सार्वजनिक र सरकारी जग्गा खाली गर्न टोखा नगरपालिकाको निर्देशन

काठमाडौं । टोखा नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा खाली गराउन नगरवासीलाई निर्देशन गरेको छ । टोखाको नगर कार्यपालिकाको बैठकले टोखा नगरपालिकाभित्रका सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गरी बनाइएका संरचना खाली गर्न लगाउने निर्णय गरेको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शङ्करराज पाठकका अनुसार बैठकले आफ्नो वडाभित्रका सार्वजनिक तथा सरकारी जग्गा खाल गराउने निर्णय गरेकाले सबै वडाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गरी संरचना निर्माण गरिएका स्थानमा ३५ दिने सार्वजनिक सूचना प्रकाशन गर्न नगरपालिकाले निर्देशन दिएको छ । काठमाडौंको उत्तरी क्षेत्रमा रहेको टोखामा ११ वडा छन् । यसअघि काठमाडौं महानगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गामा बनाएको संरचना भत्काउन थालेपछि टोखाले पनि सूचना जारी गरेको हो ।

७ क्यासिनोलाई महानगरको पत्र : ७ दिनभित्र कर नतिरे कारवाही गर्छौं

काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंमा सञ्चालीत ७ वटा क्यासिनोलाई ७ दिन भित्र कर तिर्न पत्र पठाएको छ । महानगरले आइतबार पत्र पठाउँदै ७ वटा क्यासिनोलाई ७ दिन भित्र मनोरञ्जन कर तिर्न ताकेता गरेको हो । महानगरले म्यारियट होटलमा रहेको डेल्टीन क्यासिनो, अन्नपुर्ण होटलमा रहेको क्यासिनो प्यालेस, र्याडिसन होटलमा रहेको क्यासिनो र्याट, हायात होटलमा रहेको प्राइड इन्टरटेनमेन्ट एण्ड रिक्रिएसन, होटल सोल्टीमा रहेको माजोङ्ग इन्टरटेनमेन्ट, होटल एलफ्टमा रहेको बाल्को क्यासिनो र मल्ल होटलमा रहेको बेली क्यासिनोलाई कर तिर्न पत्राचार गरेको हो । महानगरले ७ दिनभित्र कर नबुझाए महानगरपालिकाको राजस्व ऐन २०७५ बमोजिम कारबाही गरी सरकारी बाँकी सरह कर असुलउपर गर्ने जनाएको छ ।

गाईघाटमा अतिक्रमण गरेर बनाइएका संरचना हटाउन सुरु

उदयपुर । त्रियुगा नगरपालिकास्थित वडा नम्बर ११ र १२ को गाईघाट बजार क्षेत्रका सार्वजनिक जग्गा अतिक्रमण गरेर निर्माण गरिएका घर, टहरा तथा संरचना हटाउने कार्य सुरु गरिएको छ । राजधानी काठमाडौं महानगरपालिकासहित देशका विभिन्न नगरपालिकामा सार्वजानिक जग्गा अतिक्रमण गरेर निर्माण गरिएका संरचना हटाउने कार्य सुरु भइरहँदा गाईघाट बजारमा पनि नक्सा पास विपरित सार्वजनिक जग्गा अतिक्रमण गरेर निर्माण गरिएका घर, टहरा तथा संरचना हटाउने कार्य सुरु गरिएको नगर प्रमुख वसन्तकुमार बस्नेतले बताए । उनका अनुसार सडक अतिक्रमण गरेर निर्माण गरिएका संरचनालाई नगरपालिकाका इञ्जिनीयरको प्रत्यक्ष उपस्थिति र नक्सा जाँच गरी हटाउने कार्य सुरु भएको हो । गाईघाटस्थित त्रियुगा बसपार्क क्षेत्रबाट गाईघाट डिएमगेट हुँदै त्रियुगा नमूना माविको पछाडिको सडकखण्डदेखि लोकतान्त्रिक चोकसम्मको सडक क्षेत्र र गाइघाट सेतो पुल हुँदै मदन भण्डारी मार्गअन्तर्गत पु्रानो गाईघाटस्थित पिजी चोक तथा बरुवा बसपार्क क्षेत्रसम्मको झण्डै चारकिलो मिटर चौडाइ र पाँच किलामिटर लम्बाइका बजार क्षेत्रका अवैध घर टहरा संरचना हटाउन दुई हप्ता अगाडि नै सूचना जारी गरिएको उपप्रमुख महेश्वरी राईले बताए । सूचना जारी गरेर दिइएको समयावधि समाप्त भइसकेका कारण संरचना हटाउन सुरु गरिएको नगरपालिकाले जनाएको छ । लामो समयदेखि गाईघाट बजारको ट्राफिक चोकदेखि पुरानो गाईघाटका पिजी चोकसम्मको दाँयाबाँया सडकखण्ड अतिक्रमण गरेर बसेका तरकारी व्यापारी तथा फलफूल व्यापारीलाई हटाउने कार्य सम्पन्न भएको बताइएको छ । रासस