो । यो गाउँपालिका कृषि उत्पादन तथा पर्यटकिय गन्तव्यको रुपमा चर्चित त छ नै साथै ऐतिहासिक, धार्मिक एवं सांस्कृतिक रुपले पनि फरक विशेषता बोक्न सफल मानिन्छ । गाउँपालिकाको कार्यालय सदरमुकाम मन्थलीबाट लगभग ४० कि. मि. को दूरीमा पर्ने वडा नं. ३ रस्नालुमा रहेको छ । यो गाउँपालिकाको अधिकाम्स भाग पहाडी भूभागले ढाकेको छ भने यहाँ मिश्रित जातजातिको बसोबास रहेको पाइन्छ । पर्यटकीय क्षेत्रका रुपमा तांबे डाँडा र पाँचपोखरीलाई लिन सकिने यो गाउँपालिका जडिबुटी तथा जलबिधुतको प्रचुर सम्भावना बोकेको क्षेत्र पनि हो । २५ हजार जनसंख्या रहेको यस गाउँपालिकामा ६ ओटा वडा छन् । गाउँपालिकाका ठुला योजना तथा परियोजनाहरु के कस्ता छन्, जनप्रतिनिधि निर्वाचित हुनु अघि र निर्वाचित भैसकेपछि गाउँपालिकामा कस्ता खाले परिर्वतन आएका छन्, रोजगारी सृजना गर्नमा गाउँपालिकाले कस्तो भूमिका खेलेको छ भन्नेलगायतका विषयमा केन्द्रीत हुँदै सो गाउँपालिकाका अध्यक्ष खड्ग बहादुर सुनुवारसँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन् । प्रस्तुुत छ उक्त कुराकानीको अंश । गाउँपालिकामा कोरोनाले पुर्याएको असर वारे छोटकरीमा बताइदिनुस् न अन्यत्र झैं कोरोनाले हाम्रो गाउँपालिकामा पनि असर पुर्याएको थियो । सो वेला हामीले ३० बेडको क्वारेन्टिन र ५ बेडको आइसोलेसन कक्ष पनि बनाएका थियौं । मुलुक बाहिर बाट आएका नागरिकलाई हामीले १४ दिनसम्म क्वारेन्टिनमा राखेका थियौं । क्वारेन्टिनमा बसेका नागरिकलाई पीसीआर चेक गरेर घर पठाएका थियौं । कोरोनाले यहाँको शिक्षा क्षेत्र साथै विकास निर्माणका काममा पनि ठूलो असर पुर्यायो । लामो समयसम्म सबै विद्यालयहरु बन्द गरिएका थिए । तर आजको दिनमा भने कोरोनाको प्रभाव खासै रहेको छैन । नागरिकहरु पनि सामान्य रुपमा जीवनयापन गरिरहेका छन् । गाउँपालिकामा रहेका ठुला योजना तथा परियोजनाहरु के–के होलान् नि ? हाम्रो गाउँपालिकामा ठुला योजनाहरु खासै धेरै छैन । साना साना योजनाको काम हामी गर्छौं । पुर्वाधारको विकास गर्छौं । कृषि विकासको काम गर्छौं । पर्यटन विकासको काम गर्छौं । टेन्डर प्रकियाबाट हामीले सडकको निर्माण गर्ने काम गरेका छौं । १ करोड रुपैयाँ बराबरको विकास निर्माणको काम उपभोक्ता समितिद्वारा गर्छौं । ४ सय कि. मि. बराबरको सडक निर्माण गरिसकेका छौं । गाउँपालिकाबाट हामीले वार्षिक ८ करोड रुपैयाँ बराबरको बजेट सडक विकासको लागि छुट्याएका छौं । ‘एक घर एक धारा’ अभियान पनि चलाएका छौं । यो आर्थिक वर्षभित्र १७ सय ५० धाराको निर्माण हुँदैछ । करिब २ करोड रुपैयाँको बजेटमा गाउँपालिकाको भवन निर्माण भएको छ । वडा कार्यालय भवन कतै निर्माण हुने क्रममा छ भने कतै निर्माण भइसकेको छ । गाउँपालिकाले कृषि विकासका लागि के–कसरी काम गर्दै आएको छ ? हाम्रो गाउँपालिका कृषिमय बनिसकेको छ । हामी निर्वाचित भएर आइसकेपछि गाउँपालिकामा १८ कृषि पकेट क्षेत्र छुट्याएका छौं । सबै पकेट क्षेत्रका कृषकले तरकारी खेती गरिरहेका छन् । पकेट क्षेत्रमा फरकफरक तरकारी उत्पादन हुने गरेको छ । कृषिमा हामीले अनुदानको पनि व्यवस्था मिलाएका छौं । बाख्रा पालन, भैँसी पालन, किबि तथा तरकारी खेती, चौरीका बाछा खरिदलगायत गर्नका लागि गाउँपालिकाले अनुदानको व्यावस्था मिलाएको छ । कृषि विकासको लागि हामीले ७ करोड रुपैयाँ बजेट छुट्याएका छौं । विकास निर्माणको कामहरु गाउँपालिकामा कत्तिको प्रभावकारी भएका छन् ? प्रभावकारी नै छन् भन्नुपर्छ । रामेछाप जिल्लाको सबैभन्दा विकासमा अगाडि बढेको गाउँपालिका नै हाम्रो गाउँपालिका हो । यही कुराले नै पुष्टि गर्छ कि अहिले सम्म गरिएका विकास निर्माणका कामहरु कत्तिको प्रभावी छन् भनेर । तपाईं निर्वाचित हुनुभन्दा अघि र निर्वाचित भईसकेपछि गाउँपालिकामा कस्ता खाले परिवर्तन आएका छन् ? म निर्वाचित भएर आईसकेपछि गाउँपालिकामा आमुल परिर्वतन भएको छ । म निर्वाचित भएर आइसकेपछि यहाँको स्वास्थ्य, शिक्षा, खानेपानी, सडक लगायतका क्षेत्रमा निक्कै सुधार आएको छ । हामीले १५ बेडको अस्पतालको उद्घाटन गरेका छौं । गाउँपालिकाको भवन निर्माण भएको छ । ४ सय कि.मि सडको निर्माण भएको छ । खानेपानीको पनि राम्रो व्यवस्था भएको छ । मठ, मन्दिर, गुम्बाको निर्माण गरेका छौं । विद्यालय भवनको निर्माण भएका छन् । गुणस्तरीय शिक्षाको प्रकिया अगाडि बढाइरहेका छौं । गाउँपालिकाले युवाहरुलाई रोजगारीको सिर्जना कसरी गरिरहेको छ ? हाम्रो गाउँपालिकाका धेरै युवाहरु कृषि पेशामा आवद्ध छन् । हामीले केही युवाहरुलाई सडक लगायतका विकास निर्माणको काममा रोजगारी दिएका छौं । ठाउँ तथा अवस्था हेरी बाख्रा पालन अथवा खेती गर्न हौसला प्रदान गरेका छौं । तपार्इंको पालिकामा सवैभन्दा ठुलो उद्योग वा व्यापारीक कम्पनी कुन हो ? ठुलो उद्योग त हाम्रो पलिकामा छैनन् भन्दा पनि हुन्छ । कृषि सम्वन्धी उद्योगहरु चाहिँ यहाँ धेरै छन् । ८ सय भन्दा बढि कृषि उद्योगहरु हाम्रो गाउँपालिकामा दर्ता भएका छन् । ५ हजार रोपनि क्षेत्रफलमा आलुको खेती हुन गइरहेको छ । गाँउपालिकामा कस्तो किसिमको योजनालाई प्राथमिकता दिएर काम गरिरहनु भएको छ ? हामीले ५ वर्षको योजना बनाएका थियौं । हाम्रो गाउँपालिकाले विशेष गरेर स्वास्थ्य, शिक्षा, कृषि अनि पर्यटनलाई बढी प्रथमिकतामा राखेको छ । स्थानीय तह र प्रदेश सरकारबीचको समन्वय कसरी गरिरहनु भएको छ ? स्थानीय तह र प्रदेश सरकारबीच समन्वय राम्रै छ । तर, अहिलेको संघीय संरचना, एकल, साझा अधिकारको स्पष्ट रुपमा प्रयोग चाहिँ भएको छैन । विकास बजेट भन्दै प्रदेश सरकारबाट २५ करोड रुपैयाँ आउने गरेको छ भने बाँकि सामाजिक सुरक्षा भत्ता, शिक्षक, कर्मचारी लगायतको तलब जोडेर जम्मा ६० करोड रुपैयाँको बजेट छ । स्थानीय तहमा काम गर्दा मुख्य समस्याहरु के–के आई पर्छन् नि ? बेलाबेलामा समस्या हरु देखा त परिनै हाल्छन् । यो वर्ष कोभिडको समस्या भयो । त्यो भन्दा पहिला कर्मचारीको अभाव थियो । जनतालाई सेवा दिने कार्यालय भवन थिएन । वर्खा याममा बाढि पहिरोको समस्याले विकास निर्माणको काममा पनि असर गरिरहेको हुन्छ । तरपनि यी सबै समस्याको समधान स्थानीय तहले गरेर अघि बढिरहेकै छ । केन्द्र सरकारबाट कत्तिको सहयोग मिलेको छ ? केन्द्र सरकारले हामीलाई ठुला आयोजनामा खासै सहयोग पुर्याएको छैन । १८ सय मेगावाट विद्युत उत्पादन हुने क्षेत्र रहेको छ । फलाम खानी छ । फलाम खानीले नेपालाई २० वर्षसम्म स्टीलको माग पुर्याउन सक्छ । १० लाख मेट्रिक टनभन्दा बढी फलाम खानी छ । यस क्षेत्रमा प्रदेश सरकारको ध्यान गयो भने मात्र विकास हुने हो । स्थानीय सरकारले त सानासाना काम मात्र गर्ने हो । तपाईंले आफ्नो पालिकामा ‘एक गाउँ एक उत्पादन’ लाई जोड दिनुपर्याे भने कुन उत्पादनलाई जोड दिनुहुन्छ ? ‘एक गाउँ एक उत्पादन’ लाई जोड दिनुपर्याे भने म कृषि र पशुपालनलाई नै जोड दिन्छु । आफ्नो गाउँपालिका भित्रका पर्यटकिय क्षेत्रको प्रचारप्रसार कसरी गरिरहनु भएको छ ? पर्यटन क्षेत्रको विकासका खातिर हामीले प्रचारप्रचार गरिरहेका छौं । पाँचपोखरी सम्म जानको लागि हामीले सडकको निर्माण गरेका छौं । तांबे डाँडामा मन्दिरको निर्माण गर्ने र डीपीआर गर्ने काम भइरहेको छ । पर्यटकको लागि गाउँपालिकामा होमस्टे तथा होटल सञ्चालन भएका छन् । आरसीसी भवन भएका होटललाई सञ्चालन गर्नेलाई पनि अनुदानको व्यावस्था मिलाएका छौं । गाउँपालिकामा सञ्चालन हुने साना उद्योगलाई प्रोत्साहन गर्ने काम पनि गरिरहेका छौं । गाउँपालिकामा हजारौंको संख्यामा पर्यटकहरु आउने गरेका छन् । स्वच्छ हावापानी भएकाले पनि हाम्रो गाउँपालिका धेरै पर्यटकहरुको मन लोभ्याउन सफल छ । तपाईंले गरेको कार्य प्रति तपाईं कत्तिको सन्तुष्ट हुनुहुन्छ नि ? म त एकदम सन्तुष्ट छु । सायद यहाँका नागरिकहरु सन्तुष्ट भएकाले मलाई पनि सन्तुष्टि मिलेको हुनसक्छ । समग्र हिसाबले हेर्ने हो भनेपनि हामीले राम्रो काम नै गरेका छौं जस्तो लाग्छ । तपाईंको कार्यकालमा गाउँपालिकालाई कस्तो बनाउने योजना रहेको छ ? मेरो कार्यकालमा यो गाउँपालिका कृषिमय बन्छ । स्वास्थ्य अनि शिक्षा क्षेत्रलाई राम्रो बनाउने हो । कृषिलाई आधुनिकारण गर्ने योजना पनि मैले बनाएको छु । यसका साथै पूर्वाधार विकासमा पनि हामीले जोड दिएका छौं ।
चौंरीदेउराली गाउँपालिका जसको अधिकांश बजेट कृषि र स्वास्थ्यमा
काभ्रेपलाञ्चोक जिल्लामा पर्ने चौंरीदेउराली गाउँपालिका नेपालको संघीय संरचनाअनुरुप वि.सं. २०७३ सालमा स्थापना भएको एउटा रमणीय स्थानीय तह हो । कृषि उत्पादन तथा पर्यटकिय गन्तव्यको रुपमा चर्चित यो गाउँपालिका ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवंं प्राकृतिकरुपले पनि फरक विशेषता बोक्न सफल छ । ९९ दसमलव ५४ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको यो गाउँपालिकाको पूर्वमा रामेछापको सुनपाति र दोरम्बा गाउँपालिका, पश्चिममा काभ्रेको भुम्लु गाउँपालिका, उत्तरमा लिसंखुपाखर गाउँपालिका र दक्षिणमा भने सुनकोशी पारीको तेमाल गाउँपालिका रहेको छ । वि.सं. २०६८ को जनगणना अनुसार यस पालिकामा ४ हजार ६ सय ६४ घरपरिवारको वसोवास रहेको छ भने यहाँको जनसंख्या चाहिँ २० हजार ८ सय २९ रहेको छ । चारओटा मुख्य देउराली रहेको यस पालिकाका सबै गाउँवस्तीहरुलाई चौंरी थुमका आधारमा पुकारिँदै आएको ऐतिहासिक तथ्य पाइन्छ । यस पालिकाको नामकरण पनि त्यही चौंरी र देउराली शब्दलाई जोडेर गरिएको छ । विश्वभर माहामारीको रुपमा फैलिएको कोरोना भइरसले यो गाउँपालिकामा पनि सामान्य असर पुर्यायो । यहाँका केहि नागरिकलाई पनि कोरोनाको संक्रमण भएको थियो । महामारीको समयमा गाउँपालिकाले ३० बेडको क्वारेन्टिन बनाएको थियो भने नजिकैको धुलिखेल अस्पतालमा आइसोलेसन कक्षको व्यावस्था मिलाएको थियो । कोरोनाले यहाँको शिक्षा क्षेत्र साथै विकास निर्माणका काममा भन नराम्रै असर पुर्यायो । सारा नेपाल लकडाउन भएको समयमा गाउँपालिका भित्रका सबै विद्यालय बन्द गर्नुपरेको थियो । हाल भने गाउँपालिकामा कोरोनाको प्रभाव घट्दै गएको छ र यहाँको जनजीवन पनि सामान्य बन्दै गएको छ । स्वास्थ्यको पहुँच सबै नगरिकसम्म पुगोस् भन्ने हेतुले गाउँपालिकाले प्रदेश सरकारको सहयोगमा ६ करोड रुपैयाँ बराबरको अस्पतालको निर्माण गरेको छ । गाउँपालिकाले आफ्नो क्षेत्रमा ‘एक घर एक धारा’ को अभियानै चलाएको छ । चौंरी खेलाको पानी लिफ्टीङ गरेर खानेपानीको व्यावस्था मिलाएको गाउँपालिकाले सडक निर्माणको कामलाई पनि तिव्रता दिएको छ । विकास निर्माणको सम्भावना धेरै रहेको यस गाउँपालिकाका सबै वडामा सडक तथा विद्युत पुगिसकेको छ । व्यापक मात्रामा पर्यटकिय क्षेत्रहरु रहेको यस गाउँपालिकामा युवा रोजगारको लागि भनेर प्रधानमन्त्री स्वरोजगार कार्यक्रम सञ्चालन गरिएको छ । उद्यम विकासको लागि कोटाको दर्ता भइरहेको छ भने युवालाई करारमा भर्ना पनि गरिँदै आएको छ । कोरोनाकाल पछि गाउँपालिकाले कृषि र स्वास्थ्यमा धेरै बजेट छुट्याएको छ । धान, गहुँ तथा मकै राम्रैसँग उत्पादन गरिरहेको यस पालिकाका कतिपय युवाहरु भने तरकारी खेती, माछापालन, बाख्रापालन, मौरीपालन लगायतका पेशा अँगालिरहेका छन् । यसका साथै गाउँपालिकाले फलफुलका विउ उत्पादन र पशुपालनमा पनि जोड दिँदै आएको छ । गाउँपालिकाले कृषकलाई तरकारीको विउमा ५० प्रतिशत अनुदान दिदै आएको छ । यहाँ खासै ठुला उद्योगहरु भने रहेका छैनन् । यस गाउँपालिकामा निर्माण भई सकेको अस्पताल, सडक तथा खेल मैदानमा प्रदेशले भुमिका खेलेको भएपनि अन्य क्षेत्रमा भने प्रदेश सरकारको खासै प्रभावकारी भुमिका देखिएको छैन । गाउँपालिकाले विकास निर्माणको काम गर्दा सामान्य समस्या आई पर्ने गर्दछन् । सरकारी जमीनको अभाव र निजी जमिनको क्षेत्र बढि भएकाले सडको निर्माण गर्नु पर्दा समस्याहरु देखा पर्ने गरेको छ । यस गाउँपालिकालाई केन्द्र सरकारले भने राम्रै सहयोग पुर्याएको पाइन्छ । विकास निर्माणको काममा यो वर्ष २३ करोड ६४ लाख रुपैयाँ बजेट गाउँपालिकामा पठाएको छ । जनप्रतिनिधीहरु तर्फ कुरा गर्नु पर्दा यस गाउँपालिकाका अध्यक्ष दिननाथ गौतम हुनुहुन्छ भने उपाध्यक्ष चाहिँ तारा कुमारी चौलागाईं हुनुहुन्छ ।